पटक–पटक किन डुब्छ डुंगा ?

सुरक्षा र उद्धारका साधन नहुँदा मानवीय क्षति
दीपक परियार

लेखनाथ — काठमाडौंबाट ०७३ साउन २३ मा पोखरा घुम्न आएका ७ जना सवार डुंगा फेवातालमा पल्टिँदा प्रतीक श्रेष्ठ र एलिन केसीको मृत्यु भएको थियो । बिनालाइफ ज्याकेट डुंगा चढेका उनीहरूलाई हावाहुरीले हुत्यायो ।

बेगनासतालमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ताको शव आइतबार ल्याउँदै प्रहरी टोली । तस्बिर : दीपक

४० वर्षअघि फेवातालमा एकैपटक १९ जनाको मृत्यु भएको थियो । घाँसदाउरा गर्न हिँडेका स्थानीय सवार डुंगा ०१८ सालमा पल्टिएर १९ को ज्यान गएको थियो । ०४३ सालमा वनभोज खाएर फर्कंदै गरेका १८ जनाको मृत्युको कारण डुंगा दुर्घटना नै भयो ।

०६१ मा डुंगा पल्टिएरै ६ जना सुरक्षाकर्मीले ज्यान गुमाए । ०७३ मा पनि पटकपटक गरेर ५ जनाको मृत्यु फेवातालमा डुंगा पल्टिएर भयो । शनिबार फेरि बेगनासतालमा डुंगा पल्टिएर ८ जनाले ज्यान गुमाए । पहिलेपहिले लाइफ ज्याकेट र मोटरबोटजस्ता सुरक्षा र उद्धारका साधन नहुँदा मानवीय क्षति धेरै हुने गरेका थिए तर अहिले ती सबै सुविधा भएर पनि दुर्घटना भइरहेपछि प्रश्न उब्जिन थालेको छ( पटकपटक किन डुब्छ डुंगा ?

Yamaha

फागुनचैतमा हावाहुरी लाग्ने मौसम हो । त्यतिखेर हावाहुरीले ल्याउने छालले धेरै डुंगा पल्टाउँछन् । भदौ महिना त्यस्तो होइन । प्राकृतिक कारणबाहेक मानवीय कमिकमजोरीले डुंगा दुर्घटनामा बढी क्षति भएका छन् । बेगनासको डुंगा दुर्घटना लापरबाहीबाट भएको सरोकारवाला बताउँछन् । फेवाताल र बेगनासताल डुंगा व्यवसायी समितिले ५ वर्षअघिबाटै डुंगा चढ्नेलाई लाइफ ज्याकेट अनिवार्य गरेको छ ।

सानो डुंगामा ५ जनाभन्दा बढी चढाउन मिल्दैन । शनिबार दुवै नियम लागू भएन । स्थानीय कमलराज कँडेलको डुंगामा १० जना मानिस, चामलको बोरा र सिलिन्डर राखेर पारि लगियो । कँडेलले आफ्नै घरमा तीजको दर खाने कार्यक्रममा जान चेलिबेटीलाई डुंगा चढाएर पठाएका थिए । उनकै विवेकले त्यसो गरे या अरू नै कारण थियो भन्ने खुल्न सकेको छैन । उक्त डुंगाकै पछिपछि एक्लै अर्को डुंगा चलाएर गएका उनी आँखै अगाडि दुर्घटना देखेपछि बेहोस छन् । उनको पोखराको चरक मेमोरियलको आईसीयूमा उपचार भइरहेको छ । उनको होस खुलेपछि धेरै कुरा खुल्ला ।

डुंगा दुर्घटनामा परेर जीवितै उद्धार गरिएकी सपना खनाललाई आधार मान्दा डुंगामा एक मात्र युवा पुरुष थिए, रवि खनाल । उनैको जिम्मा लगाएर डुंगा पठाइएको थियो तर रवि पोख्त डुंगा चालक होइनन् । बेगनासताल डुंगा व्यवसायी समिति मातहतकै डुंगामा १० जना हालेर लैजाँदै गर्दा समितिका मान्छेले खबरदारी गरेको देखिँदैन ।

लाइफ ज्याकेट पनि दिएर पठाएनन् । जब कि तालकै छेउमा समितिको काउन्टर छ र रेखदेख गर्ने कर्मचारी पनि । पर्यटकलाई ५ जना मात्रै र लाइफ ज्याकेट अनिवार्य गर्ने समितिले डुंगा धनीका आफन्तलाई किन त्यो नियम लागू गरेनन् ? पर्यटक चढ्दा मात्रै होइन, अरू बेला पनि दुर्घटना निम्तिन सक्छ भन्ने हेक्का समिति कर्मचारीलाई किन भएन ? समितिले क्युबाहिरको डुंगा लगेको भनेर उम्कन मिल्छ कि मिल्दैन ?

समितिको कमजोरी छँदै थियो, १० जना लाइफ ज्याकेटबिना यात्रा गर्नु यात्रुको पनि कमजोरी देखियो । डुंगा दुर्घटनामा परेकी सपनाको माइती तालपारि बेगनास हो । उनी डुंगा र तालसँग बढी परिचित थिइन् । उनका श्रीमान् रवि, छोराहरू शिव र शंकर उतिसारो जानकार होइनन् । बेगनासका धेरैको आफ्नै डुंगा छ । उनीहरूले यातायातको साधनका रूपमा डुंगा प्रयोग गर्छन् ।

तालमा पर्यटक ओसारेर आयआर्जन पनि । सांसद खगराज अधिकारी बेगनासकै हुन् । गाउँमा पुग्न मोटरबाटो नभएको पनि होइन । शनिबार पाहुनाले मोटरबाटोको प्रयोग गर्न नचाहेको देखियो । सपनाका अनुसार डुंगाबाट गए थोरै हिँड्नुपर्ने र मोटरबाटो गए धेरै हिँड्नुपर्ने भएर उनीहरूले डुंगा रोजेका थिए । उनका श्रीमान्को जिद्दीपना दुर्घटनाको अर्को कारण थियो । उनले चढ्ने बेलामै आफू नजाने ढिट गरेकी थिइन् । किनारबाट अलि पर पुगेपछि नै ‘फर्कौं’ भनेकी थिइन् । नेपाली सेना श्रीमान्ले ‘केही हुन्न, मरे सबै सँगै मर्ने हो’ भनेको उनलाई सम्झना छ ।

डुंगामा सवारले सम्भावित दुर्घटनाबारे कुनै आकलन नगरेको देखिन्छ । उनका अनुसार डुंगा चुहिने थियो । डुंगाबाट पानी निकाल्न सानो कटौरा राखिएको थियो । डुंगा चुहिनु नै दुर्घटनाको कारण बन्यो । डुंगाधनीले डुंगाको मर्मतसम्भारमा ध्यान नदिनु पनि कमजोरीका रूपमा देखिएको छ ।

नहुनु दुर्घटना भइहाल्यो, त्यसपछिको उद्धारमा झन् चरम कमजोरी देखियो । फेवातालमा ‘रेस्क्यु टावर’ स्थापना गरिएको छ । सशस्त्र प्रहरीको टोलीले चौबिसै घण्टा पहरा दिन्छन् । सुविधायुक्त मोटरबोट छ । तालिमप्राप्त उद्धार टोली छ । त्यति हुँदाहुँदै पनि फेवातालमा डुबेर मान्छे मर्न रोकिएको छैन ।

बेगनासतालमा यी कुनै छैनन् । भएको एउटा मोटरबोट पेट्रोल रित्तै गरेर राखिएको थियो । डुंगा पल्टिएको आधा घण्टासम्म यात्रुले बाँच्ने संघर्ष गरिरहे । त्यतिखेरसम्म परपरसम्मबाट उद्धारमा कोही आएनन् । आधा घण्टापछि धन्न दिलकुमारी जलारी र उनका छोरा कुमार आएर सपना र निशा पौडेललाई बचाउन सफल भए ।

