कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरो सकस : जताततै सडक अवरुद्ध

प्रदेश ब्युरो

विराटनगर — केही दिनयताको वर्षाका कारण पहिरो खस्दा विभिन्न जिल्लामा सडक अवरुद्ध बनेको छ । कतै माथिबाट खसेको पहिरो र कतै सडकै भासिँदा यातायात सञ्चालन हुन सकेको छैन । यसले गर्दा यात्रु गन्तव्य पुग्न पाएका छैनन् ।

पहिरो सकस : जताततै सडक अवरुद्ध

खासगरी तीजका अवसरमा माइत र आफन्तकहाँ जाने महिलाहरूको बिचल्ली भएको छ । उदयपुरबाट डिल्लीराम खतिवडा, खोटाङबाट डम्बरसिं राई र ताप्लेजुङबाट आनन्द गौतमको रिपोर्ट :


सिद्धिचरणमा पहिरो
सिद्धिचरण लोकमार्गको उदयपुरमा पर्ने कटारी–घुर्मी खण्ड अवरुद्ध भएको छ । दुई दिनयताको अविरल वर्षापछि कटारी नगरपालिका ८ सिरिसेमा पहिरो खस्दा अवरुद्ध बनेको हो । यातायात सञ्चालन बन्द भएपछि तीजमा माइत जानेहरू बढी समस्या परेका छन् । माथिबाट खसेको पहिरोले मंगलबार सडक अवरुद्ध भएको हो । सोलुखुम्बु, ओखलढुंगा र खोटाङ हिँडेका यात्रु कटारीमै रोकिएका छन् । पर्वका समयमा सडक अवरुद्ध हुँदा कष्ट भएको खोटाङका नरेश ढकालले बताए ।


सोलु, ओखलढुंगा र खोटाङबाट तराईका विभिन्न क्षेत्र हिँडेका यात्रु घुर्मी, गहुबाँरी, बेतेनीलगायत स्थानमा अलपत्र परेको कटारी ११ का वडाध्यक्ष दीपक बुढाथोकीले बताए । पहिरो हटाउने काम भइरहे पनि वर्षा फेरि सुरु भएकाले समस्या भएको उनले जनाए ।


सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कटारीले जनाएको छ । प्रहरीका अनुसार सडक विभाग डिभिजन सडक कार्यालय लहान, नगरपालिका, स्थानीयको सहयोगमा अवरुद्ध सडक खोल्ने काम भइरहेको छ ।


घुमाउरो र साँघुरो सडक सामान्य वर्षामा समेत यात्रा गर्न समस्या छ । ‘झन् पानी परेका बेला त खतरा हुन्छ,’ स्थानीय मनमाया विश्वकर्माले भनिन्, ‘साँघुरो र कालोपत्रे उप्किएर धुलाम्मे भएकाले हिँड्नै समस्या छ ।’


मध्यपहाडी पनि
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बर्खेटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । तुवाचुङ जायजुमको बर्खेटारमा मंगलबार दिउँसो पहिरो झर्दा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्धपछि गाडी नचल्दा यात्रु अलपत्र परेका छन् । दिक्तेलदेखि काठमाडौं जाँदै गरेका यात्रु, काठमाडौंदेखि दिक्तेल आउँदै गरेका यात्रु अलपत्र परेका हुन् । त्यस्तै दिक्तेलदेखि धरान, विराटनगर आउजाउ गरिरहेका यात्रु अलपत्र परेको खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।


प्रहरीका अनुसार पहिरोले एक्साभेटरसमेत पुरेको छ । ३० मिटर लामो सडक पुरिएकाले समय लाग्ने डीएसपी केसीले सुनाए । सडक बनाउने बहानामा तुवाचुङ–जायजुममुनि एक्साभेटर प्रयोग गरी ढुंगा दोहन गर्दा त्यसको कम्पनले पहिरो खसेको स्थानीयको भनाइ छ । यस क्षेत्रको सडक निर्माणमा संलग्न सूर्य कन्स्ट्रक्सनले एक्साभेटर प्रयोग गरी ढुंगा निकालेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । गत भदौ १४ र साउन २१ गते पनि पहिरो गएको थियो । पटक–पटक पहिरो गइरहने भएकाले यो क्षेत्रमा यात्रा जोखिमपूर्ण बनेको छ ।


भत्कियो सडक, पुल जोखिममा
सोमबारको पहिरोले ताप्लेजुङको पूर्वी सिरिजंगा गाउँपालिका जोड्ने सडक अवरुद्ध बनाएको छ । निवा खोलाको पुल जोखिममा परेको छ । वडा १ सिनामको अधिकांश सडक पुरेको र भत्काएको छ । वडाध्यक्ष उर्मिला थेबेले सडक सुचारु गर्न र यातायात सञ्चालनका लागि सहयोग गर्न अपिल गरेकी छन् ।


सदरमुकाम फुङलिङवाट ओलाङचुङगोला जोड्ने उत्तर–दक्षिण लोकमार्ग पनि अवरुद्ध छ । फक्तालुङ गाउपालिका ३, लिंखिम र ४ को तापेथोकमा माथिबाट ठूलठूला ढुंगा झरेर सडक अवरुद्ध बनाएको छ । कतिपय ठाउँमा पहिरोले सडकै बगाएर लगेको छ । अहिले सदरमुकाम फुङलिङबाट साना सवारीसाधन थिवासम्म मात्रै पुग्ने गरेको छ ।


जिल्लाको पूर्वी र उत्तरी क्षेत्र जोड्ने यी निकै व्यस्त सडक हुन् । बस र ट्याक्सी गरी कम्तीमा दैनिक ४ सवारी आवागमन हुन्थ्यो । तर अवरुद्ध यी सडक कसले खुलाउने अन्योल छ । ओलाङचुङगोला जोड्ने सडक, सडक डिभिजनअन्तर्गतको उत्तर–दक्षिण लोकमार्ग आयोजना कार्यालयले हेर्दै आएको छ भने सिरिजंगाको उन्नति समावेशी कार्यक्रमले स्तरोन्नति गरिरहेको छ ।


सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङ गाउँपालिकालाई उन्नतिले जिम्मा लगाइनसकेको हुँदा अवरुद्ध सडक उसैले खुलाउनुपर्ने बताउँछन् । ‘जसले ठेक्का पाएको हो, उसैले निर्माण सम्पन्न भएको १ वर्षसम्म अवरोध पन्छाउने काम गर्नुपर्छ,’ उनले भने, ‘हामी उहाँहरू (उन्नति) सँग पन्छाइदिन अनुरोध गर्छौं ।’ यसअघिका स–साना अवरोध भने गाउँपालिकाले मेसिन भाडामा लिएर पन्छाएको गुरुङले बताए । ‘हिँड्न पूरै अवरोध भयो, ठेकदारहरू भेटिएनन्, गाउँपालिकाले नै खोल्यो, अब ठूलो बजेट चाहिने भएकाले उहाँहरूले खोलिदिनुपर्छ,’ उनले भने ।


फक्तालुङ गाउँपालिकाले पनि आयोजना कार्यालयमा सडक पन्छाइदिन लिखितै अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष सरोज एभेङ कार्यपालिकाको बैठकले निर्णय गरी पन्छाइदिन अनुरोध गरेको बताउँछन् । ‘गाउँमै सरकार भएर पनि सडक सुचारु नगर्ने भनेर जनताले दिनहुँ दबाब दिइरहेका छन्,’ उनले भने, ‘खुलाउनु हाम्रो दायित्व पनि हो तर डुब्लिकेसन हुने भएकाले हामीले खोल्न मिल्दैन ।’ आयोजनाले भने कार्यालय रहने नरहने निश्चय नभएको र माथिल्लो निकायबाट बजेट तथा कार्यक्रम नआएकाले तत्काल केही भन्न नसक्ने जवाफ दिएको छ । आयोजनाले काम गर्न नसक्ने जवाफ दिए गाउँपालिकाले बाध्य भएर खोल्नुपर्ने एभेङ बताउँछन् ।


यो सडक भएर ओलाङचुङगोला देखिका यात्रुले यात्रा गर्छन् भने सिरिजंगाको सडक भएर याम्फुदिन, मामांखेदेखिका यात्रु सदरमुकाम र तराईतिर जान्छन् । यी गाउँमा पुग्न सदरमुकामबाट पैदल हिँडेर तीन दिन लाग्छ । वर्षासँगैको पहिरोले सदरमुकाम–सिंवा, सुकेटार–फावाखोला लगायतका अरू सडक पनि अवरुद्ध बनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?