कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कांग्रेसमा अहिल्यैदेखि नेतृत्व दौड

कांग्रेसको १४ औं महाधिवेशन आउन अझै कम्तीमा डेढ वर्ष बाँकी छ । रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइराला आफ्नो पक्षमा माहोल बनाउन अहिल्यैदेखि जिल्ला दौडाहामा छन् । संस्थापन पक्षबाट शेरबहादुर देउवा निर्विकल्प उम्मेदवारका रूपमा हेरिएका छन् ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ५ दिनसम्म गृहजिल्लामा कार्यक्रम गरेर शुक्रबार राजधानी फर्के । महामन्त्री शशांक कोइराला तीन दिनदेखि प्रदेश ५ मा केन्द्रित छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह शनिबारदेखि कर्णाली प्रदेशमा दौडधुप गरिरहेका छन् ।

कांग्रेसमा अहिल्यैदेखि नेतृत्व दौड

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्लाबाट फर्केलगत्त आइतबार बर्दियातर्फ हानिएका छन् । नेता शेखर कोइराला सातादेखि जिल्लातिरै छन् । प्राय: राजधानीबाहिरै रहने उनी आइतबार सर्लाहीको कार्यक्रममा थिए ।

समयमै भए कांग्रेसको १४औं महाधिवेशन आउन अझै डेढ वर्ष बाँकी छ । तर विधानले केन्द्रीय कार्यसमितिलाई एक वर्ष अवधि बढाउने अधिकार दिएकाले तोकिएअनुसारै हुनेमा नेताहरू नै विश्वस्त छैनन् । कार्यसमितिमा सभापति शेरबहादुर देउवाको स्पष्ट बहुमत छ । अहिलेसम्मका सभापतिले एक वर्ष थपेरै महाधिवेशन गरेका छन् ।

आफ्नो अलोकप्रियताको ग्राफ बढिरहेका बेला देउवामा पनि थप समयअघि महाधिवेशन गराउने रुचि देखिँदैन । उनले महासमितिकै बैठक तीन महिना पछि धकेल्नुले यसलाई पुष्टि गर्छ । महाधिवेशनका लागि नेतृत्वको प्रतिस्पर्धा भने अहिल्यै सुरु भइसकेको छ । खासगरी संस्थापनइतर पक्षमा । संस्थापन पक्षमा देउवा नै निर्विकल्प छन् । तर अर्को पक्षमा पौडेल एक्ला छैनन् । जिल्ला दौडमा निस्केका सबै नेता १४ औं महाधिवेशनमा आ–आफ्ना लागि महोल बनाउने योजनामा छन् ।

उनीहरूबीच अहिले कसैले नेतृत्वको दाबी नगर्ने अनौपचारिक समझदारी बने पनि व्यवहार त्यस्तो छैन । महामन्त्री शशांक र नेता शेखरबीच को सभापति उम्मेदवार बन्ने भन्ने प्रतिस्पर्धा छ । शेखर संसदीय निर्वाचन हारेपछि निरन्तर जिल्ला दौडाहामा छन् । पछिल्लो पटक शशांक पनि जिल्ला दौडाहामा निस्कन थालेका छन् । केही समयअघि विराटनगरस्थित कोइराला निवासबाट दाजुभाइमध्ये एक सभापति उम्मेदवार हुने अभिव्यक्ति शशांकले दिएका थिए ।

संस्थापन पक्षबाट ७३ वर्षीय देउवा फेरि उम्मेदवार बन्ने तयारी गरेपछि पौडेल पनि अवकाश नलिने पक्षमा छन् । पौडेल देउवाभन्दा एक वर्ष मात्र जेठा हुन् । देउवा र पौडेलपछिको दोस्रो पुस्ता पनि ६० देखि ७० को हाराहारीमा छ । उमेरका हिसाबले अरू प्रतिस्पर्धीको तुलनामा शशांक र प्रकाशमानलाई केही सुविधा छ । शशांक ६० र सिंह ६३ वर्षका छन् । तर, सिटौला ६९ र शेखर ६८ वर्ष पुगिसकेका छन् । ‘दोस्रो पुस्तालाई पनि उमेरको दबाब छ,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले पनि १४औं महाधिवेशनमै प्रतिस्पर्धा गर्नुपर्छ भनेर उहाँहरू (सिटौला, सिंह, शशांक र शेखर) लाग्नुभएको छ ।’

दोस्रो पुस्तामा एकले अर्कोलाई स्विकार्ने वातावरण अहिलेसम्म बन्न सकेको छैन । शशांक र पूर्वमहामन्त्री सिंहको सम्बन्ध न्यानो छैन । संसदीय दलको नेताको चुनावमा शशांकले आफूलाई नसघाएको गुनासो सिंहको छ । सिटौला र सिंहबीचको सम्बन्ध पनि उस्तै छ । यीबाहेक संस्थापनइतर पक्षमा रामशरण महत र अर्जुननरसिंह केसीको भूमिकाले पनि धेरै प्रभाव पार्छ ।

महतसमेत नेतृत्वका लागि आफू सक्षम रहेको बताउन थालेका छन् केसी नेतृत्वका लागि इच्छुक छैनन् । तर, पार्टी नेतृत्व परिवर्तनका लागि संस्थापनइतर पक्षलाई एक जुट बनाउने अभियानमा सक्रिय छन् । ‘अहिले हामीबीच नेतृत्व कसले लिने भन्नेमा छलफल भएको छैन, तत्कालीन परिस्थिति र अवस्था हेरेर निर्णय लिने भनिएको छ’ केसीले भने, ‘संस्थापनइतर पक्ष एक भएर नै अघि बढ्छ ।’

के गर्लान् सिटौला ?
कांग्रेस नेतृत्वका लागि तेस्रो समूहका अगुवा सिटौला निर्णायक भूमिकामा छन् । १३औं महाधिवेशनमा देउवा, पौडेल र उनी सभापति उम्मेदवार थिए । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा देउवा निर्वाचित भएका हुन् ।

उनी निर्वाचित हुनुमा सिटौलाको भूमिका निर्णायक बन्यो । तर, यस पटक सिटौला देउवाको कार्यशैली र भूमिकाप्रति असन्तुष्ट छन् । निर्वाचनमा पार्टीले हार व्यहोरेपछि उनी देउवाको प्रखर आलोचक देखिए ।

सिटौला पछिल्लो समय संस्थापनइतरको एउटै समूह बनाउने भनी पौडेलनिकट पनि देखिए । तर, अहिले आफ्नै समूहलाई अघि बढाउने निर्णयमा छन् । जिल्ला सभापति भेलामा आफूलाई बोल्न नदिँदासमेत पौडेल मौन बसेको उनको गुनासो छ । त्यस्तै डेमोक्रेटिक लयर्स एसोसिएसनको चुनावमा आफूनिकटका कानुन व्यवसायीलाई स्वीकार नगरेको असन्तुष्टि पनि छ ।

पौडेलमा त्यस्तै अविश्वास छ । बेलाबखत सभापति देउवाले भेटघाटका लागि बोलाउँदा पनि उनी आशंकाको दृष्टिले हेर्छन् । पौडेललाई सिटौला अझै देउवातिर जान सक्ने आशंका छ । त्यस्तै आशंका सिटौलामा पनि देखिन्छ । सिटौला निकट एक सदस्य भन्छन्, ‘सँगै मिलेर जाने त भन्ने तर आफूहरूभित्र बसेर मलाई बरन्डामा राख्ने काम भएपछि कसरी अघि बढ्न सकिन्छ भन्ने गुनासो सिटौलामा छ ।’ दुई सातादेखि सिटौला आफ्नो समूहलाई एकत्रित गर्न थालेका छन् । केही दिनअघि गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईंलगायत केन्द्रीय नेताहरूलाई सँगै राखेर उनले आफ्नो समूहलाई क्रियाशील बनाउने उद्घोष गरेका थिए । त्यसपछि उनी निरन्तर अन्तरक्रिया र संवादमा छन् ।

केन्द्रीय सदस्य केसीको पहलमा उनकै निवासमा शुक्रबार संस्थापन–इतरको बैठकसमेत बस्यो । बैठकमा शशांक र शेखर अनुपस्थित थिए । पौडेल, सिंह, सिटौला, केसी र महतको उपस्थिति थियो । शेखरले टेलिफोनमार्फत बैठकको निर्णय आफूलाई मान्य हुने बताएका थिए । तर शशांकले केही भनेनन् ।

बैठकमा पौडेलले छुट्टै समूह देखिने गरी कार्यक्रम नगरिदिन सिटौलासँग आग्रह गरे । तर, सिटौलाले पहिला आफ्नो टिमलाई एकजुट बनाउन पौडेललाई सुझाए । सिटौलाले १४औं महाधिवेशनमा आफू पनि प्रतिस्पर्धी रहेको सन्देश दिन जिल्ला दौड गर्ने भएका छन् । यद्यपि उनी आफू उम्मेदवार हुने कि नहुने भन्ने तीन विषयले निर्धारण गर्ने बताउँछन् । पहिलो, पार्टीको आन्तरिक अभ्यास कसरी अघि बढ्छ, त्यसैअनुसार गर्ने योजनामा छन् ।

दोस्रो, संघीय संरचनाअनुसार पार्टीका तल्ला तहको अधिवेशनमा आउने परिणाम र तेस्रोमा सभापति देउवा र वरिष्ठ नेता पौडेलको कार्यशैली र व्यवहारलाई उनले नजिकबाट नियालेका छन् । आफैं उम्मेदवार नभए उनी शशांक या शेखरमध्ये एकलाई नेतृत्वमा अघि सार्ने योजनामा छन् । ‘पौडेल र सिटौलाबीच बाहिर आएजस्तो मनमुटाब छैन, थप विश्वास कायम गर्ने प्रयास भएको छ,’ शुक्रबारको अनौपचारिक बैठकबारे केसीले थपे, ‘हामीबीच वैचारिक सामीप्य छ र यथास्थितिबाट अघि बढ्नुपर्छ भन्नेमा एक ठाउँमा छौं । काम गर्ने शैली र सम्बन्ध आ–आफ्नै हुन्छ । यसलाई अन्यथा लिन हुन्न ।’

प्रकाशित : भाद्र २५, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?