मुख्यमन्त्री गुरुङको प्रस्तावः यौनकर्मीलाई परिचयपत्र दिएर कर उठाऔं 

दीपक परियार

लेखनाथ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले कि ‘रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने उपाए सुझाए ।

Yamaha

‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ,’ उनले भने, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उनको दाबी थियो ।

प्ररिचयपत्रको व्यवस्था गरे थोरे थोरै कर पनि संकलन गर्न सकिने उनले जनाए । ‘परिचयपत्र हुने हो भने यहाँको होटल व्यवसाय अझै फस्टिने मौका पाउँछ,’ उनले भने, ‘यसो गर्दा उपयुक्त हुन्छ कि ?’

परिचयपत्रको व्यवस्था भए प्रहरीले होटलमा छापा मारिरहने झन्झट बेहोर्नुनपर्ने उनको धारणा थियो । उनले भने, ‘पाहुनाले होटलमा लैजाने यौनकर्मीको परिचयपत्रको आधारमा नाम दर्ता गर्ने हो भने प्रहरीले दु:ख दिइरहन पर्दैन ।’

विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउने क्रममा सरकारी अतिथिगृहमा नबसी लेकसाइड जाने गरेको प्रसंग उनले सुनाए । ‘हाम्रै कर्मचारी पनि बिदा मनाउन आउँदा क्वार्टरमा बस्दैनन्,’ उनले सुनाए, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’

कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको आसय थियो । यौन व्यवसायलाई व्यवस्थित गर्न खुला दिलले छलफल गर्नुपर्ने बेला आएको उनले उल्लेख गरे ।
होटल संघले ‘नेपालको पर्यटकीय राजधानी पोखरा तथा दक्षिण एसियाको पर्यटन प्रवेशद्वार’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र २६, २०७५ १६:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पटक–पटक किन डुब्छ डुंगा ?

सुरक्षा र उद्धारका साधन नहुँदा मानवीय क्षति
दीपक परियार

लेखनाथ — काठमाडौंबाट ०७३ साउन २३ मा पोखरा घुम्न आएका ७ जना सवार डुंगा फेवातालमा पल्टिँदा प्रतीक श्रेष्ठ र एलिन केसीको मृत्यु भएको थियो । बिनालाइफ ज्याकेट डुंगा चढेका उनीहरूलाई हावाहुरीले हुत्यायो ।

बेगनासतालमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ताको शव आइतबार ल्याउँदै प्रहरी टोली । तस्बिर : दीपक

४० वर्षअघि फेवातालमा एकैपटक १९ जनाको मृत्यु भएको थियो । घाँसदाउरा गर्न हिँडेका स्थानीय सवार डुंगा ०१८ सालमा पल्टिएर १९ को ज्यान गएको थियो । ०४३ सालमा वनभोज खाएर फर्कंदै गरेका १८ जनाको मृत्युको कारण डुंगा दुर्घटना नै भयो ।

०६१ मा डुंगा पल्टिएरै ६ जना सुरक्षाकर्मीले ज्यान गुमाए । ०७३ मा पनि पटकपटक गरेर ५ जनाको मृत्यु फेवातालमा डुंगा पल्टिएर भयो । शनिबार फेरि बेगनासतालमा डुंगा पल्टिएर ८ जनाले ज्यान गुमाए । पहिलेपहिले लाइफ ज्याकेट र मोटरबोटजस्ता सुरक्षा र उद्धारका साधन नहुँदा मानवीय क्षति धेरै हुने गरेका थिए तर अहिले ती सबै सुविधा भएर पनि दुर्घटना भइरहेपछि प्रश्न उब्जिन थालेको छ( पटकपटक किन डुब्छ डुंगा ?

फागुनचैतमा हावाहुरी लाग्ने मौसम हो । त्यतिखेर हावाहुरीले ल्याउने छालले धेरै डुंगा पल्टाउँछन् । भदौ महिना त्यस्तो होइन । प्राकृतिक कारणबाहेक मानवीय कमिकमजोरीले डुंगा दुर्घटनामा बढी क्षति भएका छन् । बेगनासको डुंगा दुर्घटना लापरबाहीबाट भएको सरोकारवाला बताउँछन् । फेवाताल र बेगनासताल डुंगा व्यवसायी समितिले ५ वर्षअघिबाटै डुंगा चढ्नेलाई लाइफ ज्याकेट अनिवार्य गरेको छ ।

सानो डुंगामा ५ जनाभन्दा बढी चढाउन मिल्दैन । शनिबार दुवै नियम लागू भएन । स्थानीय कमलराज कँडेलको डुंगामा १० जना मानिस, चामलको बोरा र सिलिन्डर राखेर पारि लगियो । कँडेलले आफ्नै घरमा तीजको दर खाने कार्यक्रममा जान चेलिबेटीलाई डुंगा चढाएर पठाएका थिए । उनकै विवेकले त्यसो गरे या अरू नै कारण थियो भन्ने खुल्न सकेको छैन । उक्त डुंगाकै पछिपछि एक्लै अर्को डुंगा चलाएर गएका उनी आँखै अगाडि दुर्घटना देखेपछि बेहोस छन् । उनको पोखराको चरक मेमोरियलको आईसीयूमा उपचार भइरहेको छ । उनको होस खुलेपछि धेरै कुरा खुल्ला ।

डुंगा दुर्घटनामा परेर जीवितै उद्धार गरिएकी सपना खनाललाई आधार मान्दा डुंगामा एक मात्र युवा पुरुष थिए, रवि खनाल । उनैको जिम्मा लगाएर डुंगा पठाइएको थियो तर रवि पोख्त डुंगा चालक होइनन् । बेगनासताल डुंगा व्यवसायी समिति मातहतकै डुंगामा १० जना हालेर लैजाँदै गर्दा समितिका मान्छेले खबरदारी गरेको देखिँदैन ।

लाइफ ज्याकेट पनि दिएर पठाएनन् । जब कि तालकै छेउमा समितिको काउन्टर छ र रेखदेख गर्ने कर्मचारी पनि । पर्यटकलाई ५ जना मात्रै र लाइफ ज्याकेट अनिवार्य गर्ने समितिले डुंगा धनीका आफन्तलाई किन त्यो नियम लागू गरेनन् ? पर्यटक चढ्दा मात्रै होइन, अरू बेला पनि दुर्घटना निम्तिन सक्छ भन्ने हेक्का समिति कर्मचारीलाई किन भएन ? समितिले क्युबाहिरको डुंगा लगेको भनेर उम्कन मिल्छ कि मिल्दैन ?

समितिको कमजोरी छँदै थियो, १० जना लाइफ ज्याकेटबिना यात्रा गर्नु यात्रुको पनि कमजोरी देखियो । डुंगा दुर्घटनामा परेकी सपनाको माइती तालपारि बेगनास हो । उनी डुंगा र तालसँग बढी परिचित थिइन् । उनका श्रीमान् रवि, छोराहरू शिव र शंकर उतिसारो जानकार होइनन् । बेगनासका धेरैको आफ्नै डुंगा छ । उनीहरूले यातायातको साधनका रूपमा डुंगा प्रयोग गर्छन् ।

तालमा पर्यटक ओसारेर आयआर्जन पनि । सांसद खगराज अधिकारी बेगनासकै हुन् । गाउँमा पुग्न मोटरबाटो नभएको पनि होइन । शनिबार पाहुनाले मोटरबाटोको प्रयोग गर्न नचाहेको देखियो । सपनाका अनुसार डुंगाबाट गए थोरै हिँड्नुपर्ने र मोटरबाटो गए धेरै हिँड्नुपर्ने भएर उनीहरूले डुंगा रोजेका थिए । उनका श्रीमान्को जिद्दीपना दुर्घटनाको अर्को कारण थियो । उनले चढ्ने बेलामै आफू नजाने ढिट गरेकी थिइन् । किनारबाट अलि पर पुगेपछि नै ‘फर्कौं’ भनेकी थिइन् । नेपाली सेना श्रीमान्ले ‘केही हुन्न, मरे सबै सँगै मर्ने हो’ भनेको उनलाई सम्झना छ ।

डुंगामा सवारले सम्भावित दुर्घटनाबारे कुनै आकलन नगरेको देखिन्छ । उनका अनुसार डुंगा चुहिने थियो । डुंगाबाट पानी निकाल्न सानो कटौरा राखिएको थियो । डुंगा चुहिनु नै दुर्घटनाको कारण बन्यो । डुंगाधनीले डुंगाको मर्मतसम्भारमा ध्यान नदिनु पनि कमजोरीका रूपमा देखिएको छ ।

नहुनु दुर्घटना भइहाल्यो, त्यसपछिको उद्धारमा झन् चरम कमजोरी देखियो । फेवातालमा ‘रेस्क्यु टावर’ स्थापना गरिएको छ । सशस्त्र प्रहरीको टोलीले चौबिसै घण्टा पहरा दिन्छन् । सुविधायुक्त मोटरबोट छ । तालिमप्राप्त उद्धार टोली छ । त्यति हुँदाहुँदै पनि फेवातालमा डुबेर मान्छे मर्न रोकिएको छैन ।

बेगनासतालमा यी कुनै छैनन् । भएको एउटा मोटरबोट पेट्रोल रित्तै गरेर राखिएको थियो । डुंगा पल्टिएको आधा घण्टासम्म यात्रुले बाँच्ने संघर्ष गरिरहे । त्यतिखेरसम्म परपरसम्मबाट उद्धारमा कोही आएनन् । आधा घण्टापछि धन्न दिलकुमारी जलारी र उनका छोरा कुमार आएर सपना र निशा पौडेललाई बचाउन सफल भए ।

सपना र निशा ताल किनारमा आएपछि बल्ल सपनाले एक महिलाको मोबाइल मागेर आमा कमला अधिकारीलाई फोन गरेकी थिइन् । कमलाले नै प्रहरीलाई खबर गरेकी हुन् । सपनाले जनाएअनुसार दुर्घटनाबारे समितिलाई बताउँदा उद्धारमा जाने तयारी गर्नै ढिला भएको थियो ।

जिल्ला प्रहरीका नायब उपरीक्षक एवं बेगनासकै रवीन्द्र गुरुङ धेरै कमीकमजोरीको तालमेलले डुंगा दुर्घटना भएको बताउँछन् । लाइफ ज्याकेट नलैजानेजस्तो सानो कमजोरीले ठूलो मानवीय क्षति भएको उनको ठहर छ ।

प्रशासनले लाइफ ज्याकेट अनिवार्य गरे पनि अनुगमन गर्न सकेको छैन । नियम लागू गर्ने तर अनुगमन नगर्ने भएकाले दुर्घटना निम्तिने गरेको छ । अनुगमन संयन्त्र बलियो नहुँदा हुने दुर्घटनाले पर्यटकीय नगरीकै छविमा आँच पुर्‍याएको छ । पटकपटक दुर्घटनाको खबर सुन्दा पनि चेत नफिर्ने यात्रु छँदै छन् ।

६ को शव भेटियो
बेगनासतालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थल नजिकै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।

आफन्तकामा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० सवार डुंगा डुबेको थियो । डुंगा डुबेपछि शनिबारै उपचार क्रममा दुईको मृत्यु भएको थियो । डुंगा डुब्दा नवलपुर गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका ८ र ७ वर्षका छोरा शंकर र शिव, तनहुँको भीमाद(४ का ४ वर्षीय रञ्जित गैरे, पोखरा(३१ बेगनासका ५ वर्षीय प्राचीन पौडेल र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनीषा बजगार्इं बेपत्ता थिए । आइतबार दिउँसो उनीहरूको शव फेला परेको हो ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT