कांग्रेस कार्यसमिति संख्यामा विवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको आकार कत्रो बनाउने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको छ । सहमति नभएपछि विधान संशोधन मस्यौदा उपसमितिले छुट्टाछुट्टै प्रारम्भिक मस्यौदा मंगलबार केन्द्रीय समितिलाई बुझाउँदै छ ।

संंस्थापन पक्षले १ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउन प्रस्ताव गरेको छ भने पौडेल पक्षले १ सय १ सदस्य राख्नुपर्ने अडान लिएको छ । सहमतिका लागि १ सय ११ सम्म जान पौडेल पक्ष तयार भए पनि संस्थापनले १ सय ३१ सदस्यमै सहमति खोजेको थियो । संस्थापन पक्षले २ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री, १ कोषाध्यक्षका साथै वरिष्ठ नेतालाई पनि पदाधिकारीकै हैसियतमा राख्न प्रस्ताव गरेको छ । यसअघि वरिष्ठ नेताको व्यवस्था विधानमा थिएन ।


पौडेल पक्षले ३ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष राख्न प्रस्ताव गरेको छ । दुवै पक्ष १४ औं महाधिवेशनलाई केन्द्रमा राखेर आफ्नो अनुकूल विधान बनाउने प्रयासमा जुटेका छन् । हाल उपसभापति र सहमहामन्त्री १/१ तथा महामन्त्री २ जना छन् । ३ उपसभापति बनाउन सकिए सभापतिका आकांक्षीलाई व्यवस्थापन गर्न सकिने रणनीतिसाथ पौडेल पक्षले तीन उपसभापति प्रस्ताव गरेको हो ।

Yamaha

१४ औं महाधिवेशनका लागि पौडेल पक्षबाट पाँचभन्दा बढी सभापतिका आकांक्षी छन् तर संस्थापनमा सभापति देउवा एक्ला प्रतिस्पर्धी छन् । संस्थापन पक्षमा विमलेन्द्र निधि उपसभापति छन् । तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका विजयकुमार गच्छदारको व्यवस्थापनका लागि थप एक उपसभापति संस्थापन पक्षलाई आवश्यक छ ।

पौडेल पक्षले एक उपसभापति र एक महामन्त्रीबाहेक अन्य पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने प्रस्ताव गरेको छ तर संस्थापन पक्षले हाल निर्वाचित सभापति, एक महामन्त्री र कोषाध्यक्षको मात्रै निर्वाचन हुनुपर्ने प्रस्ताव छ । विधान मस्यौदा समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले केन्द्रीय कार्यसमितिको आकारमा फरक–फरक विचार आएको बताए । ‘पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको आकार १ सय ३१ बनाउने प्रस्ताव आएको छ, अर्को थरी विचार अलि कम होस् भन्ने पनि छ,’ लेखकले भने, ‘नेताहरूसँग छलफल गरेर टुंगो लगाइन्छ ।’

प्रकाशित : भाद्र २६, २०७५ ०७:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बारेकोटमा मोटो चामल किन्नै हानथाप

प्रतिकिलो ८० रुपैयाँ
स्थानीयद्वारा नि:शुल्क खाद्यान्नको माग
भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिकामा ३ महिनादेखि खाद्य अभाव देखिएको छ । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न सडक नहुनु, असिनाले हिउँदे बाली नष्ट र खाद्य संस्थानको डिपोमा चामल नहुँदा अभाव भएको हो ।

जाजकोट खलंगास्थित खाद्य संस्थानको रित्तो गोदाम । तस्बिर : भीमबहादुर 


संस्थानको बारेकोट घाटस्थित डिपोमा २ महिनादेखि चामल नहुँदा स्थानीय बासिन्दाले खाद्य अभाव झेल्नुपरेको छ । वैशाख दोस्रो साता आएको असिनापानीले बारेकोटमा लगाइएका हिउँदे बाली नष्ट बनाएको थियो । वर्षे बाली नपाक्दा स्थानीयले खाद्य अभाव झेल्नुपरेको हो । त्यसैमा गत साउन अन्तिम साता आएको बाढीले झुम्रेखोलालगायत पुल बगाउँदा र ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएपछि बारेकोटतर्फ खाद्यान्न आपूर्तिमा समस्या देखिएको छ ।

