२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

'विष्टको डीएनए निर्मलाबाट लिइएको नमुनामा भेटिएको डीएनएसँग मेल खाएन'

किशोरी बलात्कार र हत्या प्रकरण : विष्ट र बम दिदी-बहिनीलाई छोडियो

कञ्चनपुर — २४ दिनअघि पक्राउ गरी घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका दीलिप विष्टलाई प्रहरीले जिम्मा जमानीमा छाडेको छ । 

'विष्टको डीएनए निर्मलाबाट लिइएको नमुनामा भेटिएको डीएनएसँग मेल खाएन'

निर्मलाको योनीबाट लिइएको 'स्वाब'को डीएनए परिक्षण आरोपी विष्टको डिएनए परीक्षणको रिपोर्टसँग मेल नखाएपछि मुद्दा चलाउने यथेश्ट प्रमाण नभेटिएको भन्दै सरकारी वकिलको राय अनुसार मंगलबार उनलाई आवश्यक परे उपस्थित हुने गरी छाडिएको हो ।

विष्टसँगै भदौ ७ गते पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबितालाई पनि छाडिएको छ । रोशनीलाई जिम्मा जमानीमा र बबितालाई ३० हजार धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले बताए । विष्टलाई उनका दाइ खडकको जिम्मा लगाइएको हो भने बम दिदी–बहिनीलाई बुवा नरेन्द्रको जिम्मा लगाएर छाडिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेष थापाका अनुसार निर्मलाको योनीबाट डीएनए परिक्षणका लागि लिइएको 'भजाइनल स्वाब'को नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा परिक्षण गर्दा विष्टको डीएनएसँग मिलेको देखिएन ।

'हामीले स्वाबको परिक्षणका क्रममा भेटेको डीएनए दीलिप विष्टसँग म्याच भएन,' उनले भने, 'दीलिप विष्टको डीएनए एनलाइसिसका लागि हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट)मा पनि स्याम्पल पठाएका थियौं । तर घटनास्थलबाट ल्याइएको 'भजाइनल स्वाब' यथेष्ट परिमाणमा नभएका कारण त्यो भने नास्टमा परिक्षणका लागि पठाउन सकेनाैं ।'

उनका अनुसार प्रहरीको प्रयोगशालामा गरिएको 'भजाइनल स्वाब'को परिक्षणका नतिजा अनुसार त्यसमा भेटिएको पुरुषको डीएनएसँग विष्टको डिएनए मेल खाएको छैन । 'त्यस परिक्षणमा देखिएको डीएनए कसको हो भन्ने अनुशन्धानबाट खुल्ने छ,' उनले भने, 'त्यसैले अहिलेलाई आरोपीहरुलाई सरकारी वकिलको राय बमोजिम छोडिएको हो ।'


भीमदत्त नगरपालिका–२ उल्टाखामकि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप समेत गरेको थियो ।

विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं समेत लगिएको थियो । उक्त रिपोर्टमा पनि अनुसन्धानका क्रममा पनि झुठो बोलेका लगायत केही नखुलेको उल्लेख गरिएको एसपी कुबेर कडायतले बताए ।

‘उनीहरुलाई मुद्दा चलाउने यथेश्ट प्रमाण नभेटिएपछि छाडिएको हो,’ एसपी कडायतले भने, ‘तर उनीहरु हाम्रो निगरानीमा भने हुन्छन्, प्रमाण भेटिए फेरी मुद्दा चलाउन सकिनेछ ।’ उनले आवश्यकता परे उपस्थित हुने सर्तमा छाडिएको बताए ।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा 'अदालतको अादेशमा छोडिएको' उल्लेख भएकोमा अदालतले नभइ 'प्रहरीले सरकारी वकिलको राय अनुसार छाडेको' भनेर समाचार सच्याइएको छ ।

प्रकाशित : भाद्र २६, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?