१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रोल्पामा तरुण दलका नगर प्रमुखको गोली हानी हत्या

एक पक्राउ, केही फरार
काशीराम डाँगी

रोल्पा — गोली प्रहार गरी रोल्पा नगरका तरुण दलका अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो ।

रोल्पामा तरुण दलका नगर प्रमुखको गोली हानी हत्या

गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए । सुलीचौरस्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको तथा भर्खरै संचालनमा ल्याइएको एक स्थानीय रेष्टुरेन्ट भित्रै उनी माथि गोली प्रहार भएको हो । स्थानीयका अनुसार घटना दिउँसो ४ बजे तिरको हो ।


घटनापछि हतियारसहित रोल्पा नगरपालिका–१० का देवबहादुर घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ । चिया पिउँदै कुराकानी गर्न भनी बोलाइएपछि मृतक रोहित त्यहाँ पुगेका थिए ।


रोल्पा नगरका सदस्य तथा नेविसंघका नेता शेरबहादुर थापाले आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गर्दा समेत राज्यले सुइँको नपाउनु दु:खद भएको प्रतिक्रिया दिएका छन् ।


स्थानीय प्रत्यक्षदर्शीका अनुसार एउटै टेबुलमै बसेका बेला विवाद उत्पन्न हुँदा मृतक रोहितका साथी देवबहादुरले तीन गोली चलाएका थिए । एउटा गोली रोहितको मुटुमै लागेको थियो । ‘गोली लागेर रोहितको घटनास्थलमै मृत्यु भएको हो,’ प्रत्यक्षदर्शीले भने ।


घटनापछि मृतक रोहितको शव सुलिचौरमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो । स्वास्थ्य केन्द्र प्रमुख डा. प्रकृति भट्टराईले अत्यधिक रक्तश्राव र मुटुमै गोली लागेकाले उनको मृत्यु भएको बताइन् । उक्त केन्द्रमै मृतकको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।


घटनामा कुन र कस्तो प्रकारको हतियार प्रयोग भएको थियो भन्नेबारे प्रहरीले जानकारी दिएको छैन । घटनापछि सुलीचौर बजारमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । राप्रपाका जिल्ला अध्यक्ष समेत स्थानीय अमरबहादुर थापाले दिउँसै प्रहरी चौकी नजिकै गोली चलाइएको घटना दु:खद भएको प्रतिक्रिया दिए । उक्त घटनापछि सुलीचौर त्रसित रहेको घटनास्थलमा रहेका सुनील स्मृति गाउँपालिका–४ का वडा अध्यक्ष गञ्जबहादुर महरा क्षत्रीले बताए ।


प्रकाशित : भाद्र २४, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?