खोला तथा सडक अवरुद्धले बारेकोट नाकाबन्दीमा परेको वीरेन्द्र–ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए । घाट डिपोमा चामल नपाउँदा, असिनाले अन्न बाली पूर्णरूपमा नष्ट गर्दा र बाहिरबाट आपूर्ति गर्ने बाटो नहुँदा खाद्य अभाव भएको उनले बताए । संस्थानको डिपोमा चामल पाउन छाडेको २ महिना बितेको सिंहले जनाए । ‘डिपोमा चामल पनि पाइँदैन, नायब सुब्बा रुद्रप्रसाद देवकोटालगायत कर्मचारी पनि १ महिनादेखि सम्पर्कविहीन छन्,’ उनले भने, ‘चामल लिन डिपो पुगेका सर्वसाधारण रित्तो फर्कन बाध्य छन् ।’

खलंगा, रिम्नालगायत स्थानबाट ढुवानी गर्ने बाटो नहुँदा स्थानीय बजारमा चामल पाउन छाडेको स्थानीयको भनाइ छ । हुने खानेले डिपोमा चामल आउनेबित्तिकै चाहिनेजति किनेर भण्डारण गर्दा दैनिक मजदुरी गरी खानेलाई खाद्य जोहो गर्न समस्या हुने बारेकोट ३, का जनक रोकायले बताए । बारेकोटमा खाद्यान्न आपूर्तिका लागि गोरेटो बाटो मर्मत तथा विभिन्न खोलामा पुल निर्माण नभएसम्म समस्या भइरहने उनको भनाइ छ । ‘खच्चडले खाद्यान्न ढुवानी गर्ने बाटो नै छैन,’ उनले भने, ‘सडक सञ्जालले नछोएको बारेकोटमा ढुवानीको साधनमा घोडा, खच्चडको विकल्प छैन ।’

‘यतिबेला बारेकोट क्षेत्रका रामीडाँडा, नायकबाडा, सक्ला, रोकायगाउँलगायत दुई दर्जन गाउँका २० हजार स्थानीय बासिन्दाले खाद्य अभावको समस्या बेहोर्नुपरेको छ,’ रोकायले भने, ‘खाद्यान्न अभाव भएपछि स्थानीय बासिन्दा ५० रुपैयाँ पर्ने मोटो चामल पनि प्रतिकिलो ८० रुपैयाँमा किनेर गुजारा चलाउन बाध्य छन् । गरिबका लागि डिपोमा कहिल्यै पनि चामल नपाइने बारेकोट २ का वीरबल बिटालु बताउँछन् । संस्थानको अनुदानको चामल नपाउँदा विपन्नले बजारको महँगो चामल किनेर गुजारा चलाउने गरेको बिटालुले जनाए । ‘बारेकोट क्षेत्रमा धानलगायत अन्न कम उत्पादन हुन्छ, खाद्यको डिपो छ, चामल पाइँदैन,’ उनले भने, ‘घाट डिपोमा वर्षमा १/२ पटकभन्दा बढी चामल पाउने आसै नगरे हुन्छ ।’ उनका अनुसार खाद्य संस्थान र सम्बन्धित ढुवानी व्यवसायीको लापरबाहीले डिपोमा चामल नपुग्ने गरेको हो ।

खाद्य अभाव भएपछि बारेकोटका बासिन्दाले तत्काल नि:शुल्क ५ हजार क्विन्टल चामल माग गरेको संस्थानका शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताए । खाद्य अभावलाई मध्यनजर गर्दै जिल्ला खाद्य व्यवस्थापन समितिको बैठकले यही भदौ मसान्तसम्म घाट डिपोमा १२ सय क्विन्टल चामल ढुवानी गर्ने व्यवस्थाका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको बस्नेतको भनाइ छ । घाट डिपोसम्म चामल ढुवानी गर्न बाटोको पनि समस्या भएको बस्नेत बताउँछन् ।

गत आवको कोटा सकिएको र चालु आवकोठेक्का स्वीकृति नहुँदा डिपोमा चामल अभाव भएको उनले बताए । ‘खलंगास्थित गोदाममा ३ सय ६१ क्विन्टल चामल मौज्दात छ, तत्काल चामल आपूर्तिका लागि स्थानीयबाट माग आएको छ,’ उनले भने, ‘घाट डिपोमा १० हजार क्विन्टल चामल पनि खपत हुने अवस्था आएको छ ।’ गत आवमा घाट डिपोबाट २ हजार क्विन्टल चामल वितरण भएको उनले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ ०७:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT