कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘सुस्त’ बालिकालाई गर्भनिरोधक सुई

फातिमा बानु

काठमाडौँ — जन्मँदा उनको अवस्था सामान्य थियो । हुर्कंदै जाँदा आम शिशुभन्दा फरक देखिइन् । टाउको सानो, अनुहार चेप्टो अनि व्यवहार एकोहोरो । बिस्तारै बोल्न, हिँड्न या कुनै पनि प्रतिक्रिया जनाउन नसक्ने भइन् । चिकित्सा विज्ञानका अनुसार यस्तो अवस्था डाउनसिन्ड्रोम (बौद्धिक अपांगता) हो ।

‘सुस्त’ बालिकालाई गर्भनिरोधक सुई

उनी पूर्ण रूपले सहयोगीमा निर्भर छिन् । सहाराका नाममा आमा छिन् । उनकै पालपोषणका लागि ज्यालामजदुरी गर्ने आमाले उनलाई हेरिरहने फुर्सद पाउँदिनन् । बुबाले पाँच वर्षअघि नै संसारबाट बिदा लिइसके ।


आर्थिक रूपले कमजोर परिवारमा जन्मिएकी उनको पीडा यतिमै सकिँदैन । भर्खरै १५ वर्ष लागेकी उनी गर्भनिरोधक तीन महिने सुई नियमित लगाइरहेकी छन् । बच्चा जन्माउन नचाहँदा या जन्मान्तर बढाउन यस्ता परिवार नियोजनका साधन प्रयोग गरिन्छ । ज्यालामजदुरीका लागि आफू दिनभरि घरबाहिरै बस्नुपर्ने हुँदा छोरीको सुरक्षाका लागि यस्तो उपाय अपनाउने गरेको उनकी आमा बताउँछिन् । भनिन्, ‘यसलाई हेर्न घरमा अरू कोही छैन, एक दिन फर्किंदा तलबाट रगत बगेको देखें अनि यस्तो उपाय निकालें ।’ यस्तो अवस्था देखेपछि उनले छोरी बलात्कृत भएको अडकल काटिन् । त्यसपछि जबरजस्ती करणीबाट गर्भ बस्ला भन्ने डरले तीन महिने सुई लगाइदिने गरेको उनले बताइन् ।


सुरुमा उनी छोरीलाई कोठामा थुनेर काममा जान्थिन् । घर फर्किंदा एकै ठाउँमा दिसापिसाब गर्ने, अचेत हुने भएपछि थुनेर हिँड्न नसकेको उनले सुनाइन् । छोरीको अवस्था हेर्दा बलात्कृत नै भएको हो भन्नु उनको शंका मात्रै हो । प्रतिक्रिया जनाउन नसक्ने छोरीले यसबारे जति सोध्दा पनि केही बताउन सक्दिनन् । ‘बलात्कारको सिकार भइहालिछ भने पनि गर्भवती नहोस् भनेर नियमित तीन महिने सुई लगाइदिएर काममा जाने गरेकी छु,’ उनले भनिन् ।


चार वर्षअघि राजधानीबाहिरकी यस्तै अवस्थाकी एक युवतीले जबरजस्ती करणीबाट शिशु जन्माइन् । घरमा छोडदा असुरक्षित ठानेर आमा उनलाई काम गर्ने ठाउँसम्मै लैजान्थिन् तर आमाले काम गर्ने ठाउँमै बलात्कृत भइन् । उनलाई गर्भवती बनाउने व्यक्ति पनि पत्ता लागेन । उनीहरूले कतै उजुरी पनि गरेनन् । सुरक्षित गर्भपतनबारे थाहा नभएकाले पनि नचाहँदा नचाहँदै शिशु जन्मियो ।

काखमा शिशु भए पनि युवती बलात्कारबारे बुझ्न सक्दिनन् । युवतीकी आमाले अपांगता भएकी छोरी र नातिनीको लामो समय स्याहार गरिन् तर गतिलो लालनपालन हुन नसक्दा शिशुको मृत्यु भयो । उनी भन्छिन्, ‘छोरीको पेट बढ्न थालेपछि हामीलाई गाउँमा बस्न दिएनन्, त्यहाँ हाम्रा लागि बोलिदिने पनि कोही भएन ।’ हाल उनीहरू ललितपुरको एक इँटाभट्टामा मजदुरी गर्छन् । त्यहीँ बस्छन्, जहाँ उनीहरू सुरक्षित महसुस गर्न सकिरहेका छैनन् ।


बौद्धिक अपांगता भएका बालिकाको सुरक्षाका लागि गर्भनिरोधक तीन महिने सुई लगाइदिने गरेका भए पनि अभिभावकहरू यसबारे खुल्न नमान्ने अपांगता महासंघकी उपाध्यक्ष टीका दाहाल बताउँछिन् । उनी भन्छिन्, ‘प्रहरीसम्म उजुरी दिन जान मान्दैनन् ।’ प्रमाण जुटाउन गाह्रो हुने हुँदा यस्ता घटना कानुनी रूपमा सम्बोधन गर्न अप्ठेरो भइरहेको उनले बताइन् । भन्छिन्, ‘बलात्कार भइहाले अदालतसम्म पुगेका घटनामा पीडित बालिकाले आफंै बयान दिनुपर्ने हुन्छ, पीडितकै मुखबाट दिएको बयानलाई मात्रै कानुनले प्रमाण मान्छ, आफूमाथि हिंसा भएको हो भन्ने थाहा नपाउनेले कसरी बयान दिनु र न्याय पाउनु ?’


गत वर्ष नेपाल अपांग महासंघमा महिला हिंसाका २९ उजुरी परे, जसमध्ये १९ जबरजस्ती करणीका छन् ।


डाउन सिन्ड्रोम जन्मजात देखिने एक समस्या हो । उमेर बढे पनि यस्ता व्यक्ति बच्चाको झैं व्यवहार गर्छन् । आफूलाई हानिनोक्सानी हुने कुरा थाहा पाउँदैनन् । उनीहरूमा बौद्धिक क्षमता र शारीरिक विकास ढिलो हुन्छ । यस्तो अवस्थामा हरपल निगरानीमा राख्नुपर्छ । जुनैबेला पनि हेरेर, कुरेर बस्न नभ्याउनेले यस्ता व्यक्तिलाई बाँधेर, थुनेर राख्ने गरेको पनि भेटिन्छ । हरबखत निगरानी राख्न नसक्ने परिवारका यस्ता बालिका यौनहिंसा र बलात्कारको सिकार हुने गरेका छन् । अधिकांश बालिकालाई माया गर्ने नाममा नजिकैका आफन्त र छिमेकीबाट बढी यौन दुव्र्यवहार गर्ने गरेको यस क्षेत्रमा कार्यरतहरू बताउँछन् ।


स्कुलहरूले भर्ना नलिने हुँदा अधिकांश यस्ता बालबालिका शिक्षाबाट पनि वञ्चित छन् । राज्यस्तरबाट उनीहरूका लागि विशेष विद्यालय छ तर ती सबैको पहुँचमा छैन । बालिकाको सुरक्षाकै लागि भनेर कति अभिभावकले रोजगारी नै छोड्ने गरेका छन् । कतिपय अभिभावक त यस्ता बच्चाको उचित लालनपालन, उपचार र सुरक्षाका लागि थातथलो छाडेर सहर जाने गरेका छन् ।


डाउनसिन्ड्रोम एसोसिएसनकी अध्यक्ष डा.ललिता जोशी भन्छिन्, ‘अभिभावकको हेरचाह र निगरानीमा नहुँदा यस्ता बच्चा सुरक्षित छैनन्, उनीहरूलाई माया गरेजस्तो गरेर फकाउन पनि सजिलो छ, हिंसा गर्न सहज छ ।’ सरकारले यस्ता बालिकाको सुरक्षा र सहयोगीको व्यवस्था गरिदिनुपर्ने उनी बताउँछिन् । फकाएर हिंसा गरिने हुँदा उनीहरूले हिंसा भनेर पनि नबुझ्ने र भन्न नसक्ने जोशी बताउँछिन् ।


यस्ता बालिकामाथि हुने यौनहिंसाका घटना प्रहरी र अदालतसम्म पुग्न पनि कठिन भएको अधिकारकर्मीहरू बताउँछन् । ‘ढिला उजुरी हुने हुँदा मेडिकल जाँचमा प्रमाण भेटिँदैन, मुद्दा त्यसै कमजोर हुन्छ । उजुरी भइहाले पनि अधिंकाश घटना मिलेमतोमै टुंगिने गरेका छन्,’ अपांगता अधिकारकर्मी देवकुमारी पराजुली भन्छिन् । उनका अनुसार घटना अदालतसम्म पुगिहाले पनि यस्तो अवस्थाका व्यक्तिले मौखिक बयान दिन सक्दैनन् । ‘सांकेतिक बयानका लागि अदालतमा दोभासेको व्यवस्था छैन, जसले गर्दा निकै कमले मात्रै न्याय पाउने गरेका छन्,’ पराजुलीले भनिन्, ‘संरक्षकको बयानलाई वैधानिकता दिइँदैन, जसले गर्दा पीडकले उन्मुक्ति पाइरहेका छन् ।’


नेपालमा ५ लाख १४ हजार व्यक्तिमा अपांगता भएकामा तीन प्रतिशतमा बौद्धिक अपांगता छ । यस्ता बालिका र किशोरी कति छन् भन्ने यकिन तथ्यांक छैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ८ सयमध्ये एक जनामा डाउनसिन्ड्रोम देखिन्छ । संगठनका अनुसार जन्मजात विभिन्नखाले अपांगता लिएर जन्मने ४५ हजार शिशुमध्ये १५ सयमा यस्तो समस्या देखिने गरेको छ । वैज्ञानिक अध्ययनअनुसार केही हदसम्म यो वंशानुगत समस्या हो भने ३५ वर्षभन्दा माथि उमेरका व्यक्तिबाट जन्मने शिशुमा डाउनसिन्ड्रोम हुने सम्भावना उच्च हुन्छ । समयमै पहिचान गरी उपचार थाल्ने हो भने उनीहरूको सुधार हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?