२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अँध्यारामै अस्पताल

हरि गौतम

रुकुमपश्चिम — सानीभेरी गाउँपालिकाकी कमला क्षेत्री जिल्ला अस्पतालको बेड नं ६ मा १० दिन बसिन् । छोराको उपचारका लागि बसेकी उनले हरेक दिन एकदेखि डेढ घण्टा अँध्यारामा बस्नुपथ्र्यो । बाँफिकोट गाउँपालिकाकी डिलमाया ओलीले १ नम्बर बेडमा ३ रात काटिन् ।

अँध्यारामै अस्पताल

२ महिनाकी छोरीको उपचारमा बसेकी उनले पनि रातको धेरैजसो समय अँध्यारामै बिताउनुपर्‍यो । उनले अँध्यारामै औषधि खुवाइन् । सुईसमेत अँध्यारामै लगाउनुपर्‍यो । निमोनियाँ भएकी छोरीलाई रातमा पटकपटक औषधि खुवाउन तथा सुई लाउन ठूलो समस्या उनले झेलिन् । बत्तीको विकल्पमा राउन्डमा आउने डाक्टरसहित स्वास्थ्यकर्मीले मोबाइलको उज्यालामै उपचार गरे ।

कमला र डिलमाया मात्रै होइन, जिल्ला अस्पतामा उपचारका लागि भर्ना हुने सबै बिरामी अँध्यारामा बस्न बाध्य छन् । स्वास्थ्यकर्मी मोबाइलको उज्यालोका सहरामै उपचारमा खट्छन् । जिल्ला अस्पतालमा बिजुली अनियमित हुँदा उपचारमा ठूलो जोखिम मोल्नुपरेको चिकित्सकले भने । ‘राउन्डकै क्रममा बत्ती जाने भएकाले गोजीको मोबाइल निकालेर उपचार गर्नुको विकल्प छैन,’ एक स्वास्थ्यकर्मीले भने, ‘अँध्यारामा उपचार नगर्दा पनि समस्या, मोबाइलको उज्यालामा उपचार गर्नुपर्दा जोखिम पनि उत्तिकै खेप्नुपर्छ ।’ लामो समयदेखि हरेक रात एकदेखि २ घण्टा त जिल्ला अस्पतालमा बत्ती थिएन भने पछिल्लो सातायता अस्पतालमा केही घण्टा पनि बत्ती आउँदैन । नियमित बत्ती नहुँदा बिरामी, कुरुवा मात्रै होइन, स्वास्थ्यकर्मीसमेत ठूलो मारमा परेका छन् ।

०४५ मा स्थापना भएको जिल्ला अस्पतालमा बाँफिकोट गाउँपालिका–३ मा उत्पादित विद्युत् जडान गरिएको छ । ०४५ मै निर्माण गरिएको उक्त विद्युत् नियमित भने छैन । अस्पतालका प्रमुख डा. सुशील पोखरेलले बत्ती नभएका कारण अस्पताल ठूलो जोखिममा रहेको बताए । ‘पहिलो कुरो नियमित बत्ती आउँदैन, आइहाले पनि कम भोल्टेजले काम हुँदैन,’ उनले भने, ‘बत्तीका कारण हामी स्वास्थ्यकर्मीले रिस्क मोल्नुपरेको छ भने बिरामी ढुक्क हुने अवस्था छैन ।’

कम बत्तीले एक्स–रे, कम्प्युटर तथा अन्य मेडिकल उपकरण नचल्दा समयमै उपचार दिन नसिकएको अस्पतालले जनाएको छ । यही कारण एक्स–रे, ल्याब तथा अन्य उपकरणका कारण उपचारमा बिरामीले कुर्नुपर्ने अवस्था छ ।

बत्तीको विकल्पमा अस्पतालमा जेनेरेटर त छ तर इन्धनको स्रोत नहुँदा त्यो अस्पतालको सहयोगी बन्न सकेको छैन ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?