कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ढुवानी समस्याले औषधि अभाव

राजबहादुर शाही

मुगु — ढुवानी समस्याले जिल्लामा औषधि अभाव भएको छ । सरकारी स्वास्थ्यचौकी र निजी मेडिकलमा औषधि अभाव भएपछि बिरामीको उपचार प्रभावित भएको छ । औषधि अभावका कारण बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् ।

ढुवानी समस्याले औषधि अभाव

वर्षाका कारण डेढ महिनादेखि गमगढी–नाग्मा सडक अवरुद्ध भएपछि औषधि ढुवानी गर्न सकिएको छैन । जहाजबाट औषधि ढुवानी गर्दा महँगो पर्ने भएकाले आपूर्ति असहज भएको हो । जहाजबाट औषधि ढुवानी गर्दा प्रतिकिलो १ सय २० रुपैयाँ पर्ने गरेको छ ।

गोदाममा स्टक भएको औषधि सकिएको स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीको चाप भइरहने जिल्ला अस्पतालमा पनि औषधि सकिँदा उपचारमा समस्या भएको डा. मीना चौलागाईंले बताइन् ।

भिडियो एक्सरेका लागि चाहिने जेल कज सकिएपछि अल्ट्रासाउन्ड सेवा प्रभावित भएको उनको भनाइ छ । क्षेत्रीय मेडिकल स्टोरबाट पठाइएको नि:शुल्क औषधि सकिएको उनले बताइन् ।

जिल्ला अस्पतालका डा. डबल मल्लले वर्षाले सडक मार्ग बन्द हुँदा औषधि चरम अभाव भएको बताए । छायानाथ रारा नगरपालिकाका पिना, रोवा, तुम, कार्कीबाडालगायत स्वास्थ्य केन्द्रमा औषधि नहुँदा बिरामीको उपचार प्रभावकारी हुन सकेको छैन । सदरमुकाम गमगढी बजारमा रहेका ७ वटा मेडिकलमा औषधि सकिएको छ । ‘सडक बन्द छ, त्यसैले औषधि आएन,’ अहेब जयबहादुर मल्लले भने, ‘जहाज पनि नियमित नभएपछि अधिकांश औषधि सकियो ।’ मौसम परिवर्तनका कारण बिरामीको संख्या बढेपछि औषधिको स्टक सकिँदै गएको उनको भनाइ छ ।

रातापानी प्राथमिक स्वास्थ्य केन्द्र तथा सोरु र मुगमकार्मारोङ गाउँपालिकाका तीन दर्जन बढी स्वास्थ्य केन्द्रमा औषधि सकिएपछि बिरामी रित्तो हात फर्कन बाध्य छन् । खत्याड गाउँपालिका जोड्ने कालाकाँडा–गम्था सडक पनि लामो समयदेखि अवरुद्ध हुँदा औषधि अभाव भएको उनले बताए ।

सडक अवरुद्ध हुँदा बिरामी बोक्ने एम्बुलेन्स पनि प्रभावित बनेको छ । जिल्ला अस्पतालले जटिल प्रकारका बिरामीलाई रिफर गरी एम्बुलेन्सद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाउने गरे पनि सडक बन्द भएकाले सास्ती खेप्नुपरेको छ ।

रिफर गरिएका बिरामी महँगो हवाई भाडा तिरेर सुर्खेत र नेपालगन्ज जान बाध्य छन् । जिल्लामा सडक अवरुद्ध हुँदा औषधि र दैनिक उपभोग्य वस्तुको अभाव भएपछि खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयबाट स्काभेटर झिकाएर झयारी खोला र पिनामा भत्किएको सडक बनाउने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप ढकालले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?