तथ्यांंकमा महिला: कहाँका अगाडि कहाँका पछाडि ?

जनकराज सापकोटा

काठमाडौँ — मुलुकको कुल जनसंख्यामा महिलाको हिस्सा ५१ दशमलव ५ प्रतिशत छ । धेरैलाई चासो हुन सक्छ, महिला र पुरुषको असन्तुलन सबभन्दा धेरै कुन प्रदेशमा छ ?

तथ्यांकअनुसार गण्डकी प्रदेशको कुल जनसंख्यामा महिला ५४.६ प्रतिशत छन् । यहाँ २४ लाख ३ हजार ७ सय ५७ महिलाको संख्या छ । महिलाको जनसंख्या सबभन्दा बढी भएको प्रदेश २ नम्बर हो । उक्त प्रदेशमा महिलाको संख्या २६ लाख ८६ हजार ४ सय ७ रहेको छ ।

प्रदेशको जनसंख्याका आधारमा महिला ४९.७ प्रतिशत छन् । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको वुमन इन नेपाल नामक प्रतिवेदनमा नेपालमा महिलाको सामाजिक, आर्थिक अवस्था जनाउने तथ्यांक समाविष्ट छ । यो प्रतिवेदनले पहिलोपटक महिलाको अवस्था र सामाजिक सूचकलाई प्रदेशस्तरीय रूपमा केलाएको छ ।

Yamaha

विभागले सन् २०११ मा गरेको जनगणना, विभिन्न मन्त्रालयले वार्षिक रूपमा प्रकाशित गरेको पछिल्लो प्रतिवेदनलाई आधार मानेर प्रदेशस्तरीय प्रतिवेदन निकालेको हो । उक्त तथ्यांकअनुसार प्राथमिक र निम्नमाध्यमिक तहमा विद्यालयमा उपस्थित हुने छात्राको संख्या सबैभन्दा उच्च गण्डकी प्रदेशमा छ ।

यहाँका ८९.५ प्रतिशत छात्रा विद्यालयमा उपस्थित हुने गरेको देखिन्छ । छात्राको विद्यालयमा उपस्थिति प्रदेश २ मा सबैभन्दा कमजोर देखिन्छ । प्रतिवेदनअनुसार प्रदेश २ का ६२.४ प्रतिशत छात्रा मात्रै विद्यालयमा उपस्थित देखिन्छन् ।

तथ्यांकले प्राथमिक तहको कक्षामा उपस्थित हुन योग्य २३ प्रतिशत छात्रा र २२.८ प्रतिशत छात्र विद्यालय बाहिर रहेको देखाउँछ । प्रदेश ५ का २५.४ प्रतिशत, कर्णाली प्रदेशका २०.७ प्रतिशत, प्रदेश १ का १७.२ प्रतिशत, प्रदेश ३ र कर्णाली प्रदेशका १४.८ प्रतिशत र गण्डकी प्रदेशमा सबभन्दा कम अर्थात् १०.५ प्रतिशत छात्रा प्राथमिक तहको शिक्षाको पहुँचबाहिर छन् ।

तथ्यांकले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको आमसञ्चारको पहुँचलाई पनि बाहिर ल्याएको छ । नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१४ लाई आधार मानिएको उक्त तथ्यांकले औसतमा नेपाली महिलाको सबैभन्दा धेरै पहुँच टेलिभिजनमा रहेको देखाएको छ भने सबैभन्दा कम पहुँच पत्रिकामा रहेको देखाएको छ । सबैभन्दा धेरै अर्थात् प्रदेश ३ का महिला पत्रिका पढ्ने सन्दर्भमा अगाडि छन् ।

३ नम्बर प्रदेशका ३९.१ प्रतिशत महिला सातामा कम्तीमा एक दिन भए पनि पत्रिका पढ्छन् । आमसञ्चारमा सबैभन्दा कमजोर पहुँच कर्णाली प्रदेशका महिलामा रहेको छ । यस प्रदेशमा जम्मा ५ प्रतिशत महिला मात्रै पत्रिकामा पहुँच रहेको छ भने २८.५ प्रतिशत महिलाको रेडियोमा पहुँच देखिन्छ । सबै प्रदेशभन्दा थोरै अर्थात् १२.७ प्रतिशत महिलाको टीभीमा पहुँच रहेको छ भने सबै प्रदेशभन्दा कम अर्थात् २.५ प्रतिशत महिलाको मात्रै तीनै थरी सञ्चार माध्यममा पहुँच रहेको छ ।

कर्णाली प्रदेशकै जस्तो कमजोर अवस्था प्रदेश २ का महिलाको पनि देखिन्छ । यस प्रदेशका जम्मा ५.७ प्रतिशत महिलाले साताको एकपटक पत्रिका पढेको देखिन्छ भने २७.७ प्रतिशत महिलाले रेडियो सुन्ने र ४९.६ प्रतिशत महिलाले टेलिभिजन हेर्ने गरेको देखिन्छ । यो प्रदेशका जम्मा ४.१ प्रतिशत महिलाको मात्रै तीनै थरी सञ्चारमा पहुँच रहेको छ । तीनै थरी सञ्चार माध्यमको सबैभन्दा कम पहुँच भने कर्णाली प्रदेशका महिलामा रहेको छ । उक्त प्रदेशमा जम्मा २.५ प्रतिशत महिलाको मात्रै तीनै थरी सञ्चार साधनमा पहुँच छ ।

कम्प्युटर र इन्टरनेटको प्रयोगमा पनि समग्रमा नेपाली महिलाको कमजोर पहुँच रहेको छ । १५ देखि २४ वर्ष उमेर समूहका कुल २१.७ प्रतिशत महिला कम्प्युटर र कुल १९.६ प्रतिशत महिला इन्टरनेटको पहुँचमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश ३ का ४४.९ प्रतिशत महिलाको कम्प्युटरमा पहुँच रहेको छ भने सबभन्दा कम पहुँच अर्थात् ६.१ प्रतिशत प्रदेश ६ का महिलाको छ ।

प्रदेश २ का जम्मा ९.६ प्रतिशत महिलाको कम्प्युटरमा पहुँच देखिन्छ । त्यस्तै कर्णाली प्रदेशका ६.८ प्रतिशत महिलाको इन्टरनेटमा पहुँच रहेको देखिन्छ भने प्रदेश २ का ८.२ प्रतिशत महिलाको इन्टरनेटमा पहुँच देखिन्छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अज्ञात रोगको प्रकोप: तीन बालकको मृत्यु, चार सयभन्दा बढी बिरामी

ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने र बिस्तारै शिथिल हुँदै बच्चाको मृत्यु भएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिअहेब डम्बरप्रसाद गुप्ताले बताए
अवधेशकुमार झा

राजविराज — सप्तरीको पूर्वोतरपिस्थत कञ्चनरूप नगरपालिकामा खुल्न नसकेको रोगका कारण तीन जना बालकको मृत्यु भएको छ । चार सय बिरामी परेका छन् । पछिल्लो १५ दिनको अवधिमा ती तीनै जना बालकको मृत्यु भएको हो ।

ज्वरो आउने,छाती दुख्ने,खोकी लाग्ने र बिस्तारै शिथिल हुँदै बच्चाको मृत्यु भएको कञ्चनरूप नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सिअहेब डम्बरप्रसाद गुप्ताले बताए । उनका अनुसार मृत्यु हुनेहरूमा कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवस बस्नेत,वडा नम्बर ३ का १४ वर्षीय किशोर राम र वडा नम्बर ९ का १४ वर्षीय आमोदकुमार राम छन् । मृत्यु भएका बालकहरूलाई सुरुमा उच्च ज्वरो आएको थियो ।


सिअहेब गुप्ताका अनुसार उनीहरूलाई पहिला स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार गराइएको थियो । तर उच्च ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि विराटनगर पठाइएका दुई जनाको उपचारका क्रममा तथा एक जनालाई उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । मृत्युपछि तीनै बालकको नाम र मुखबाट रगत निस्केको देखिएको गुप्ताले जनाए ।


सिअहेब गुप्ताका अनुसार कञ्चनरूप नगरपालिकामा उस्तै प्रकृतिको ज्वरोका कारण चार सय बिरामी छन् । ‘नगरपालिकाका विभिन्न वडामा अहिले ज्वरोका बिरामीको संख्या हवातै बढेको छ,’ सिअहेब गुप्ताले भने, ‘नगरपालिकाभित्र रहेको १० वटा स्वास्थ्य चौकीमा दैनिक २० देखि ३० जनासम्म ज्वरोका बिरामी आउन थालेको छ ।’


१५ दिनभित्रै तीन जना बालकको मृत्यु भएपछि स्वास्थ्यकर्मीहरूले उनीहरूको मृत्युको कारणबारे अनुसन्धान सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखा प्रमुख डा. प्रकास साहसहितको टोली र विश्व स्वास्थ्य संगठनकी डा. सन्ध्या भगत सहितको टोली तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको टोलीले कञ्चनरूपमा भएको बालकको मृत्यु कुन रोगका कारणले भएको हो त्यसको पत्ता लगाउन परीक्षण कार्य सुरु गरेका छन् ।


उक्त विशेशज्ञ सहितको चिकित्सकहरूको टोलीले आइतबार कञ्चनरूपमा स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । शिविरमा तीन बालकको मृत्यु भएको प्रकृतिकै ज्वरोबाट पीडित भएर आएका चार सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखा प्रमुख डा. प्रकास साहले जानकारी दिए ।


डा. साहले १५ दिनमा तीन बालकको मृत्यु भएपछि आफूहरू उनीहरूको मृत्यु कुन रोगका कारण भएको हो तथा अहिले कञ्चनरूप क्षेत्रमा हवातै बढेको ज्वरो कुन रोगको लक्ष्ण हो भन्ने विषयमा परीक्षण गरिरहेको बताए । उनले कञ्चनरूप क्षेत्रका १० जना बालबालिकाको नमुना लिई परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको जानकारी दिए ।


उनले चाँडै जनस्वास्थ्य प्रयोगशालाबाट नमुना परीक्षण भएर आएपछि तीन बालकको मृत्यु र अत्यधिक रूपमा बढेको बिरामी कुन रोगको हो भन्ने पता लाग्ने बताए । ‘अहिले हामीले स्कब्र टाइफस वा इन्फलुएन्जाको आशंका गरेका छौं,’ डा. साहले भने, ‘नमुना परीक्षणको रिपोर्ट आएपछि मात्रै औपचारिक रूपमा कुन रोग हो भन्ने बताउन सकिन्छ ।’


जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरन्जन यादवले कञ्चनरूप नगरपालिकामा ज्वरो आउने,छाती दुख्ने र बालक मरेको घटनावारे जानकारी आउना साथ स्वास्थ्य मन्त्रालय,विभाग र इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखामा जानकारी गराएपश्चात विशेषज्ञहरूको टोली आइपुगेको बताए । उनले उक्त टोली तीन दिन सम्म कञ्चनरूप क्षेत्रमा स्वास्थ्य शिविर गरी बिरामीको परीक्षण गर्ने,नमुना संकलन गर्ने कार्य गर्ने बताए ।


बाढीपीडित क्षेत्रमा ज्वरो
दुई हप्ताअघि सप्तकोसीको बाढीका कारण विस्थापनमा परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ मा पनि पछिल्लो समय ज्वरोको समस्या देखिएको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सिअहेब रामदेव यादवका अनुसार आइतबारसम्म वडा नम्बर १२ का १ सय २० जनामा ज्वरोको समस्या देखिएको छ ।


बाढीका कारण खाना र पिउने पानीमा ध्यान पुर्‍याउन नसकिदा उक्त क्षेत्रमा ज्वरोको लक्षण देखिएको हो । स्वास्थ्य शाखा प्रमुख सिअहेब यादवले अहिले उक्त क्षेत्रमा ज्वरो नियन्त्रणमा छ । ‘हामी नियमित स्वास्थ्य परीक्षण गरिरहेका छौं, आवश्यक औषधि समेत दिइरहेका छौं,’ सिअहेब यादवले भने ।


इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकास साहले हनुमाननगरमा ज्वरोबाट पीडित रहेकामध्ये ६ जनाको नमुना संकलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काडमाडौं पठाइएको जानकारी दिए । पछिल्लो समय जिल्लाका अन्य भागमा पनि भाइरल ज्वरोबाट पीडित हुनेको संख्या बढदै गएको छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT