आर्थिक संकटमा त्रिवि शिक्षाशास्त्र विभाग

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभाग आर्थिक संकटबाट गुज्रिरहेको कर्मचारीले बताएका छन् । विद्यार्थी संख्या आधाभन्दा बढी घटदै जानु र आंशिक शिक्षक तथा कर्मचारी थपिएपछि विभाग आर्थिक संकटमा परेको हो ।

‘विद्यार्थी संख्या दोब्बरले घटेको छ,’ उपप्रशासक राजबहादुर राईले विभागको ६२औं वार्षिकोत्सवमा आइतबार भने, ‘आन्तरिक स्रोतबाट बेहोर्ने गरी नियुक्त आंशिक शिक्षक र कर्मचारीको तलबका निम्ति वार्षिक १ करोड ३९ लाख रुपैयाँ अतिरिक्त भार बढेको छ ।’

Yamaha

त्रिविको तथ्यांकअनुसार सबभन्दा धेरै विद्यार्थी शिक्षाशास्त्रमा पढछन् । कीर्तिपुरस्थित शिक्षाशास्त्र केन्द्रीय विभागमा केही वर्षअघिसम्म आठ सयभन्दा बढी विद्यार्थी पढ्थे । अहिले त्यो संख्या चार सयभन्दा मुनि झरेको छ । त्यसैले विभागको आम्दानी घटेको हो । ‘हामीले विद्यार्थी भर्नाबापत विभिन्न निकायमा रकम बुझाउनुपर्छ,’ त्रिविकी शिक्षाध्यक्ष प्रा. सुधा त्रिपाठीतर्फ लक्षित गर्दै उपप्रशासक राईले भने, ‘त्यसैले त्रिवि पदाधिकारीले बजेट बढाउन जरुरी छ । नत्र यो आन्तरिक भार बढदै जानेछ ।’

शिक्षाध्यक्ष त्रिपाठीले भने बजेटको पाटो आफ्नो विभागमा नपरेको भन्दै त्रिवि कार्यकारी परिषद्मा विषय उठान गर्ने बताइन् । कलेज अफ एजुकेसन २०१३ भदौ २४ गते स्थापित भएको हो । विद्यालय शिक्षक, प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले उक्त शिक्षालय खुलेको थियो । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि उक्त शिक्षालयलाई शिक्षाशास्त्र संकायमा परिणत गरिएको हो ।

त्यही संस्थालाई लिएर पहिलो पटक ६२औं वार्षिकोत्सव मनाइएको विभागकी उपप्रशासक डा. रेणु थापाले बताइन् । त्यस अवसरमा अवकाशप्राप्त प्राध्यापकहरू र कर्मचारीलाई सम्मान गरिएको थियो । त्यसैगरी वार्षिकोत्सवका अवसरमा आयोजित कविता गोष्ठीमा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : भाद्र २४, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्

ह्रस्व–दीर्घ सिकौं बरिलै...

गणेश राई

काठमाडौँ — नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपालका १ सय २५ जातजातिको सम्पर्क भाषा र सरकारी कामकाजको भाषा पनि यही हो । यो देवनागरी लिपिमा लेखिन्छ । व्याकरणअनुसार नेपालीमा ह्रस्व र दीर्घ लेख्ने नियम छन् ।

यो नियम घोक्दा विद्यार्थीलाई दिक्द लाग्छ । तर, त्यही नियमलाई गीतमार्फत प्रस्तुत गर्दा सबैले रूचाउँछन् भन्ने हालैमात्र बजारमा सार्वजनिक एउटा तीज गीतले प्रमाणित गरेको छ । युटयुबमा सजिलै हेर्न सकिने यो गीतको सुरुमै एक छात्रा सुरिलो आवाजमा उद्घोषण गर्दै भन्छिन्– आदरणीय गुरुवर्ग तथा साथीहरू !

शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) स्कुलको साहित्यिक क्लबद्वारा आयोजित तीज गीत तथा नृत्यको कार्यक्रमको क्रममा अब हाम्रो प्रस्तुतिको पालो रहेको छ । हामी हाम्रै समादरणीय गुरु विमल घिमिरेज्यूद्वारा ह्रस्व–दीर्घका नियम पढाउँदा सिकाउनुभएको गीतलाई नै यहाँ पस्किन गइरहेका छौं । स्विकार्नुहोस्–

त्यत्ति भन्न भ्याउँदै तीजको बरिलै भाकाको बाजा बज्न थाल्छ । नृत्यका निम्ति स्टेजमा छात्राहरू विद्यालय पोसाकमै प्रस्तुत हुन्छन् । दर्शकदीर्घामा एकातर्फ कलेजी रातो रंगको युनिफर्ममा म्यामहरू लस्करै बस्नुभएको छ । अर्कोतर्फ सर्ट, पाइन्ट, टाईमा सजिएका गुरुहरू र उतातर्फ विद्यार्थी साथीहरू सबैको थपडी बज्न थाल्छ । मादल र हार्मोनियम तालमा तीजको भाका गाउँन थाल्छन् । झयाप्पझयाप्प थपडी बज्छ!

साधारण नियम यो सुरुको र बीचको
ह्रस्व हुन्छ अन्तिमको दीर्घ बरिलै
हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद
पुलिङ्गी नाम आए, ह्रस्व घुमाऊ हात
अन्त्यमा ‘इक’ आए सबै ह्रस्व देखिदेऊ
‘निर्भीक’, ‘प्रतीक’ अलग्गै हुन् यिनलाई छाडिदेऊ
ति, धि, नि, पि, वि, ष्टि आएमा अन्त्यमा
ह्रस्व बनाऊ यस्ता शब्द तत्सम् भएमा
सर्वनाम, विशेषण, पेसा, जात, भरीलाई
क्रियापदको अन्तिममा दीर्घ बरिलै
अन्त्यमा ‘ही’ आएमा सबै दीर्घ लेखिदेऊ
‘चाहिँ’ मात्रै अपवाद हो यसलाई छाडिदेऊ
अनीय, ईय, ईन, शील जस्ता प्रत्यय
बीचको ईकार दीर्घ अवश्य

छात्राले एकल स्वरमा गाइरहेका बेला साथीहरू उनलाई साथ दिन्छन्, दोहोर्‍याए गाउन । छमछमी नाच्छन् दुई संगी । त्यति नै खेर अरू संगी उठ्दै नाच्छन् । तीन छात्र साथी नाच्दै आउँछन् । छात्रा दुई अलप हुन्छन् । छात्रपछि फेरि छात्रा नै नाच्छन् । गीतको अन्तिम लयतिर सर, म्याम सबै छमछमी नाच्छन् । संगीतमय चार मिनेट १२ सेकेन्ड यसरी नै सकिन्छ । यसमा कक्षा १० की छात्रा शारदा पराजुलीको मुख्य स्वरमा अन्य ११ साथीहरूको सामूहिक गायन छ । म्युजिक नेपालमा रेकर्ड भएको यो गीत युटयुबमा शुक्रबार साँझसम्ममा ३ लाख ५ हजार जनाले हेरिसकेका छन् । तीज सकिएपछि पनि ह्रस्व–दीर्घका नियम सिक्न चाहने जोसुकैका लागि यो जहिल्यै उपयोगी हुने देखिन्छ ।

यो गीतलाई लिएर युटयुबमा सयौं कमेन्ट छन् । तीमध्ये केही यस्ता छन् । ‘एकदमै जानकारीमूलक गीत लेख्नुभएछ । एकदमै सजिलो तरिकाले विद्यार्थी भाइबहिनीहरूलाई बुझाउने हेतुले लेख्नुभएको यो गीत वर्षांै वर्षसम्म पनि उत्तिकै लाभदायक हुनेछ ।’

अर्को कमेन्ट छ– ‘नेपाली भाषा व्याकरणको केही खण्डलाई सजिलै सिकाउने अत्यन्त उदाहरणीय र प्रेरणादायी सृजना । यो गीत कालजयी हुनेछ । साथै यसले तीजको मौलिक गायन शैलीलाई समेत समाजको तल्लो तहमा पुर्‍याउनेछ ।’

राम शर्माले लेखेका छन्, ‘अबचाहिँ हाम्रा भाइबहिनी छोराछोरीलाई नेपाली व्याकरण बुझ्न सजिलो हुने भो, यो शिक्षामूलक तीजको गीतबाट ।’व्याकरणका नियम सिकाउने यो तीज गीत शिक्षक विमल घिमिरेले तयार पारेका हुन् । ‘विद्यार्थीलाई व्याकरणको नियम पढ्दा, पढाउँदा दिक्दार नहोस् भनेर यी हरफ गायनमार्फत कण्ठ पार्न लगाएको हुँ,’ दुई दशकदेखि नेपाली विषय पढाउँदै आएका घिमिरेले भने, ‘सबैले गाउँदा साँच्चै मीठो सुनियो । अनि फेसबुकमा राख्ने भनेर अभ्यास गराएँ । अन्तिममा म्युजिक नेपालले नै राम्रो मानेर रेकर्ड गरायो । कक्षा कोठामा सीमित थियो, अब संसारभरि पुग्दा ज्यादै खुसी लागेको छ ।’

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT