सेनेटरी प्याड विसर्जन गर्न इन्सिनेरेटर

कान्तिपुर संवाददाता

स्याङ्जा — माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना ३/४ दिन कक्षामा अनुपस्थित रहन्छन् ।अनुपस्थित रहँदा उनीहरूको पढाइमा असर पर्छ । महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तह लगाउन विद्यालयमा कुनै पूर्वाधार छैन ।

स्याङ्जाको फेदीखोलाअन्तर्गतका विद्यालयहरूलाई सेनेटरी प्याड विसर्जन गर्ने इन्सिनेरेटर हस्तान्तरण गरिँदै । तस्बिर : कान्तिपुर

यसलाई ध्यानमा राख्दै फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा सेनेटरी प्याड विसर्जन गर्न इन्सिनेरेटरको व्यवस्था मिलाएको छ । छात्राहरूको महिनावारी स्वच्छता व्यवस्थापन गर्न यस्तो गरिएको हो ।

योजना ल्याउनुअघि गरिएको अध्ययनमा गाउँपालिकाअन्तर्गतका ९ माविबाट प्रत्येक दिन २ छात्रा कक्षामा अनुपस्थित रहने गरेको पाइएको थियो । गाउँपालिकाअन्तर्गत ४ निजीसहित २९ विद्यालय छन्, जसमा ९ मावि पर्छन् ।

Yamaha

‘महिनावारी भएकै कारण छात्रा विद्यालय नआउने जानकारी भएपछि इन्सिनेरेटरको व्यवस्था गरेका हौं,’ गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने, ‘महिनावारीको समस्या मावि तहमा नै हुने हो भनेर सेनेटरी प्याडसँगै यसलाई विर्सजन गर्न इन्सिनेरेटर हस्तान्तरण गरेका हौं ।’ अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शनिबार छात्रा र शिक्षिकाको जिम्मा लगाइएको उनले बताए । गाउँपालिकाले केही महिना अगाडि सेनेटरी प्याड बनाउने तालिमको आयोजना गरेको बेला यसलाई कसरी विसर्जन गर्ने भन्नेबारे पनि सिकाइएको थियो ।

गाउँपालिकाले सेनेटरी प्याडको पनि व्यवस्थापन गरेको छ । निजी विद्यालयहरूले सेनेटरी प्याडको व्यवस्थापन आफैं गर्ने बताएपछि गाउँ कार्यपालिकाले सामुदायिकलाई मात्र वितरण गरिएको जनाएको छ । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने उद्देश्यले वातावरणीय दुष्प्रभाव प्रभाव नपर्ने गरी व्यवस्थापन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए ।

ढुवानीसहित ९ इन्सिनेरेटरलाई १ लाख रुपैयाँ खर्च गरिएको छ । महिला शौचालयसँगै राखिने इन्सिनेरेटर ग्यासको सिलिन्डर जस्तै छ । माथि मुखबाट प्याड राखिन्छ । प्याडले भरिएपछि आगो लगाइन्छ । प्याड खरानीमा परिणत हुन्छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आधारभूत शिक्षा नि:शुल्क

१ करोड ११ लाख रुपैयाँ विनियोजन
सबै निजी स्रोत शिक्षकलाई गाउँपालिकाबाटै तलब
दुर्गालाल केसी

दाङ — राप्ती गाउँपालिकाले आधारभूत तहको शिक्षा नि:शुल्क बनाएको छ । आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा नि:शुल्कको संवैधानिक व्यवस्था कार्यान्वयन हुन नसकिरहेका बेला गाउँपालिकाले भने यस्तो निर्णय गरेको हो ।

यसका लागि सामुदायिक विद्यालयका सम्पूर्ण निजी स्रोत शिक्षकको तलब गाउँपालिकाले नै बेहोर्ने भएको छ । जसका लागि यो आवमा १ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँसभाबाट निर्णय गरी आधारभूत शिक्षा नि:शुल्क गरिएको र साउनबाट लागू भइसकेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । ‘संविधानले गरेको व्यवस्था कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो । शुल्क तिरेर अभिभावकलाई साह्रै सास्ती भयो,’ उनले भने, ‘आयस्तर न्यून भएका बालबालिका शिक्षाबाट वञ्चित हुन नपाऊन् भनेर नि:शुल्क गरेका हौं । अब आर्थिक अभावमा कसैले विद्यालय छोड्नुपर्ने छैन ।’

निजी स्रोतबाट तलब खुवाउने गरी नियुक्त गरिएका शिक्षकका लागि अभिभावकले शुल्क तिर्नुपर्ने बाध्यता भएकाले उक्त तलब गाउँपालिकाले नै दिने निर्णय गरेको उनले बताए । ‘नि:शुल्क शिक्षा भने पनि अधिकांश विद्यालयमा तलब खुवाउनकै लागि भनेर शुल्क लिने गरिएको छ,’ उनले भने, ‘यसले शिक्षा महँगो बनाएको छ । अब हामीले कुनै पनि शुल्क नलिई पढ्न पाउने व्यवस्था गरेका छौं ।’

गाउँपालिकाभित्र २९ सामुदायिक विद्यालय रहेको र यस निर्णयबाट ४ हजार ७ सय ८७ बालबालिका लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए । शिक्षकहरूको वार्षिक तलब खर्च १ करोड र राम्रो परिणाम ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप ११ लाख रुपैयाँ छुट्याइएको उनले बताए ।

गाउँपालिकामा ७८ निजी शिक्षक रहेकामा स्थायी अध्यापन अनुमतिपत्र भएका प्रावि तहका शिक्षकलाई मासिक १२ र निमावि शिक्षकलाई १४ हजार रुपैयाँ तलब दिने निर्णय भएको उनले बताए । ‘अध्यापन अनुमतिपत्र नलिएका शिक्षकको व्ययभार हामी बेहोर्न सक्दैनौं,’ उनले भने, ‘यस्ता शिक्षक के कसरी राखिएको हो, यस विषयमा आवश्यक छानबिन गरी थप कारबाही अघि बढाउनेछौं ।’

निजी शिक्षकले भने आफूहरूको तलबमान निकै न्यून तोकिएको भन्दै विरोध जनाएका छन् ।

सरकारी मापदण्डअनुसार तलब व्यवस्था गर्न उनीहरूले माग गरेका छन् । निजी स्रोतका शिक्षकहरूलाई सरकारी सुविधा दिन सम्भव नहुने भुसालले बताए । यसअघि पनि धेरै निजी शिक्षकले निकै न्यून तलबमा काम गर्दै आएको र त्यो पनि समयमा नपाएको समस्या रहेकामा अब उक्त समस्या पनि समाधान भएको उनले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT