कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परम्परागत चिकित्सा पद्धति बचाउन आग्रह

अतुल मिश्र

काठमाडौँ — विशेषज्ञहरूले परम्परागत चिकित्सा पद्धतिको घाँटी निमोठ्ने गरी नेपाल चिकित्सक संघसँग भएको सहमतिका केही बुँदा खारेज गर्न माग गरेका छन् ।

परम्परागत चिकित्सा पद्धति बचाउन आग्रह

रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयर (रेस्फेक) द्वारा सोमबार आयोजित कार्यशालामा विशेषज्ञहरूले सहमतिका बुँदाले परम्परागत चिकित्सा पद्घतिको घाँटी निमोठ्ने दाबी गरे । भदौ १ देखि लागू मुलुकी अपराध संहिताको परिच्छेद–१९ मा इलाजसम्बन्धी कसुरअन्तर्गत चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानुनबमोजिम अधिकारप्राप्त अधिकारीले मात्र इलाज गर्न पाउने व्यवस्था छ ।


यसकै उपदफा १ मा ‘जुनसुकै कुरा लेखिएको भए पनि लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अंगलाई कुनै प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा, चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन’ भनेर परम्परागत चिकित्सापद्घति गर्नेलाई उपचार गर्न छुट दिइएको छ । तर स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीच भदौ २८ गते भएको सहमतिमा मुलुकी अपराध संहिता, परिच्छेद–१९, इलाजसम्बन्धी कसुरको २३० को उपदफा २ खारेज गर्ने भनिएको छ ।


खारेज गर्ने कारणमा भने चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँ–गाउँसम्म पुगिसकेको परिप्रेक्ष्यमा बिनाशैक्षिक योग्यता तथा बिनादर्ता उपचारमा संलग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने भनिएको छ ।


आयुर्वेद र पारम्परिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन सूचना केन्द्र र डिजिटल पुस्तकालयको विकास विषयक कार्यशालामा आयुर्वेद क्याम्पस कीर्तिपुरका प्रमुख डा.शिवमंगल प्रसादले मन्त्रालयले गरेको सहमति आधुनिकताको नाममा परम्परागत चिकित्सा पद्घतिलाई विस्थापित गर्ने षडयन्त्र भएको बताए ।


संसदमा छलफलमा रहेको जनस्वास्थ्य सेवा ऐनको दफा २२ को २ मा परम्परागत चिकित्साकर्मीले निश्चित मापदण्ड पूरा गरेर स्थानीय तहबाट स्वीकृति लिई काम गर्न पाउने व्यवस्था छ ।


नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलका रजिस्ट्रार डा.नारायण श्रेष्ठले सरकारले गरेको सहमतिले परम्परागत चिकित्सा पद्घतिको घाँटी निमोठ्ने बताए । ‘यो हाम्रो मौलिक पद्घति हो, यसलाई स्थान नदिँदा परम्परागत चिकित्सा विधा र हाम्रो सम्पदा नै लोप हुन्छ ।’


डा. दीपककुमार मण्डलले सरकारले गरेको सहमति गलत रहेको बताए । डा.शरद वन्तले आयुर्वेद र परम्परागत स्वास्थ्य प्रणाली मुलुकको आवश्यकता भएको धारणा राखे । रेस्फेकका निर्देशक शान्तालाल मुल्मीले परम्परागत स्वास्थ्यकर्मीले आफ्नो ज्ञानलाई झूटको आवरणमा बेरेर व्यापार गर्न नहुने बताए ।


प्रकाशित : भाद्र २५, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?