१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

खुट्टाको भरले पढाइ र संगीत

कृत्रिम हात लगाउने खर्च जोहो गर्नकै लागि रूपा गायनमा लागेकी छन्
अमृता अनमोल

बुटवल — चार वर्षको उमेरमै करेन्ट लागेर रूपा रौतारले दुवै हात गुमाइन् । कुममुनि हात छैन । त्यसैले खुट्टाको सहारामा जीवन बिताइरहेकी छन् । खुट्टैले खाने र लेख्ने गर्छिन् ।

खुट्टाको भरले पढाइ र संगीत

कपिलवस्तुको वाणगंगाकी १६ वर्षीया यी किशोरी खुट्टाले लेखेर बुटवलको दीप बोर्डिङ स्कुलमा ८ कक्षामा अध्ययन गर्छिन् । पढाइमा अब्बल उनलाई विद्यालयले नि:शुल्क पढाइरहेको छ ।


खुट्टाले चित्र कोर्छिन् । आफ्नो काम आफैं गर्छिन् । आफैं नुहाउँछिन् । लुगा धुन्छिन् । मोबाइल चलाएरै प्रविधिमैत्री बनेकी छन् । उनको खुबी यत्तिमा सीमित छैन । उनको स्वर झन् मधुर छ । त्यही स्वरमा मन्त्रमुग्ध हुने गरी गीत गाउँछिन् ।


स्थानीय बागेश्वरी संगीतालयमा संगीत प्रशिक्षणसँगै आफ्नो गायकी क्षमता बढाएकी छन् । तर, गीत गाएर चर्चित बन्ने रहर भने उनमा छैन । ‘करेन्टले चुँडिएका मेरा हातको उपचार गर्न सकूँ,’ उनले सुनाइन्, ‘गीत गाएरै प्लास्टिक सर्जरीका लागि पैसा जुटाउने सोच छ ।’ चिकित्सकले नेपालमा कृत्रिम हात जडान गर्न नमिल्ने बताएपछि उनले संगीतको माध्यमबाट आर्थिक संकलन गरेर कृत्रिम हात जोड्ने सपना बुनेकी हुन् ।


विपन्न परिवारकी उनलाई धेरैले चन्दा उठाएर पैसा जुटाउन सल्लाह दिएका थिए । तर, उनले यो प्रस्ताव स्वीकार गरिनन् । बरू संगीतमै अभ्यस्त भइन् । हिम्मतको कदर गर्दै बागेश्वरी संगीतालयले सात वर्षदेखि नि:शुल्क प्रशिक्षण दिइरहेको छ । यस क्रममा विभिन्न महोत्सवमा आफ्नो गीत गाइसकेकी छन् । विभिन्न स्थानीय प्रतियोगिता जितेकी छन् । अहिले ‘हिम्मत भाकी छोरी’ एल्बम बजारमा ल्याएकी छन् ।


आइतबार बुटवलमा आयोजित विशेष कार्यक्रमबीच गायिका देविका बन्दनाले एल्बमको शीर्ष गीतको म्युजिक भिडियो विमोचन गरिन् । गीतमार्फत उनले अपांगतालाई हेयका रूपमा नभई चुनौतीका रूपमा लिनुपर्ने सन्देश दिइन् । रौतारको शीर्ष गीत नै ‘हिम्मत भाकी छोरी’ हो । रूपाले खुट्टाको सहाराले हिलोमा फूल रोपेकी छन् । त्यो फूल लहराएर फुल्छ । गीतको छायांकन यसमै गरिएको छ । गीतमा अभिनयसमेत रूपा आफैंले गरेकी छन् । त्यसमा अपांगता भएकाले पनि गर्न सक्ने काम देखाइएका छन् । केही अपांगता भएका बालबालिकाले गरेका सिर्जनात्मक कामलाई समेत म्युजिक भिडियोमा उतारिएको छ ।


म्युजिक भिडियोमा गीतका शब्दसँगै अपांगता भएकाले निभाएको भूमिका हेर्दा जोकोहीको मन कटक्क खान्छ । ‘हिम्मत भाकी छोरी’ गीत तेजप्रसाद पाण्डे र सरला गाहाले रचना गरेका हुन् । गीतमा सुरेश सेन्चुरीले संगीत भरेका छन् । म्युजिक भिडियोलाई यम पुनले निर्देशन गरेका हुन् । सम्पादन प्रेम नेपालीले गरे । बागेश्वरी संगीतालयले निकालेको गीति एल्बममा ६ गीत समावेश छन् ।


गायिका बन्दनाले रौतारको स्वर निकै राम्रो रहेको सुनाइन् । उनको हिम्मत र स्वरलाई सम्मान गर्दै कृत्रिम हातका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताइन् । संगीतकार सेन्चुरीले रौतारलाई कुशल गायिका बनाउन सके कृत्रिम हात राख्न सहज हुने बताए ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?