३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रुकुमकोटमा कमलको अचार

हरि गौतम

रुकुमपूर्व — रुकुम ५२ पोखरी ५३ टाकुरीका नामले चिनिन्छ । दह नै दह । दहमा फुल्ने कमल । आजभोलि कमलका जरा निकाल्न ठेक्का लाग्न थालेको छ । नेपालगन्जका टेकबहादुर विष्टलाई सिस्ने गाउँपालिका रुकुमकोटमा खाएको अचार स्वादिलो लाग्यो ।

रुकुमकोटमा कमलको अचार

स्थानीय होटलको भान्सामा सोधे । होटल सञ्चालकले कमलको चानाबाट बनाएको भनेपछि उनले थप सोधखोज गरे ।


त्यतिबेला दहमा कमल फुलेको थियो । तर, ती चाना गत वर्षका थिए, सुकाएर अचार बनाइएको । रुकुमकोट यसअघि कमल दहले चिनिन्थ्यो । अहिले कमलको अचारले आगन्तुक भुलाउने गर्छ । केही वर्षदेखि स्थानीय होटलका मेनुमा यस्तो अचार अनिवार्य बनेको छ । गाउँमा पनि यसलाई खुब मन पराइन्छ ।


कमल दहबाट निकालिएका जरा अचारकै लागि स्थानीयले किन्छन् । जरा धेरै हुँदा बिक्री गरेर बाँकी रहेको चाना बनाउन थालिएको हो । ‘दहले मात्र होइन, अब रुकुमकोट कमलको अचारले पनि चिनिन थालेको छ,’ विष्टले भने । कमलको अचार स्वादिष्ट हुनुका साथै स्वास्थ्यबद्र्धक पनि मानिन्छ । आयुर्वेदमा कमलको जरा पिसाब र दम रोगका लागि राम्रो औषधि मानिन्छ ।


कमलदह गेस्ट हाउसका सञ्चालक मधुकर शाहले होटलमा आउने पाहुनाले यही अचार खोज्ने गरेको बताए । ‘थाहा पाएका ग्राहक आए खोजिहाल्छन्, नयाँ आए हामी आफैं सोध्छौं,’ शाहले भने । पहिलो पटक अचार खाएकाले फेरि आँदा खोज्ने गरेको अनुभव उनीसँग छ । माघदेखि वैशाखसम्मै ताजा जराकै अचार पाइने भए पनि अन्य समयमा सुकाएका चानाबाट बनाइन्छ ।


कमलको जरा निकाल्ने ठेक्का पाएका दीपक शाहीले बिक्री नभएपछि त्यसैलाई सुकाएर चाना बनाउने गरेको बताए । उनका अनुसार चाना प्रतिमाना ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ । राम्रोसित सुकाएको चाना लामो समयसम्म रहने भएकाले धेरैले बनाएर राख्ने गरेको उनले सुनाए । उनले गत जेठयता एक लाख रुपैयाँको चाना बिक्री गरेका छन् । दुई सय माना चाना बिक्री गरेका उनले अझै सय माना बिक्रीका लागि तयार रहेको बताए । स्थानीयसँग पनि चाना पाइन्छ ।


रुकुमकोटका होटल तथा सल्यान, दाङसम्म कमलका चाना बिक्री हुने गरेको छ । काम विशेषले रुकुमकोट पुग्नेले चाना किनेर लैजाने गरेको स्थानीय भीमबहादुर शाहले बताए । गत सिजनमा कमलको जरा बिक्रीबाटै ७ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको थियो । सिस्ने गाउँपालिकाले ठेकेदार शाहीलाई एक सिजनको ८० हजार रुपैयाँमा कमलको जरा निकाल्ने ठेक्का दिएको हो ।

प्रकाशित : भाद्र २७, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?