सार्वजनिक पदाधिकारीका विवरण गोप्य नरहने

गोपनीयता विधेयक संशोधन गर्न संसदीय समितिमा सहमति
मकर श्रेष्ठ

काठमाडौँ — सार्वजनिक पद धारण गरेका व्यक्तिको वैयक्तिक विवरण गोप्य नहुने भएको छ । संसदको राज्य व्यवस्था समितिले सार्वजनिक पदमा आसीन व्यक्तिको परिभाषासमेत खुलाएर ती व्यक्तिको व्यक्तिगत विवरण खुला हुने सहमति गरेको हो ।

राज्यको ढुकुटीबाट तलब सुविधा पाउने व्यक्तिलाई सार्वजनिक पद धारण गरेको मानिन्छ ।

सरकारले संसद्मा ल्याएको वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्नुपर्ने प्रस्ताव थियो । विधेयकमाथि परेको संशोधनको छलफलमा समितिले सार्वजनिक पदधारी व्यक्तिले बुझाएको सम्पत्ति विवरण, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रलगायतको विवरण तत्सम्बन्धी सूचनाको समाचार प्रकाशन तथा आलोचना गर्न असर नपर्ने प्रावधान राख्ने टुंगो लगाएको हो । त्यस्तै सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले व्यक्त गरेको मन्तव्य, विचार प्रकाशन वा प्रसारण गर्न सकिने प्रावधान विधेयकमा थप गरेको छ ।

Yamaha


‘सार्वजनिक हकहित वा नागरिक सचेतनाका लागि सरकार वा संवैधानिक निकाय, संघसंस्थामा रहने व्यक्तिले गरेको कार्यको स्वस्थ आलोचना, लेख रचना, समाचार लेख्न, टिप्पणी, व्यंग्यात्मक तस्बिरको संकलन, प्रकाशन गर्न’ छुट दिने व्यवस्था राख्न समितिमा सहमति जुटेको हो । विधेयकमा कानुनबमोजिम कुनै कसुरको अनुसन्धान वा अभियोजन गर्ने अधिकारी वा अदालतले प्रयोग गर्ने अधिकार तथा अदालतको कारबाहीको सम्बन्धमा मात्रै ऐनमा लेखिएको कुनै कुराले प्रतिकूल असर नपर्ने भनिएको थियो ।


परिमार्जित विधेयकमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पदाधिकारी तथा कर्मचारीलाई समेत समेट्ने सहमति भएको छ । सत्ता पक्षका सांसद कृष्णभक्त पोखरेल, पवित्रा निरौला, नारायणप्रसाद खतिवडा, घनश्याम खतिवडा, शशी श्रेष्ठ र नवीना लामाले विधेयकमा संशोधन राखेका थिए । ‘संविधानले पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेको छ । नयाँ कानुनमा प्रेसलाई संकुचन हुने गरी कुनै पनि प्रावधान राखिनु हँुदैन,’ पोखरेलले भने, ‘सार्वजनिक जीवनका व्यक्तिका विषयमा खोजमूलक लेख रचना स्वस्थ आलोचना, सार्वजनिक ठाउँमा लिएका फोटा, कार्टुन प्रकाशन र प्रसारण गर्न यो कानुनले निषेध गर्न खोजेको होइन है भन्ने सन्देश आजको सहमतिले दिएका छौं ।’


विधेयकमा सर्वसाधारण र सार्वजनिक पदमा रहेका व्यक्तिको परिभाषा नै फरक बनाएर अन्य कानुनसँग नबाझिने तथा प्रेसमैत्री बनाएको सांसदहरूले बताए। सम्पत्तिसम्बन्धी गोपनीयताको व्यवस्थामा सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न बाधा नपर्ने छलफलका क्रममा थप गरिएको छ ।


तथ्यांकसम्बन्धी गोपनीयतामा रोजगारीसम्बन्धी विवरण गोप्यभित्र नपर्ने भएको छ । विधेयकमा सम्बन्धित व्यक्तिको सहमतिबिना स्वास्थ्य परीक्षण, सम्पत्ति, आयआर्जन, रोजगारी, पारिवारिक, जैविक विवरण, हस्ताक्षर, राजनीतिक आबद्धता, व्यवसाय कारोबार सार्वजनिक गर्न नहुने उल्लेख थियो । तस्बिर खिच्न वा बिक्री गर्न नहुने दफालाई पनि मुलुकी फौजदारी संहितासँग मिलाइने भएको छ । संहितामा भएको व्यवस्थासँग गोपनीयतासम्बन्धी विधेयकमा राखिएको प्रावधान बाझिएको थियो ।


संहिताको दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ । कुनै व्यक्तिको अनुमतिबिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरू कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन नहुने संहितामा भनिएको छ । कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्बिर खिचिन गएको रहेछ भने कसुर गरेको नमानिने व्यवस्था छ । अनुमतिबिना तस्बिर खिचेमा एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान राखिएको छ । तर, गोपनीयतासम्बन्धी विधेयकमा सजाय ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने व्यवस्था थियो ।


सोचविचार गर्नुस् : गृह सचिव राई
वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३५ र ३६ मा मात्रै राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा छलफल हुन बाँकी थियो । विधेयकको दफा ३४ मा गृह मन्त्रालयले यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कानुनबमोजिम कुनै कसुरको अनुसन्धान वा अभियोजन गर्ने अधिकारी वा अदालतले प्रयोग गर्ने अधिकार तथा अदालतको कारबाहीको सम्बन्धमा ऐनमा लेखिएको कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन भनिएको थियो । यही दफामा तीनवटा संशोधन परेका थिए ।


सांसद दिव्यमणि राजभण्डारीले यो दफा नै हटाउनुपर्ने संशोधन हालेका थिए । सांसद कृष्णभक्त पोखरेलसहित ६ जनाले गृहले ल्याएको दफा ३४ लाई उपदफा १ कायम गरे उपदफा २ मा यस ऐनमा अन्यत्र जेसुकै लेखिए पनि सार्वजनिक पदमा बहाल रहेका कुनै पनि व्यक्तिले निर्वाह गरेको भूमिका, व्यक्त गरेको विचार, कामको आलोचना, लेख रचना समाचार संकलन गरी प्रकाशन प्रसारण गर्न सकिने संशोधन हालेका थिए । त्यस्तै शैक्षिक प्रमाणपत्र, नागरिकता, सम्पत्ति विवरणको सूचना, विवरण तथ्यांकको समाचार प्रकाशन, प्रसारण गर्न, टिप्पणी गर्न, लेख लेख्न र स्वस्थ आलोचना गर्न प्रतिकूल असर पारेको मानिने छैन भन्ने थप गरेका थिए । शेरबहादुर तामाङले सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति विवरणलगायत अन्य विवरण सार्वजनिक गर्नुपर्ने संशोधन हालेका थिए ।


दफावार छलफलमा पोखरेलसहित ६ जनाले हालेको संशोधन भाषा मिलाएर समावेश गर्ने राज्य व्यवस्था समितिका सदस्यबीच सहमति भएपछि गृह मन्त्रालयका सचिव प्रेमकुमार राई आक्रोशित भए । सांसदसमेत सार्वजनिक पद धारण गरेको व्यक्तिभित्र पर्ने भन्दै कानुन बनाउँदा विचार पुर्‍याउनुपर्ने उनले बताए । ‘तपाईं हामी सबै सार्वजनिक पद धारण गर्ने व्यक्तिभित्र पर्छौं,’ उनले भने, ‘यसमा अलि सोचविचार गर्नुपर्छ ।’ सार्वजनिक पदमा नभएका व्यक्तिले जे गरे पनि छुट दिने अनि सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण सबै सार्वजनिक गर्नु गलत भएको उनले बताए । ‘विधेयकमा राख्न लागेको व्यवस्थाले भविष्यमा के असर पार्छ विचार गर्नुपर्छ,’ उनले समितिको बैठकमा भने, ‘चिकित्सकले अपरेसन गर्न नमानेजस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि त्यस्तै गरे के हुन्छ ?’

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सहज बन्दै सार्वजनिक सवारी

बसको सिट सफा, फराकिलो होस्, उभिएरै  यात्रा गर्दा पनि समाउने ठाउँ, सिट खाली होस् वा भरि बसस्टपमा यात्रु चढाउने र ओराल्ने मात्रै गरोस्, यात्रुसँग गर्ने व्यवहार नम्र होस् भन्ने यात्रुको चाहना हुन्छ
मकर श्रेष्ठ

काठमाडौँ — जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी सार्वजनिक यातायातमै यात्रा गर्छन् । स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा होस् या कपनस्थित पार्टी कार्यालय जान । उनी सधैं भाडाकै सवारीमा यात्रा गर्छन् । उनी कहिले टेम्पो र माइक्रोमा कोचिएर यात्रा गर्छन् भने कहिले ठूलो बसमा । पछिल्लो समय कोचिएर भए पनि ठूला बसमा यात्रा गर्न पाउँदा अलि सहज भएको उनी महसुस गर्छन् ।

‘कोचाकोचमा यात्रा गर्ने बाध्यता हटेको छैन,’ उनले भने, ‘अझै सुधार गर्नुपर्ने धेरै छ ।’ यातायात व्यवसायीले सेवाभन्दा पनि नाफालाई जोड दिएको उनको आरोप छ । उनीजस्तै सार्वजनिक यातायातमै यात्रा गर्नेमा डा. गोविन्द केसी पनि हुन् । कामबाट फुर्सद मिलेपछि भेटघाटमा हुँदा होस् या किनमेल गर्न बजार जाँदा । उनी भाडाकै बस चढ्छन् । राजधानीमा ठूलो बस सञ्चालन गर्न थालेपछि कष्टपूर्ण यात्रा केही हदसम्म कमी भएको उनको अनुभव छ ।


‘विगतको तुलनामा सार्वजनिक यातायातमा केही सुधार भएको पक्कै हो,’ उनी भन्छन्, ‘१० सिटको सानो माइक्रोमा समाउनै नमिल्ने गरी कोचिएर हिँड्नुपर्ने बाध्यता हट्दै गएको छ ।’ केसी रत्नपार्क, पुल्चोकतिर आउनुपर्‍यो भने साझा यातायात चढ्छन् भने सुकेधारामा आमा र आफन्तलाई भेट्न जाँदा भने नेपाल यातायातलगायत अरू ठूला बसमा यात्रा गर्छन् ।
बसका स्टाफले यात्रुसँग गर्ने व्यवहार सुधार गर्नुपर्ने उनको सुझाव छ । ट्राफिक नियमको उल्लंघन गर्नेमा भाडाका सवारी पनि उत्तिकै रहेको उनी बताउँछन् । ‘यात्रु चढेकै कारण उनीहरूको जीविकोपार्जन भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘बसका स्टाफले यो कुरा बुझ्नु जरुरी छ ।’
***


उमेरले पाका चित्रबहादुर केसी र डा. गोविन्द केसीले पछिल्लो केही वर्ष सार्वजनिक यातायातमा सुधारको संकेत देखेजस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्त पनि ठूलो बसको व्यवस्थासँगै सर्वसाधारणको सहज यात्रा हुन थालेको बताउँछन् । ‘ठूलो बसले केही हदसम्म सहज भएको छ,’ उनी भन्छन्, ‘कुन रुटमा कति बस चाहिन्छ ? अहिले कसरी सञ्चालन भइरहेका छन् ? अध्ययन पनि सुरु भएको छ । यसले थप सुधार गर्न सघाउ पुग्ला ।’ सर्वसाधारण सहज रूपमा यात्रा गर्न चाहन्छन् । उभिएरै भए पनि सहजै यात्रा गर्न होस् भन्ने सबैले चाहन्छन् । बसका सिट सफा, फराकिलो होस्, उभिएरै यात्रा गर्दा पनि समाउने ठाउँ, सिट खाली होस् वा भरि बस स्टपमा यात्रु चढाउने र ओराल्ने मात्रै गरोस्, यात्रुसँग गर्ने व्यवहार नम्र होस् भन्ने यात्रुको चाहना हुन्छ । तर, यातायात व्यवसायीले यात्रुको चाहना बुझ्ने कोसिस अझै गर्न सकेको छैन । सरकारले पनि यात्रुको भावनाअनुुसार यातायात नीति बनाउन सकेको छैन । अरू व्यवस्था केही गर्न नसके पनि सरकारले पछिल्लो पटक ठूलो बस सञ्चालन गर्न व्यवसायीलाई प्रोत्साहन भने गरेको छ । यसले केही हदसम्म सुधारको संकेत देखिएको छ ।
***


०७० वैशाख १ देखि हरियो रङको १६ वटा बस काठमाडौंको सडकमा गुड्न थाल्दा सिन्डिकेट लाद्ने र सर्वसाधारणलाई असहज यात्रा गराउने यातायात व्यवसायी विरोधमा उत्रिए । साझाको बस लगनखेलबाट महाराजगन्ज, नयाँ बसपार्कर कलंकीबाट एयरपोर्ट चल्दा तोडफोड गर्नसमेत पछि परेनन् । साझाका नयाँ बस फराकिलो, उभिएर यात्रा गर्दा पनि सहज थियो । यो सुविधा अरू बस र साना सवारीमा थिएन । सर्वसाधारणले कुरेरै भए पनि साझाकै बस चढ्न थाले ।


सर्वसाधारणले भाडाको सवारीमा छिटो यात्रा गर्न चाहन्छन् । भाडाका बस होस् या माइक्रो सिट फुल भएर पनि यात्रु उभिएपछि मात्रै भरिएको ठान्छन् । यही बीचमा चक्रपथ परिक्रमा गर्ने गरी महानगर यातायात सुरु भयो । महानगरको नयाँ बसमा यात्रा गर्दा नयाँ बस, छिटो र सहज यात्राले यात्रुलाई लोभ्यायो । यात्रुको चाहना महानगर भएपछि कतिपय थोत्रा बसले पनि महानगरको बसमा लगाइएको रङ नै लगाएर यात्रु तान्नसमेत खोजे । सरकारले सिन्डिकेट खारेज गरेपछि सार्वजनिक यातायातमा सुधार हुन लागेको छ ।


यातयात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्तका अनुसार पछिल्लो केही महिनायता २ सयभन्दा बढी ठूला बस सञ्चालन हुन थालेका छन् । काठमाडौंको भित्री सडक हुँदै थानकोट, साँखुसम्म बस चल्न थालेको छ । काठमाडौंको भित्री सडकबाट यात्रु लिएर साँगा नाका हुँदै पाँचखालसम्म एसीसहितको बस चल्न थालेको छ ।


रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा चल्ने २६ वटा माइक्रोबस र सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डको चल्ने ३५ वटा टेम्पोलाई हटाएर ठूलो बस सञ्चालन गरिएको छ । यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गोंगबु हुँदै नयाँ बसपार्कसम्म रुट कायम गरिएको छ । सोही बस नयाँ बसपार्कबाट गल्कोपाखा–लैनचौर–जमल–तीनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । पुरानो रुटमा चल्ने माइक्रो र टेम्पोलाई अन्यत्र स्थान्तरण गर्ने काम भइरहेको पन्तले बताए । साझा यातायातमा पछिल्लो समय काठमाडौं उपत्यका र काभ्रेको पनौती, धुलिखेलसम्म सेवा दिने ४७ वटा बस छन् । साझाका प्रबन्धक महेन्द्र पाण्डेका यी बसबाट स्वयम्भूबाट पनौती, धुलिखेल, लामाटारबाट लगनखेल हुँदै नयाँ बसपार्क, गोदावरीबाट रत्नपार्क, बूढानीलकण्ठबाट बुङ्मती र रत्नपार्कबाट थानकोटसम्म साझा यातायात चल्न थालेको छ । यसबाहेक यूरो ५ मापदण्डका २० वटा बस काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सञ्चालन गर्ने गरी आउँदै छन् । काठमाडौं महानगरको सहयोगमा यी बस ल्याइन लागेको हो ।


साझा यातायातले साँगासम्म सेवा सुरु गरेलगत्तै भक्तपुर मिनी बसले समेत २० वटा ठूलो बस सञ्चालन गर्‍यो । समितिको बस भक्तपुरबाट बानेश्वर कलंकी, अर्को गौशाला हुँदै नयाँ बसपार्क सञ्चालन हुन्छ । मिनी बस समितिका सचिव प्रकाश बस्नेतले थप ३० वटा बस आउने क्रममा रहेको बताए । अन्नपूर्ण यातायातलेएकान्तकुना, धोबीघाट, बल्खु, कालिमाटी, कोटेश्वर, एकान्तकुना चल्ने लालुपाते यातायातका १० वटा ठूला बस सञ्चालनमा ल्याएको छ । यही यातायातले शोभाभगवती, कालीमाटी, जमल, गौशाला, कोटेश्वर र सातबाटो बल्खुबाट कुलेश्वर हुँदै शोभावगती पुग्ने १२ वटा ठूला बसबाट सेवा सुरु गरेको छ ।


हामी सबैको यातायातले लभु, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठसम्म चल्ने ठूला १२ वटा बस सञ्चालन गरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मयुर यातायातले ४२ वटा बस सञ्चालनमा ल्याएको छ । यी बस चक्रपथ परिक्रम गर्दै धुलिखेलसम्म सञ्चालित छन् ।


बाबा गोकर्णेश्वरले साँखुबाट गौशाला, रत्नपार्क, कालिमाटी, बल्खु हुँदै दक्षिणकालीसम्म सेवा दिन १० वटा आधुनिक बस सञ्चालन गरेको छ । त्यस्तै रिद्धिसिद्धि यातायातले पनि १० वटा ठूला बस सञ्चालनमा ल्याएको छ । यातायात कार्यालयका अनुसार यी बसले मञ्जुश्री पार्क, एकान्तकुना, लगनखेल, रत्नपार्क, नारायणगोपाल चोक हुँदै बूढानीलकण्ठसम्म सेवा दिन्छन् । यही कम्पनीका ११ वटा बस थली, गोठाटार पेप्सीकोला, कोटेश्वर, नयाँबानेश्वर, कलंकी हुँदै नागढुंगासम्म सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । समृद्ध यातायातले कलंकी, कालिमाटी, बानेश्वर, काटेश्वर हुँदै पाँचखालसम्म १० वटा बस सञ्चालन गरेको छ । ‘१० भन्दा कम गाडी हुने यातायात कम्पनीले पनि सेवा सुरु गरेको छ,’ वाग्मती यातायात कार्यालयका प्रमुख पन्त भन्छन्, ‘काठमाडौं उपत्यकामा यातायात सेवा दिन २५ वटा यातायात कम्पनी दर्ता भएका छन् ।’

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT