१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कृत्रिम खुट्टाले खुसी दियो

माधव ढुंगाना

भैरहवा — खुट्टा गुमाएर निराश बनेका मुलुकभरका ६२ जनाको ओठमा मुस्कान छाएको छ । खर्च गरेर कृत्रिम खुट्टा जोड्न नसक्ने उनीहरू नि:शुल्क मिल्ने खबरले उनीहरू हौसिएका छन् । यहाँ आएर उनीहरूले खुट्टाको नापो पनि प्राविधिकलाई दिइसकेका छन् ।

कृत्रिम खुट्टाले खुसी दियो

रूपन्देहीको भैरहवा र बुटवलस्थित मारवाडी युवा मञ्चले नि:शुल्क कृत्रिम खुट्टा उपलब्ध गराउने भएपछि उनीहरूको मुहार हँसिलो बनेको छ । भैरहवास्थित मारवाडी सेवा भवनमा यस्ता व्यक्तिको खुट्टाको नापजाँचका साथै अन्य प्राविधिक तयारी पूरा भएको छ । मञ्चको मूलमन्त्र ‘सेवा नै धर्म हो’ भन्ने रहेको छ ।

विभिन्न कारणले खुट्टा गुमाएकालाई नि:शुल्क कृत्रिम खुट्टा उपलब्ध गराउन लागिएको हो । त्यसका लागि सम्बन्धित व्यक्तिको दर्ता र विशेषज्ञद्वारा नापजाँच पूरा गरिएको कार्यक्रमका संयोजक अरुण अग्रवालले बताए । उनका अनुसार ५० जनालाई नि:शुल्क कृत्रिम खुट्टा उपलब्ध गराउने लक्ष्य थियो । तर, मुलुकका विभिन्न स्थानबाट नापजाँचमा १ सय ५ यस्ता व्यक्ति आए ।

‘नपाजाँच भएकालाई दसैंअघि नै उपलब्ध गराउने तयारीमा छौं,’ अग्रवालले भने, ‘यसपटकको दसैं सबैले दुवै खुट्टाले टेकेर हर्सोल्लाससाथ मनाउने वातावरण बनाउनेछांै ।’ मञ्च र मारवाडी सेवा समिति काठमाडौंको सहयोगमा कृत्रिम खुट्टा वितरण गर्न लागिएको हो । कृत्रिम खुट्टा घुँडादेखि मुनि, घुँडाभन्दा माथि र कम्मरसम्म गरी तीन किसिमका छन् । यसको निर्माण लागत घुँडाभन्दा मुनिको ३७ हजार, घुँडाभन्दा माथिको ६७ हजार र कम्मरसम्मको १ लाख १७ हजार रुपैयाँ रहेको छ ।

समितिले मुलुकभर अहिलेसम्म २ हजार २ सयभन्दा धेरैलाई यस्ता खुट्टा वितरण गरिसकेको छ । नि:शुल्क उपलब्ध हुने जानकारी पाएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिका ८ का ३५ वर्षीय भक्तबहादुर रोकाय पनि यहाँ आएका छन् । पाल्पा मदन पोखराका दीर्घबहादुर कार्की मधुमेहका कारण एक वर्षअघि गुमाएको खुट्टा जोड्नका लागि छोराका साथमा आएका छन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?