कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उड्न छाड्यो मौसमी बेलुन

बेलुन उडाउन चाहिने हाइड्रोजन ग्यास सकिएको र अमेरिकाबाट स्थलमार्ग हुँदै ल्याउनुपर्ने भएकाले तीन सातादेखि रोकिएको छ 
अब्दुल्लाह मियाँ

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले ‘वेदर बेलुन’ (रेडियो सोन्ड) उडाउन बन्द गरेको छ । वायुमण्डलको मौसमी गतिविधि थाहा पाउन विभागले त्रिविको जल तथा मौसम केन्द्रीय विभागसँगको सहकार्यमा असार ६ गतेदेखि हरेक बिहान ६ बजे कीर्तिपुरस्थित त्रिवि परिसरबाट बेलुन उडाउने गरेको थियो ।  

उड्न छाड्यो मौसमी बेलुन

विभाग महानिर्देशक ऋषिराम शर्माले प्राविधिक समस्याका कारण करिब तीन सातादेखि बेलुन उडाउन नसकिएको बताए । ‘रेडियो सोन्ड’ हेर्न विभागले तोकेकी प्राविधिक शान्ति कँडेलका अनुसार बेलुन उडाउन पानीबाट हाइड्रोजन ग्यास निकाल्नुपर्ने हुन्छ । ग्यास निकाल्न विशेष पानी आवश्यक पर्छ । ‘ग्यास उत्पादन गर्न प्रयोग हुने हाइड्रोजन जेनेरेटरमा प्राविधिक समस्या उत्पन्न भयो,’ उनले भनिन्, ‘त्यो जेनेरेटरलाई क्यालिब्रेसन गर्नुपर्ने भएको छ । त्यसका लागि पनि अलग्गै ग्यास चाहिन्छ, त्यो नेपालमा पाइँदैन ।’


क्यालिब्रेसन गर्न प्रयोग हुने ग्यास यसअघि अमेरिकाबाट ल्याइएको थियो । ‘त्यो ग्यास अमेरिकाबाट नआएसम्म उडाउन सकिन्न,’ उनले भनिन्, ‘हवाईजहाजबाट ल्याउन नपाइने भएकाले पानीजहाज र स्थलमार्ग हुँदै नेपाल आइपुग्न समय लाग्छ ।’


महानिर्देशक शर्माका अनुसार वेदर बेलुन भने दुई वर्षसम्मलाई मौज्दात छ । बेलुन जर्मनीबाट ल्याइएको हो । एउटा बेलुन उडाउँदा हरेक दिन २ सय युरो (२६ हजार ५ सय रुपैयाँ) खर्च हुन्छ । करिब एक घण्टा उडेपछि बेलुन आफैं फुट्छ । २ वर्षे यो कार्यक्रममा ४ करोड रुपैयाँ खर्च हुनेछ ।

विभागमा सञ्चालित ‘जलवायु प्रकोप समुत्थान निर्माण आयोजना’ मार्फत बेलुन उडाएर वायुमण्डलको माथिल्लो तहको मौसमी तथ्यांक लिन खोजिएको हो । वायुमण्डलको तापक्रम, प्रेसर, वायुको गति र दिशा, बादलको अवस्था, सापेक्षिक आद्र्रतालगायत बुझ्न बेलुन प्रभावकारी मानिएको छ ।


करिब डेढ महिना बेलुन उडाएपछि मौसमसम्बन्धी केही नयाँ तथ्यांक र जानकारी प्राप्त भएको शर्माले उल्लेख गरे । ‘सतहको वायुभन्दा वायुमण्डलको वायुको वेगबारे केही नयाँ जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘वायुमण्डलको वायुको अवस्थाबारे धेरै महत्त्वपूर्ण तथ्यांकसमेत प्राप्त हुने देखिन्छ ।’


बेलुनले दिएको तथ्यांक प्राविधिकले कम्प्युटरमा डाउनलोड गरी मौसमी अवस्था विश्लेषण गर्छन् । शर्माका अनुसार जमिनमा रहेको प्रविधिबाट उच्च वायुमण्डलको मौसमी अवस्थाको प्रक्षेपण प्रभावकारी नभएपछि यो प्रविधि अपनाइएको हो । ‘हरेक १०/१० सेकेन्डमा बेलुनले दिने तथ्यांकले उच्च वायुमण्डलको अवस्था बुझ्न सकिनेछ र मौसमको पूर्वानुमान गर्न हामीलाई सहयोग पुग्नेछ’ शर्माले भने । यसले मौसमी प्रक्षेपण थप प्रभावकारी र वैज्ञानिक हुने अपेक्षा गरिएको छ ।


प्राविधिक कँडेलले डेढ महिनासम्म बेलुनबाट प्राप्त तथ्यांक विश्लेषण गर्न बाँकी रहेको बताइन् । ‘मनसुनका बेला हाम्रो वायुमण्डल कस्तो हुने रहेछ भन्ने तथ्य थाहा पाउन सकिन्छ,’ उनले भनिन्, ‘त्यसका लागि अहिलेसम्म प्राप्त तथ्यांक मसिनो गरी केलाउनुपर्ने हुन्छ ।’


पहिलो चरणमा काठमाडौंमा सुरु गरिएको यो प्रविधि विराटनगर र सुर्खेतमा पनि विस्तार गर्ने विभागको योजना छ । विभागले गर्दै आएको मौसम प्रक्षेपण यो प्रविधिले थप विश्वसनीय बनाउने जानकारहरूले बताएका छन् । ‘जमिनमा रहेका मौसम मापन केन्द्र र उच्च वायुमण्डलबाट समेत तथ्यांक प्राप्त हुने भएपछि हाम्रो मौसमी प्रक्षेपण वैज्ञानिक हुनेछ,’ महानिर्देशक शर्माले भने । अहिले विभागले नेपालभर मौसम मापन गर्न १४० स्थानमा केन्द्र खडा गरेको छ ।

प्रकाशित : भाद्र २४, २०७५ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?