२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अरुलाई रोक्ने मन्त्री पण्डित आफैं विदेश सयर गर्दै 

काठमाडौं — जनप्रतिनिधिहरुलाई विदेश भ्रमणमा रोक लगाएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफै विदेश सयर गर्दैछन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा १ देखि ५ असोजसम्म हुने ‘१७ औं वेस्ट्रन चाइना इन्टरनेशनल फेयर’ मा भाग लिन मन्त्री पण्डित भदौ ३१ मा पत्नी विमला महत, सहसचिव केदारप्रसाद पनेरु र स्वकीय सचिव मनोज राईलाई लिएर भ्रमणमा जान लागेका हुन् ।

अरुलाई रोक्ने मन्त्री पण्डित आफैं विदेश सयर गर्दै 



यसअघि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख विदेश भ्रमणमा जान खोज्दा मन्त्री पण्डितले उनीहरुलाई अनुमति दिएका थिएनन् ।


यो पढ्नुहोस् : मन्त्रालयले रोक्यो जनप्रतिनिधिको विदेश भ्रमण

आयोजकहरुकै खर्चमा विदेश भ्रमण गर्न खोजेका जनप्रतिनिधिलाई विदेश जान रोकेका मन्त्री पण्डित आफू आयोजककै खर्चमा चीन जान लागेको स्रोतले बतायो । मन्त्री पण्डितका स्वकीय सचिव मनोज राईको भ्रमण खर्च भने अर्थ मन्त्रालयले व्यहोर्नेछ । अर्थले भदौ २० मा राईको खर्च व्यहोर्ने सहमति दिएको हो ।


सामान्य प्रशासन स्रोतबाट कान्तिपुरलाई प्राप्त पत्र अनुसार चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी तथा डेपुटी सेक्रेटरीका तर्फबाट भएको निमन्त्रणा बेइजिङस्थित् नेपाली दूतावासबाट आएको हो ।

यसअघि मोरक्कोको माराकेसको कार्यक्रममा भने मन्त्री पण्डित सहभागी भएका थिएनन् । त्यतिबेला उनले विदेश भ्रमण आफ्नो प्राथमिकताको विषय नभएको दाबी गरेका थिए ।


छेन्दुमा हुने फेयरमा विश्वबाट हजारौं व्यक्तिहरु सहभागी हुनेछन् । सन् २००० देखि सुरु भएको यो फेयरमा धेरै मुलुकबाट उच्च अधिकारी सहभागी हुने पत्रमा उल्लेख छ ।


चीनका राष्ट्रपति सि चिनफिङको समाजवादी विचारधाराबाट अभिप्रेरित यो फेयरले विकासको नयाँ सोच र गुणात्मक विकास प्राप्त गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : भाद्र २६, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?