२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

तथ्यांंकमा महिला: कहाँका अगाडि कहाँका पछाडि ?

जनकराज सापकोटा

काठमाडौँ — मुलुकको कुल जनसंख्यामा महिलाको हिस्सा ५१ दशमलव ५ प्रतिशत छ । धेरैलाई चासो हुन सक्छ, महिला र पुरुषको असन्तुलन सबभन्दा धेरै कुन प्रदेशमा छ ?

तथ्यांंकमा महिला: कहाँका अगाडि कहाँका पछाडि ?

तथ्यांकअनुसार गण्डकी प्रदेशको कुल जनसंख्यामा महिला ५४.६ प्रतिशत छन् । यहाँ २४ लाख ३ हजार ७ सय ५७ महिलाको संख्या छ । महिलाको जनसंख्या सबभन्दा बढी भएको प्रदेश २ नम्बर हो । उक्त प्रदेशमा महिलाको संख्या २६ लाख ८६ हजार ४ सय ७ रहेको छ ।

प्रदेशको जनसंख्याका आधारमा महिला ४९.७ प्रतिशत छन् । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको वुमन इन नेपाल नामक प्रतिवेदनमा नेपालमा महिलाको सामाजिक, आर्थिक अवस्था जनाउने तथ्यांक समाविष्ट छ । यो प्रतिवेदनले पहिलोपटक महिलाको अवस्था र सामाजिक सूचकलाई प्रदेशस्तरीय रूपमा केलाएको छ ।

विभागले सन् २०११ मा गरेको जनगणना, विभिन्न मन्त्रालयले वार्षिक रूपमा प्रकाशित गरेको पछिल्लो प्रतिवेदनलाई आधार मानेर प्रदेशस्तरीय प्रतिवेदन निकालेको हो । उक्त तथ्यांकअनुसार प्राथमिक र निम्नमाध्यमिक तहमा विद्यालयमा उपस्थित हुने छात्राको संख्या सबैभन्दा उच्च गण्डकी प्रदेशमा छ ।

यहाँका ८९.५ प्रतिशत छात्रा विद्यालयमा उपस्थित हुने गरेको देखिन्छ । छात्राको विद्यालयमा उपस्थिति प्रदेश २ मा सबैभन्दा कमजोर देखिन्छ । प्रतिवेदनअनुसार प्रदेश २ का ६२.४ प्रतिशत छात्रा मात्रै विद्यालयमा उपस्थित देखिन्छन् ।

तथ्यांकले प्राथमिक तहको कक्षामा उपस्थित हुन योग्य २३ प्रतिशत छात्रा र २२.८ प्रतिशत छात्र विद्यालय बाहिर रहेको देखाउँछ । प्रदेश ५ का २५.४ प्रतिशत, कर्णाली प्रदेशका २०.७ प्रतिशत, प्रदेश १ का १७.२ प्रतिशत, प्रदेश ३ र कर्णाली प्रदेशका १४.८ प्रतिशत र गण्डकी प्रदेशमा सबभन्दा कम अर्थात् १०.५ प्रतिशत छात्रा प्राथमिक तहको शिक्षाको पहुँचबाहिर छन् ।

तथ्यांकले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको आमसञ्चारको पहुँचलाई पनि बाहिर ल्याएको छ । नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१४ लाई आधार मानिएको उक्त तथ्यांकले औसतमा नेपाली महिलाको सबैभन्दा धेरै पहुँच टेलिभिजनमा रहेको देखाएको छ भने सबैभन्दा कम पहुँच पत्रिकामा रहेको देखाएको छ । सबैभन्दा धेरै अर्थात् प्रदेश ३ का महिला पत्रिका पढ्ने सन्दर्भमा अगाडि छन् ।

३ नम्बर प्रदेशका ३९.१ प्रतिशत महिला सातामा कम्तीमा एक दिन भए पनि पत्रिका पढ्छन् । आमसञ्चारमा सबैभन्दा कमजोर पहुँच कर्णाली प्रदेशका महिलामा रहेको छ । यस प्रदेशमा जम्मा ५ प्रतिशत महिला मात्रै पत्रिकामा पहुँच रहेको छ भने २८.५ प्रतिशत महिलाको रेडियोमा पहुँच देखिन्छ । सबै प्रदेशभन्दा थोरै अर्थात् १२.७ प्रतिशत महिलाको टीभीमा पहुँच रहेको छ भने सबै प्रदेशभन्दा कम अर्थात् २.५ प्रतिशत महिलाको मात्रै तीनै थरी सञ्चार माध्यममा पहुँच रहेको छ ।

कर्णाली प्रदेशकै जस्तो कमजोर अवस्था प्रदेश २ का महिलाको पनि देखिन्छ । यस प्रदेशका जम्मा ५.७ प्रतिशत महिलाले साताको एकपटक पत्रिका पढेको देखिन्छ भने २७.७ प्रतिशत महिलाले रेडियो सुन्ने र ४९.६ प्रतिशत महिलाले टेलिभिजन हेर्ने गरेको देखिन्छ । यो प्रदेशका जम्मा ४.१ प्रतिशत महिलाको मात्रै तीनै थरी सञ्चारमा पहुँच रहेको छ । तीनै थरी सञ्चार माध्यमको सबैभन्दा कम पहुँच भने कर्णाली प्रदेशका महिलामा रहेको छ । उक्त प्रदेशमा जम्मा २.५ प्रतिशत महिलाको मात्रै तीनै थरी सञ्चार साधनमा पहुँच छ ।

कम्प्युटर र इन्टरनेटको प्रयोगमा पनि समग्रमा नेपाली महिलाको कमजोर पहुँच रहेको छ । १५ देखि २४ वर्ष उमेर समूहका कुल २१.७ प्रतिशत महिला कम्प्युटर र कुल १९.६ प्रतिशत महिला इन्टरनेटको पहुँचमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश ३ का ४४.९ प्रतिशत महिलाको कम्प्युटरमा पहुँच रहेको छ भने सबभन्दा कम पहुँच अर्थात् ६.१ प्रतिशत प्रदेश ६ का महिलाको छ ।

प्रदेश २ का जम्मा ९.६ प्रतिशत महिलाको कम्प्युटरमा पहुँच देखिन्छ । त्यस्तै कर्णाली प्रदेशका ६.८ प्रतिशत महिलाको इन्टरनेटमा पहुँच रहेको देखिन्छ भने प्रदेश २ का ८.२ प्रतिशत महिलाको इन्टरनेटमा पहुँच देखिन्छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?