किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा

‘मलाई ज्यानको जोखिम पनि देखिएको छ’
भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । 

किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।

उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन् । उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको बताए । ‘म्याद थप भएपछि मैले समितिमा बसिरहन उपयुक्त ठानिनँ,’ केसीले भने, ‘मलाई ज्यानको जोखिम पनि देखिएको छ ।’


केसीले १५ दिन म्याद थप्दा कानुनी समस्या समेत आउने विज्ञप्तीमा उल्लेख गरेका छन् । समितिको १५ दिनको म्याद आइतबार समाप्त भएको हो । २५ दिन भन्दा बढी हिरासतमा राख्न नपाइने कानुनी प्रावधानले समयमा प्रतिवेदन पेश नगर्दा अपराधी उम्कन सक्ने प्रबल सम्भावना रहेको विज्ञप्तीमा उल्लेख छ । उनले समितिबाट राजीनामा दिएको कुरा हुलाकमार्फत संयोजक र गृह मन्त्रालयमा पठाएको बताए ।

केसीले यस विषयमा छानबिन समितिका संयोजक हरिप्रसाद मैनाली र गृह मन्त्रालयमासमेत जानकारी गराएको बताए ।


उनले भदौ १८ मै सरकारसमक्ष जिम्मेवारीबाट हटेको जानकारी दिन निवेदन पेश गरे पनि संयोजकको आग्रह र सल्लाह बमोजिम समितिमा पुन: छानबिनमा संलग्न भएको बताए ।

प्रकाशित : भाद्र २५, २०७५ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?