१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘बीपी प्रतिष्ठान उत्कृष्ट’

सुनसरी — नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्पादन गरेको चिकित्सक नेपाल र भारतमा मात्र नभएर संसारमै उत्कृष्ट मानिएको बताएका छन् ।

‘बीपी प्रतिष्ठान उत्कृष्ट’

विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको २५ औं स्थापना दिवसमा पुरीले भने, ‘यहाँ अध्ययन गरेका चिकित्सकको माग विश्वमै मान्यता पाउने भएकाले प्रतिष्ठानको विकासमा भारत सरकारले जहिले जतिखेर पनि सहयोग गर्न तयार छ ।’

उनले बीपी प्रतिष्ठानमा नेपालीले मात्र नभएर सिमानामा जोडिएका भारतीय नागरिकले पनि उपचार सेवासुविधा लिन पाएकामा खुसी व्यक्त गर्दै प्रतिष्ठानबाट उत्पादन भएका चिकित्सकको केही हिस्सा भारतको समेत भएको स्पष्ट पारे ।

उनले बीपी प्रतिष्ठान नेपाल र भारतबीचको सहकार्यको प्रतीकको गहना भएको उल्लेख गर्दै भारतले नेपाललाई असल निकट छिमेकीका रूपमा सदैव ग्रहण गर्दै आएको बताए । उनले नेपाल र भारतको सम्बन्ध सरकारी स्तरबाट मात्र नभएर जनस्तरदेखि नै प्रगाढ रहेको बताए ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले ०५० सालमा आजकै दिन बीपीको जन्मदिन पारेर स्थापना भएको प्रतिष्ठानले २५ वर्षे अवधिमा धेरै सुविधा थप गरेको बताए । उनले हालसम्म प्रतिष्ठानले ४ हजार १ सय चिकित्सक उत्पादन गरिसकेको बताए । उनले विगतमा ४० बिरामीलाई लक्षित गरी निर्माण गरेको प्रतिष्ठानमा हाल दैनिक ४ हजारभन्दा बढीको उपचार हुने जनाए ।

समारोहमा चिकित्सा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउने प्रा.डा. सुन्दरमणि दीक्षित, डा. मनोहरप्रसाद गुप्ता, प्रतिष्ठानका पूर्वउपकुलपति लोकविक्रम थापा र पूर्वरजिस्ट्रार नन्दबहादुर थापालगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?