सपना र निशा ताल किनारमा आएपछि बल्ल सपनाले एक महिलाको मोबाइल मागेर आमा कमला अधिकारीलाई फोन गरेकी थिइन् । कमलाले नै प्रहरीलाई खबर गरेकी हुन् । सपनाले जनाएअनुसार दुर्घटनाबारे समितिलाई बताउँदा उद्धारमा जाने तयारी गर्नै ढिला भएको थियो ।

जिल्ला प्रहरीका नायब उपरीक्षक एवं बेगनासकै रवीन्द्र गुरुङ धेरै कमीकमजोरीको तालमेलले डुंगा दुर्घटना भएको बताउँछन् । लाइफ ज्याकेट नलैजानेजस्तो सानो कमजोरीले ठूलो मानवीय क्षति भएको उनको ठहर छ ।

प्रशासनले लाइफ ज्याकेट अनिवार्य गरे पनि अनुगमन गर्न सकेको छैन । नियम लागू गर्ने तर अनुगमन नगर्ने भएकाले दुर्घटना निम्तिने गरेको छ । अनुगमन संयन्त्र बलियो नहुँदा हुने दुर्घटनाले पर्यटकीय नगरीकै छविमा आँच पुर्‍याएको छ । पटकपटक दुर्घटनाको खबर सुन्दा पनि चेत नफिर्ने यात्रु छँदै छन् ।

६ को शव भेटियो
बेगनासतालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थल नजिकै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।

आफन्तकामा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० सवार डुंगा डुबेको थियो । डुंगा डुबेपछि शनिबारै उपचार क्रममा दुईको मृत्यु भएको थियो । डुंगा डुब्दा नवलपुर गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका ८ र ७ वर्षका छोरा शंकर र शिव, तनहुँको भीमाद(४ का ४ वर्षीय रञ्जित गैरे, पोखरा(३१ बेगनासका ५ वर्षीय प्राचीन पौडेल र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनीषा बजगार्इं बेपत्ता थिए । आइतबार दिउँसो उनीहरूको शव फेला परेको हो ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कांग्रेसमा अहिल्यैदेखि नेतृत्व दौड

कांग्रेसको १४ औं महाधिवेशन आउन अझै कम्तीमा डेढ वर्ष बाँकी छ । रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइराला आफ्नो पक्षमा माहोल बनाउन अहिल्यैदेखि जिल्ला दौडाहामा छन् । संस्थापन पक्षबाट शेरबहादुर देउवा निर्विकल्प उम्मेदवारका रूपमा हेरिएका छन् ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ५ दिनसम्म गृहजिल्लामा कार्यक्रम गरेर शुक्रबार राजधानी फर्के । महामन्त्री शशांक कोइराला तीन दिनदेखि प्रदेश ५ मा केन्द्रित छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह शनिबारदेखि कर्णाली प्रदेशमा दौडधुप गरिरहेका छन् ।

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्लाबाट फर्केलगत्त आइतबार बर्दियातर्फ हानिएका छन् । नेता शेखर कोइराला सातादेखि जिल्लातिरै छन् । प्राय: राजधानीबाहिरै रहने उनी आइतबार सर्लाहीको कार्यक्रममा थिए ।

समयमै भए कांग्रेसको १४औं महाधिवेशन आउन अझै डेढ वर्ष बाँकी छ । तर विधानले केन्द्रीय कार्यसमितिलाई एक वर्ष अवधि बढाउने अधिकार दिएकाले तोकिएअनुसारै हुनेमा नेताहरू नै विश्वस्त छैनन् । कार्यसमितिमा सभापति शेरबहादुर देउवाको स्पष्ट बहुमत छ । अहिलेसम्मका सभापतिले एक वर्ष थपेरै महाधिवेशन गरेका छन् ।

आफ्नो अलोकप्रियताको ग्राफ बढिरहेका बेला देउवामा पनि थप समयअघि महाधिवेशन गराउने रुचि देखिँदैन । उनले महासमितिकै बैठक तीन महिना पछि धकेल्नुले यसलाई पुष्टि गर्छ । महाधिवेशनका लागि नेतृत्वको प्रतिस्पर्धा भने अहिल्यै सुरु भइसकेको छ । खासगरी संस्थापनइतर पक्षमा । संस्थापन पक्षमा देउवा नै निर्विकल्प छन् । तर अर्को पक्षमा पौडेल एक्ला छैनन् । जिल्ला दौडमा निस्केका सबै नेता १४ औं महाधिवेशनमा आ–आफ्ना लागि महोल बनाउने योजनामा छन् ।

उनीहरूबीच अहिले कसैले नेतृत्वको दाबी नगर्ने अनौपचारिक समझदारी बने पनि व्यवहार त्यस्तो छैन । महामन्त्री शशांक र नेता शेखरबीच को सभापति उम्मेदवार बन्ने भन्ने प्रतिस्पर्धा छ । शेखर संसदीय निर्वाचन हारेपछि निरन्तर जिल्ला दौडाहामा छन् । पछिल्लो पटक शशांक पनि जिल्ला दौडाहामा निस्कन थालेका छन् । केही समयअघि विराटनगरस्थित कोइराला निवासबाट दाजुभाइमध्ये एक सभापति उम्मेदवार हुने अभिव्यक्ति शशांकले दिएका थिए ।

संस्थापन पक्षबाट ७३ वर्षीय देउवा फेरि उम्मेदवार बन्ने तयारी गरेपछि पौडेल पनि अवकाश नलिने पक्षमा छन् । पौडेल देउवाभन्दा एक वर्ष मात्र जेठा हुन् । देउवा र पौडेलपछिको दोस्रो पुस्ता पनि ६० देखि ७० को हाराहारीमा छ । उमेरका हिसाबले अरू प्रतिस्पर्धीको तुलनामा शशांक र प्रकाशमानलाई केही सुविधा छ । शशांक ६० र सिंह ६३ वर्षका छन् । तर, सिटौला ६९ र शेखर ६८ वर्ष पुगिसकेका छन् । ‘दोस्रो पुस्तालाई पनि उमेरको दबाब छ,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले पनि १४औं महाधिवेशनमै प्रतिस्पर्धा गर्नुपर्छ भनेर उहाँहरू (सिटौला, सिंह, शशांक र शेखर) लाग्नुभएको छ ।’

दोस्रो पुस्तामा एकले अर्कोलाई स्विकार्ने वातावरण अहिलेसम्म बन्न सकेको छैन । शशांक र पूर्वमहामन्त्री सिंहको सम्बन्ध न्यानो छैन । संसदीय दलको नेताको चुनावमा शशांकले आफूलाई नसघाएको गुनासो सिंहको छ । सिटौला र सिंहबीचको सम्बन्ध पनि उस्तै छ । यीबाहेक संस्थापनइतर पक्षमा रामशरण महत र अर्जुननरसिंह केसीको भूमिकाले पनि धेरै प्रभाव पार्छ ।

महतसमेत नेतृत्वका लागि आफू सक्षम रहेको बताउन थालेका छन् केसी नेतृत्वका लागि इच्छुक छैनन् । तर, पार्टी नेतृत्व परिवर्तनका लागि संस्थापनइतर पक्षलाई एक जुट बनाउने अभियानमा सक्रिय छन् । ‘अहिले हामीबीच नेतृत्व कसले लिने भन्नेमा छलफल भएको छैन, तत्कालीन परिस्थिति र अवस्था हेरेर निर्णय लिने भनिएको छ’ केसीले भने, ‘संस्थापनइतर पक्ष एक भएर नै अघि बढ्छ ।’

के गर्लान् सिटौला ?
कांग्रेस नेतृत्वका लागि तेस्रो समूहका अगुवा सिटौला निर्णायक भूमिकामा छन् । १३औं महाधिवेशनमा देउवा, पौडेल र उनी सभापति उम्मेदवार थिए । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा देउवा निर्वाचित भएका हुन् ।

उनी निर्वाचित हुनुमा सिटौलाको भूमिका निर्णायक बन्यो । तर, यस पटक सिटौला देउवाको कार्यशैली र भूमिकाप्रति असन्तुष्ट छन् । निर्वाचनमा पार्टीले हार व्यहोरेपछि उनी देउवाको प्रखर आलोचक देखिए ।

सिटौला पछिल्लो समय संस्थापनइतरको एउटै समूह बनाउने भनी पौडेलनिकट पनि देखिए । तर, अहिले आफ्नै समूहलाई अघि बढाउने निर्णयमा छन् । जिल्ला सभापति भेलामा आफूलाई बोल्न नदिँदासमेत पौडेल मौन बसेको उनको गुनासो छ । त्यस्तै डेमोक्रेटिक लयर्स एसोसिएसनको चुनावमा आफूनिकटका कानुन व्यवसायीलाई स्वीकार नगरेको असन्तुष्टि पनि छ ।

पौडेलमा त्यस्तै अविश्वास छ । बेलाबखत सभापति देउवाले भेटघाटका लागि बोलाउँदा पनि उनी आशंकाको दृष्टिले हेर्छन् । पौडेललाई सिटौला अझै देउवातिर जान सक्ने आशंका छ । त्यस्तै आशंका सिटौलामा पनि देखिन्छ । सिटौला निकट एक सदस्य भन्छन्, ‘सँगै मिलेर जाने त भन्ने तर आफूहरूभित्र बसेर मलाई बरन्डामा राख्ने काम भएपछि कसरी अघि बढ्न सकिन्छ भन्ने गुनासो सिटौलामा छ ।’ दुई सातादेखि सिटौला आफ्नो समूहलाई एकत्रित गर्न थालेका छन् । केही दिनअघि गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईंलगायत केन्द्रीय नेताहरूलाई सँगै राखेर उनले आफ्नो समूहलाई क्रियाशील बनाउने उद्घोष गरेका थिए । त्यसपछि उनी निरन्तर अन्तरक्रिया र संवादमा छन् ।

केन्द्रीय सदस्य केसीको पहलमा उनकै निवासमा शुक्रबार संस्थापन–इतरको बैठकसमेत बस्यो । बैठकमा शशांक र शेखर अनुपस्थित थिए । पौडेल, सिंह, सिटौला, केसी र महतको उपस्थिति थियो । शेखरले टेलिफोनमार्फत बैठकको निर्णय आफूलाई मान्य हुने बताएका थिए । तर शशांकले केही भनेनन् ।

बैठकमा पौडेलले छुट्टै समूह देखिने गरी कार्यक्रम नगरिदिन सिटौलासँग आग्रह गरे । तर, सिटौलाले पहिला आफ्नो टिमलाई एकजुट बनाउन पौडेललाई सुझाए । सिटौलाले १४औं महाधिवेशनमा आफू पनि प्रतिस्पर्धी रहेको सन्देश दिन जिल्ला दौड गर्ने भएका छन् । यद्यपि उनी आफू उम्मेदवार हुने कि नहुने भन्ने तीन विषयले निर्धारण गर्ने बताउँछन् । पहिलो, पार्टीको आन्तरिक अभ्यास कसरी अघि बढ्छ, त्यसैअनुसार गर्ने योजनामा छन् ।

दोस्रो, संघीय संरचनाअनुसार पार्टीका तल्ला तहको अधिवेशनमा आउने परिणाम र तेस्रोमा सभापति देउवा र वरिष्ठ नेता पौडेलको कार्यशैली र व्यवहारलाई उनले नजिकबाट नियालेका छन् । आफैं उम्मेदवार नभए उनी शशांक या शेखरमध्ये एकलाई नेतृत्वमा अघि सार्ने योजनामा छन् । ‘पौडेल र सिटौलाबीच बाहिर आएजस्तो मनमुटाब छैन, थप विश्वास कायम गर्ने प्रयास भएको छ,’ शुक्रबारको अनौपचारिक बैठकबारे केसीले थपे, ‘हामीबीच वैचारिक सामीप्य छ र यथास्थितिबाट अघि बढ्नुपर्छ भन्नेमा एक ठाउँमा छौं । काम गर्ने शैली र सम्बन्ध आ–आफ्नै हुन्छ । यसलाई अन्यथा लिन हुन्न ।’

प्रकाशित : भाद्र २५, २०७५ ०७:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT