कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्थिक संकटमा त्रिवि शिक्षाशास्त्र विभाग

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभाग आर्थिक संकटबाट गुज्रिरहेको कर्मचारीले बताएका छन् । विद्यार्थी संख्या आधाभन्दा बढी घटदै जानु र आंशिक शिक्षक तथा कर्मचारी थपिएपछि विभाग आर्थिक संकटमा परेको हो ।

आर्थिक संकटमा त्रिवि शिक्षाशास्त्र विभाग

‘विद्यार्थी संख्या दोब्बरले घटेको छ,’ उपप्रशासक राजबहादुर राईले विभागको ६२औं वार्षिकोत्सवमा आइतबार भने, ‘आन्तरिक स्रोतबाट बेहोर्ने गरी नियुक्त आंशिक शिक्षक र कर्मचारीको तलबका निम्ति वार्षिक १ करोड ३९ लाख रुपैयाँ अतिरिक्त भार बढेको छ ।’


त्रिविको तथ्यांकअनुसार सबभन्दा धेरै विद्यार्थी शिक्षाशास्त्रमा पढछन् । कीर्तिपुरस्थित शिक्षाशास्त्र केन्द्रीय विभागमा केही वर्षअघिसम्म आठ सयभन्दा बढी विद्यार्थी पढ्थे । अहिले त्यो संख्या चार सयभन्दा मुनि झरेको छ । त्यसैले विभागको आम्दानी घटेको हो । ‘हामीले विद्यार्थी भर्नाबापत विभिन्न निकायमा रकम बुझाउनुपर्छ,’ त्रिविकी शिक्षाध्यक्ष प्रा. सुधा त्रिपाठीतर्फ लक्षित गर्दै उपप्रशासक राईले भने, ‘त्यसैले त्रिवि पदाधिकारीले बजेट बढाउन जरुरी छ । नत्र यो आन्तरिक भार बढदै जानेछ ।’


शिक्षाध्यक्ष त्रिपाठीले भने बजेटको पाटो आफ्नो विभागमा नपरेको भन्दै त्रिवि कार्यकारी परिषद्मा विषय उठान गर्ने बताइन् । कलेज अफ एजुकेसन २०१३ भदौ २४ गते स्थापित भएको हो । विद्यालय शिक्षक, प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले उक्त शिक्षालय खुलेको थियो । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि उक्त शिक्षालयलाई शिक्षाशास्त्र संकायमा परिणत गरिएको हो ।


त्यही संस्थालाई लिएर पहिलो पटक ६२औं वार्षिकोत्सव मनाइएको विभागकी उपप्रशासक डा. रेणु थापाले बताइन् । त्यस अवसरमा अवकाशप्राप्त प्राध्यापकहरू र कर्मचारीलाई सम्मान गरिएको थियो । त्यसैगरी वार्षिकोत्सवका अवसरमा आयोजित कविता गोष्ठीमा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।


प्रकाशित : भाद्र २४, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?