३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अल्टिच्युड हेलिकप्टर दुर्घटना: छानबिन गर्न समिति

काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाइलटसहित ६ जनाको शव आइतबार राजधानी ल्याइएको छ । अल्टिच्युडका निर्देशक सीताराम सापकोटाका अनुसार दुर्घटनास्थल नुवाकोटको बुर्सङचेतबाट नेपाली सेना, प्रहरी, उद्धारकर्ताहरूले शनिबार राति नै शव बोकेर सडकसम्म पुर्‍याएका थिए ।

अल्टिच्युड हेलिकप्टर दुर्घटना: छानबिन गर्न समिति

गाडीमा सदरमुकाम विदुर ल्याइएका शव आइतबार बिहानै हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगन्ज ल्याएको थियो । मृतकको शव सोमबार आफन्तजनलाई बुझाइने सापकोटाले बताए ।

उनका अनुसार दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारले २० हजार अमेरिकी डलर र चालकका परिवारले १ लाख अमेरिकी डलर बिमाबापत क्षतिपूर्ति पाउनेछन् । यसैबीच पर्यटन मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ ।

मनास्लु हिमाल आरोहण गर्न जाने १० जना चिनियाँ आरोहीको चार्टर उडान सकेर फर्किंदै गर्दा अल्टिच्युड एयरका वरिष्ठ क्याप्टेन निश्चल केसीले उडाएको हेलिकप्टर नुवाकोटको बुर्सङचेतस्थित करिब ५५ सय फिट उचाइको मैलुङपाखा जंगलमा दुर्घटनामा परेको थियो ।

उक्त घटनामा पाइलटसहित ७ जना सवारमध्ये ६ जनाको मृत्यु भएको थियो । घटनामा गोरखा ल्होकी आनी डोल्मा डिकी बाँच्न सफल भएकी थिइन् भने हेलिकप्टरका क्याप्टेन केसी, मनास्लु हिमाल आरोहण गर्न नसकेर फर्किएका ६८ वर्षीय जापानी नागरिक हिरोमी कमात्सु, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हीरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनील तामाङको घटनास्थलमै मृत्यु भएको थियो । यी सबै मनास्लु आरोहण अभियानमा संलग्न पर्यटनकर्मी थिए । यीबाहेक गोरखा सामागाउँस्थित साम्दोका स्थानीय छोवाङ नोर्बुको पनि मृत्यु भएको थियो ।

यो हेलिकप्टर शनिबार बिहान काठमाडौंबाट चार जना चिनियाँ नागरिक र एक नेपाली गाइड लिएर उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित सामागाउँमा बिहान साढे ७ बजे पुगेको थियो । स्थानीय प्रहरीका अनुसार उक्त चार्टर हेलिकप्टर त्यहाँबाट ७ बजेर ४० मिनेटमा काठमाडौंका लागि फर्किएको थियो ।

फर्कंदा यसमा ५ नेपाली र एक जापानीसहित ६ यात्रु थिए । बिहान ८ बजेर २० मिनेटमा काठमाडौंमा अवतरण गर्नुपर्ने हेलिकप्टर ८ बजेर ५ मिनेटपछि सम्र्पकविहीन भएको थियो । करिब ६ घण्टापछि दुर्घटनास्थल पहिचान भएको थियो ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?