चार किलोमा ठूलो पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो खसेका कारण रातिदेखि नै उक्त सडक खण्ड अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार मंगलबार दिउँसाेसम्म यातायात संचालनमा अाउने सम्भावना न्यून छ ।

फाइल तस्बिर

उक्त क्षेत्रमा रातिदेखि नै ठूलो पानी परिरहेको छ । ‘राति एक बजेयता गाडी चल्न सकेका छैनन्,’ खनालले भने ।

Yamaha

चार किलोमा ठूलो पहिरो खस्नुका साथै जलबिरे क्षेत्रमा साना पहिरोहरु गएका छन् । निकै ठूलो पानी परेका कारण पहिरो हटाउने काम सुरु गर्न नसेकेको उनले बताए । ‘अन्यत्रको पहिरोको समस्या त्यति ठूलो हैन तर चार किलोको पहिरो सफा गरेर गाडी चलाउन कम्तिमा पनि दिउँसोको तीन बज्ने अवस्था छ,’ सूचना अधिकारी खनालले भने, ‘पानी कति बेला रोकिएला भनेर कुरेर बसेका छौं । पानी रोकिए फिस्लिङबाट मगाएको उपकरण र हामीसँग भएको उपकरणले सफा गरेर दिउँसो तीन बजेसम्म बाटो खुलाउने प्रयास रहनेछ ।’

पहिरोले सधैजसो अवरुद्ध हुँदै आएको यो सडकमा साउन २१ यता आज ठूलो पहिरो गएको हो । दैनिक १० हजार गाडी ओहर–दोहर गर्ने यो सडक अवरुद्ध हुदाँ यात्रु अलपत्र परेका छन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भुजुङमा भदौसभा

आश गुरुङ

लमजुङ — स्थान : क्व्होलासोंथर गाउँपालिका–४, भुजुङ गाउँबीचको ठाँटी । पात्र : गाउँले दृश्य : वरिपरि गाउँले । बीचमा तामाको ताउलो । ताउलोमा खुकुरी र पाती राखिएको छ । गाउँले पालैपालो ताउलो र खुकुरी समाउँछन् । अनि भन्छन्, ‘म साँचो बोल्छु । साँचोबाहेक केही बोल्दिनँ । झूटो बोलेको ठहरिए सहुँला, बुझाउँला ।’

लमजुङको क्व्होलासोंथर गाउँपालिका–४, भुजुङमा आयोजित भदौसभामा तामाको ताउलो र ताउलोमा राखिएको खुकुरीको धार समातेर कसम खाँदै स्थानीय । तस्बिर : कान्तिपुर

दृश्यले अदालतमा अभियुक्तले धार्मिक ग्रन्थ छोएर कसम खाएको झल्को दिन्छ । उनीहरू थप वाचा गर्छन्, ‘मेरो बालबच्चाले कसैको चोरेको, बिगारेको छैन । मेरो डिंगा (चौपाया) ले कसैको बालीनाली खाएको छैन । बन्देज लगाएका ठाउँमा गएको छैन । थाहा नपाई अन्जानमा गल्ती भए सभाले जे निर्णय गर्छ, सहन्छु ।’ पर्यटकीय गाउँ भुजुङमा शुक्रबारदेखि सुरु ‘भदौसभा’ को दृश्य हो यो । सोमबार सकिएको भदौसभामा आइतबारसम्म करिब ४ सय गाउँलेले तामाको ताउलो र खुकुरीको धार समाएर यस्तो कसम खाइसकेका छन् ।


मकै थन्क्याएर कोदो रोपिसकेपछि भदौ अन्तिममा गरिने भएकाले यसलाई ‘भदौसभा’ भनिन्छ । सभामा तामाको ताउलो र खुकुरीको धार समातेर कसम खानुलाई स्थानीय ‘धर्म समात्ने’ भन्छन् । क्व्होलासोंथर गाउँपालिका–४, भुजुङमा सदियौंदेखि चलिआएको परम्परा हो ‘भदौसभा ।’


रीतिथिति व्यवस्थापन समितिको आहवानमा बसिने भदौसभाले वर्षभरिको नीति–नियम तथा काननु बनाउँछ । समिति अध्यक्ष कालबहादुर गुरुङका अनुसार सभामा बनाइएको नीति–नियम गाउँलेले वर्षैभरि मान्नुपर्छ । कुनै नियम परिवर्तन गर्नुपरे गाउँका चिवा (ठूलाबडा) जम्मा भएर संशोधन गर्ने चलन पनि छ । ‘हाम्रो छुट्टै परम्परा र चालचलन छ, सामाजिक तथा सांस्कृतिक मान्यता छ,’ उनले भने, ‘यसलाई बाहिरबाट हस्तक्षेप हुन नदिन हामी गाउँभित्रै कानुन बनाउँछौं ।’


साबिक भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार सभामा प्रत्येक घरबाट घरमुली अनिवार्य उपस्थित हुनुपर्छ । नत्र जरिवाना तिराइन्छ । ‘वर्षभरि आफ्नो परिवारले कसैमाथि नराम्रो नगरेको, नसोचेको, अधर्म नगरेको, चोरी–डकैती नगरेको, बन्देज लगाइएका ठाउँमा चौपाया नछोडेको, वस्तुभाउलाई अरूको खेतीबालीमा पस्न नदिएको र अबको वर्ष पनि त्यस्तो हुन नदिने कसम खाइन्छ,’ उनले भने, ‘कसैले गल्ती गरिहाले जरिवाना तिर्नुपर्छ ।’ गुरुङका अनुसार गाउँले सबैजना ठाँटीमा भेला भएर सभा बस्छन् । गन्यमान्य व्यक्ति अग्रपंक्तिमा रहन्छन् । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि सभामा उनीहरूलाई समेत राखिएको छ ।


वडाध्यक्ष खिमबहादुर गुरुङले पहिले भदौसभा गर्न एक साता लाग्ने गरेकोमा पछिल्लो समय ३/४ दिनमा सकिने गरेको बताए । ‘गाउँ पहिलेजस्तो छैन । असहमति, झगडा तथा नबुझेकाले एक सातासम्म सभा लम्बिन्थ्यो,’ उनले भने, ‘अहिले छिटोमा ३/४ दिनमा सक्ने गरेका छौं ।’


उनका अनुसार यस वर्षको सभा शुक्रबारदेखि सोमबारसम्म गरियो । ‘हामीले बनाएको कानुन पालना गर्छौं । कार्यान्वयन गर्छौं । कतिपय कानुन बाहिरबाट गाउँ भित्रिने जोकसैलाई लाग्न सक्छ,’ गुरुङले भने, ‘हाम्रो कानुनले अवैध ठानेका कार्य गर्ने छुट कसैलाई पनि छैन ।’ गाउँको कानुनले विशेष परिस्थितिबाहेक रोधी बस्न पहिल्यैदेखि बन्देज लगाएको छ । कोही बस्न आए कारबाही गरिने उनले बताए ।


लालीगुराँस युवा क्लबका सचिव यमबहादुर गुरुङका अनुसार सभाले श्रमज्याला, दैनिक उपभोग्य वस्तुको मूल्य निर्धारण, चोरी–डकैती गर्नेलाई कारबाही तथा राम्रो काम गर्नेलाई स्याबासी दिन्छ ।


गाउँमा उत्पादित धान, मकै, कोदोलगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला, घिउ–महको मूल्य, चोया तथा ऊनद्वारा निर्मित विभिन्न हस्तकला सामग्रीको मूल्य तोकिन्छ । ‘यो हाम्रो आन्तरिक मामिला हो । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका कानुनसँग नबाझिने गरी आफ्नो कानुन बनाउँछौं,’ निवर्तमान गाविस अध्यक्ष गुरुङले भने ।

प्रकाशित : भाद्र २६, २०७५ ०७:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT