१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गाउँपालिकाविरुद्ध जनप्रतिनिधि नै आन्दोलित

अध्यक्षले एकलौटी गरेको गाउँसभा बहिष्कार गरी तालाबन्दी
अर्जुन राजवंशी

बनियानी, झापा — कचनकवल गाउँपालिकाका जनप्रतिनिधि गाउँपालिकाविरुद्ध आन्दोलित भएका छन् । उनीहरूले गाउँसभा बहिष्कारदेखि तालाबन्दीसमेत गरेका छन् । गाउँपालिका अध्यक्ष अन्जार आलमले एकलौटी ढंगले गाउँसभा गर्न लागेको भन्दै जनप्रतिनिधि आन्दोलित बनेका हुन् ।

गाउँपालिकाविरुद्ध जनप्रतिनिधि नै आन्दोलित

भदौ २३ र २४ गतेका लागि आहान गरेको दोस्रो गाउँसभा आन्दोलनका कारण अन्योल बनेको छ ।

अध्यक्षले बहुमतको दम्भमा जबरजस्ती गाउँसभा गर्न लागेको भन्दै १४ जनप्रतिनिधिले शनिबार टायर बाल्नुका साथै प्रमुख अतिथिलाई सभास्थल प्रवेश गर्नै नदिएर सभा बिथोलेका थिए । अध्यक्ष आलमले जबरजस्ती सभा उद्घाटन भएको घोषणा गर्न खोज्दा माइक्रोफोन खोसाखोस गर्ने क्रममा लागेर
वडा सदस्य लक्ष्मी सुब्बा घाइते भएकी छन् ।

जनप्रतिनिधिहरू आइतबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले गाउँसभा बस्ने वडा ६ स्थित सामुदायिक भवनको मूल गेटमै ताला लगाएका छन् । नाराबाजी गर्दै गएको जनप्रतिनिधिको टोलीले गाउँपालिका कार्यालयमा पनि तालाबन्दी गर्न खोजेपछि सुरक्षाकर्मीले कडा सुरक्षा दिएको थियो ।

अध्यक्षले नीति, नियमविपरीत गाउँपालिका चलाउन खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको वडा ६ का अध्यक्ष कुलबहादुर कार्कीले बताए । उनले आफूहरूलाई जानकारी नै नदिई गाउँसभा गर्न लागेकाले विरोधमा उत्रिनुपरेको बताए । अध्यक्षले आफू निकटकालाई बढी र अन्यलाई थोरै बजेट विनियोजन गर्ने गरेको उनको आरोप छ ।

‘म वडाध्यक्ष तर, दोस्रो गाउँसभाबाट आव ०७५/७६ का लागि पारित गराउन लागेको बजेटबारे केही जानकारी छैन । कति बजेट ल्याउन लागेको हो । कुन कुन शीर्षकमा कति विनियोजन गरियो, केही जानकारी छैन । अध्यक्षले एकलौटी ल्याएको बजेट पारित गर्न सकिन्छ ?’ उनले भने ।

वडा २ का सदस्य धनबहादुर गुरुङले जानकारी र पर्याप्त छलफल नै नभएको बजेट पेलेर पारित गराउन खोजेको आरोप लगाए । उनले अध्यक्षको अनुकूलतामा गाउँसभाबाट बजेट पारित गराउन लागेकाले आफूहरू विरोधमा उत्रिन बाध्य भएको बताए । बहुमतको दम्भ देखाउँदै अध्यक्षले बजेट विनियोजनमा असमानता गरेको आरोप उनको छ ।

‘निर्देशिकाअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने थियो तर अहिलेसम्म नल्याई करोडौं रुपैयाँको चलखेल गरिएको छ,’ वडा १ का सदस्य उमाशंकर गणेशले भने, ‘अध्यक्षले साउनमा मात्र अनियमित तरिकाले ६०३ टिपर मिक्स गिटी झारेका छन् । त्यो खर्च अध्यक्षले अब ल्याउन लागेको बजेटबाट पारित गराउन खोज्दै छन् । त्यो कसरी मान्य हुन्छ ?’

गाउँपालिकाविरुद्ध वडाध्यक्षहरू २ का मेखप्रसाद भट्टराई, ४ का प्रमानन्द राजवंशी, ६ का कुलबहादुर कार्की र ७ का भरत राजवंशी छन् । वडा सदस्यहरू उमाशंकार गणेश, सुनिता नेपाली, रञ्जित सुब्बा, मनमाया भट्टराई, चन्द्रशंकर अधिकारी, धनबहादुर गुरुङ, प्रतिमा बोगटी, आयुब मिया, मुस्तकीमा खातुन र निर्मला पाण्डे छन् ।

आन्दोलित जनप्रतिनिधि कांग्रेस र तत्कालीन एमालेबाट निर्वाचित हुन् । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य राप्रपाका छन् । जनप्रतिनिधिको आन्दोलनलाई कांग्रेस र नेकपाको स्थानीय समिमिले समर्थन गरेको छ । कांग्रेस नेता भूमि राजवंशीले अध्यक्ष आलम नीति, नियमभन्दा फरक ढंगले अघि बढ्न खोजेकाले सचेत गराउन सडकमा उत्रिएको बताए ।

आलमले जनप्रतिनिधिले लगाएको आरोपको खण्डन गरे । उनले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत नै गाउँसभा गर्न लागेको बताए । आफूले कानुनविपरीत कुनै काम नगरेको उनको दाबी छ । उनले जनप्रतिनिधि तथा गाउँवासीको कुने माग वा समस्या भए, आफू छलफलबाट समाधान गर्न तयार रहेको बताए ।

उनले भने, ‘ममाथि लगाइएका सबै आरोप झूट हुन् । मैले सबै वडालाई समान रूपमा हेरेको छु र,’ उनले भने, ‘त्यहीअनुसार व्यवहार पनि गरिरहेको छु ।’ तर, सीमित व्यक्तिको उक्साहटमा जनप्रतिनिधि विरोध उत्रिनु राम्रो नभएको उनी बताउँछन् । समस्या समाधानका लागि आन्दोलनरत पक्ष र गाउँपालिका पक्षबीच आइतबार बेलुका वार्ता भएको थियो ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?