एउटा फसे सबै पछिपछि...

आनन्द गौतम

फावाखोला, ताप्लेजुङ — चौंरीलाई खर्क लगेर त्यत्तिकै छाडिदिए हुन्छ । यत्ति हो– जंगली जनावरले आक्रमण गर्ला कि भन्ने ध्यान मात्रै दिए पुग्छ । तर, खर्कमा चरनका लागि लगिने भेडीगोठ हेर्न भने उति सजिलो छैन । भेडा लस्करका अघि र पछि दुवैतिर गोठालो लाग्नैपर्छ ।

ताप्लेजुङका गाउँमा भेडाको बथान । तस्बिर : आनन्द

कारण हो, ‘अरू जनावर फसे एउटा फस्छ, एउटा भेडा फसे सबै फस्छन् ।’ किन यस्तो हुन्छ भन्नेबारे लामो समयदेखि भेडापालन गर्दै आएका रैथानेलाई पनि थाहा छैन । तमोर नदी किनारदेखि कञ्चनजंघा हिमालको फेदसम्म भेडा धपाएर हिँड्ने फुङलिङ–११, फावाखोलाका ‘अनुभवी गोठाला’ कमल विष्ट आफैं पनि अन्योलमा छन् । ‘एउटा भेडाको पछि किन सबै लाग्छन् भन्ने बुझ्न सकेको छैन,’ विष्ट भन्छन् ।


स्थानीय पाथीभारा बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गरेका विष्टले ‘एउटा भीरमा गएर अगुवा भेडो लडेमा अरू पनि पछ्याउँदै गएर जानाजान लड्ने गरेको’ घटना आफूले थुप्रैपटक बेहोरेको सुनाए । तर, यसरी किन लर्को लाग्ने गरेका हुन् भन्नेबारे सोधीखोजी गरे पनि थाहा नपाएको सुनाए । एउटासँगै अरू पनि फस्ने भएकैले भेडापालकले ‘चोक मिसाएर’ भेडा पाल्ने गरेका छन् ।

Yamaha


एउटा बथानमा कम्तीमा तीन/चार जनाका भेडा मिसाइन्छ । मिसाएर पाले कम जनशक्तिले पुग्ने भएकाले यसो गरिएको उनीहरूको भनाइ छ । बर्खाभन्दा हिउँदमा गोठालो जान कठिन हुन्छ । बर्खामा बढीमा ५ सयसम्मको एउटा गोठ बनाइन्छ । यो गोठको रखबारी गर्न ४ देखि ६ जना गोठाला खटिएका हुन्छन् । तर, हिउँदमा त्यसलाई कम्तीमा ४ वटा गोठमा बाँड्नुपर्छ । कमलले भने, ‘एउटा गोठमा कम्तीमा दुईवटा कुकुर पनि पाल्नैपर्छ, बथानको अगाडि एक र पछाडि एक कुकुर लगाएर हिँड्नुपर्ने हुन्छ । कुकुरले अगाडि हुत्तिएर जानबाट रोक्ने र पछाडिबाट धपाउन पनि मद्दत गर्छ ।’


भेडीगोठलाई बेलुका भकारीले वरपर बारेर राख्नुपर्छ । बर्खामा धेरै घाँस हुँदा कम हिँड्ने र हिँउदमा घाँसको खोजीमा धेरै हिँड्ने भएकाले जनशक्ति धेरै चाहिने हुन्छ । हिउँदमा अप्ठ्यारो ठाउँमा हरियो घाँस देखिने र त्यसका लागि सिधै जाँदा धेरै दुर्घटना हुने अर्का भेडापालक ठाकुरसिंह विष्टले बताए । ‘यसो ओझेल परेका बेला धेरैवटा भेडा हराए भने पहिलो लडे/मरेको वा कतै फसेको नत्र जंगली जनावरले खाएको हुन्छ, एक/दुईवटा हराए कतै एकोहोरिएर गएको गयै गरेको हुन सक्छ,’ चतुरमान लिम्बूले भने, ‘अगाडि बढेको भेडा फर्काउन निकै कसरत गर्नुपर्छ, निकै गाह्रो हुन्छ ।’


फेरि भेडालाई लाग्ने रोग पनि उस्तै । ‘एउटालाई भेटे अरूलाई पनि सताइहाल्छ,’ ठाकुरसिंहले भने, ‘नौ वर्षअघि ५० भेडा तीन दिनमै फटाफट मरे ।’ स्याउलेखर्कमा पुर्‍याएका भेडामा झोक्राउने र मर्ने समस्या देखिएपछि पशु स्वास्थ्यकर्मी बोलाए पनि रोग पत्ता नलागेको उनी बताउँछन् । ज्योतिषीले ‘पशुचौपायामा क्षति नभएको भए घरपरिवारमै केही विघ्न हुन सक्थ्यो’ भनेपछि त्यसैमा चित्त बुझाएको कमलले सुनाए ।


जिल्ला पशु कार्यालयका अनुसार स्थानीय फावाखोलामा सबैभन्दा बढी भेडापालन हुने गरेको छ । यो पुख्र्यौली व्यवसायसमेत हो । भेडापालकले हिउँदमा नदी किनार र बर्खामा हिमालको फेदसम्मै चरनमा पुर्‍याउने गरेका छन् ।


ताप्लेजुङको फुङलिङ–११ फावाखोलाका बासिन्दा अहिले पनि भेडापालनमा क्रियाशील छन् । यहाँका भेडाहरू हिउँदमा तमोर किनारदेखि बर्खामा कञ्चनजंघा हिमालको बेसक्याम्पसम्मै पुर्‍याइन्छ । जिल्लाको फुङलिङ, सिरिजंगा, फक्तालुङ, मिक्वाखोलाका वडामा बढीजसो भेडापालन हुने गरेको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ ०७:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पत्रकार बस्नेत हिरासतमै

कान्तिपुर संवाददाता

ललितपुर — प्रहरीले नियन्त्रणमा लिइएका ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादकलाई ४ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ ।

बस्नेतलाई प्रहरीले सोमबार समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा ठेचोस्थित घरबाट हत्कडी लगाएर नियन्त्रणमा लिएको थियो । बस्नेत पक्राउबारे प्रेस काउन्सिललाई जानकारी दिइएको छैन ।


बस्नेतलाई एक महिनाअघि मात्र प्रहरीले समाचार लेखेर फेसबुक र पत्रिकाको अनलाइन वेबसाइटमा सेयर गरेको भरमा नियन्त्रणमा लिएर दिनभर थुनेर छोडेका थिए । त्यतिबेला बस्नेतले ‘हरिसिद्धिको जग्गा कब्जा गर्न नेकपाको नेताको गिद्दे नजर मन्त्रीका भतिजोद्वारा मालपोतका कर्मचारीलाई सरुवा गर्ने धम्की’ शीर्षकमा समाचार लेखेका थिए ।


यो मुद्दामा प्रेस काउन्सिलले नै मिलापत्र गराएको थियो । बस्नेतले दृष्टि साप्ताहिकमा भदौ १९ मा ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदकै दबाब’ समाचारलाई शीर्षक परिवर्तन गरेर आफ्नो पत्रिका र अनलाइनमा प्रकाशित गरेका थिए ।

प्रकाशित : भाद्र २७, २०७५ ०७:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT