कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोप लगाउने डर देखाएर ५ लाख ठगी

२ प्रहरीसहित ३ हिरासतमा
ठाकुरसिंह थारू

नेपालगन्ज — मायालुले आफ्नो प्रेमीलाई फोन गरेर भेट्न बोलाउँछिन् । प्रेमी तुरुन्तै पुग्छन् । होटलको कोठा पहिल्यै बुक गरिएको रहेछ । दुवै कोठाभित्र पस्छन् । भलाकुसारी सुरु हुनासाथ दुई प्रहरी पनि कोठामा छिर्छन् ।

बलात्कार आरोप लगाउने डर देखाएर ५ लाख ठगी

त्यसपछि ती महिलाले आफूलाई बलात्कार गर्न खोजेको आरोप प्रेमीमाथि लगाउँछिन् । त्यस्तो आरोपपछि प्रहरीले प्रेमीलाई कुटपिट गर्छ । बलात्कार मुद्दा लगाइदिने धम्की दिएर प्रेमीसित १० लाख माग्छन् । युवकले पनि केही दिनको समय माग्छन् । ऋण खोजेर भए पनि ५ लाख रुपैयाँ बुझाएर बलात्कार मुद्दा झेल्नबाट जोगिन्छन् ।


यो फिल्मी कथा होइन । बाँकेको नेपालगन्जमा फिल्मी शैलीमा भएको ठगी घटना हो । बैजनाथ गाउँपालिका ४ की २६ वर्षीया श्रुति हमालले गत भदौ ५ गते पूर्वप्रेमी सोनु अन्सारीलाई राँझामा भेट्न बोलाइन् । अन्सारी पुगेलगत्तै उनले होटलको कोठामा पुर्‍याइन् । ‘लगत्तै दुई प्रहरीले कोठामा छापा मारे । बलात्कार गर्न खोजेको भन्दै अन्सारीलाई कुटपिट गरे,’ इलाका प्रहरी कोहलपुरका प्रमुख रमेशबहादुर सिंहले भने, ‘फिल्मी शैलीको घटना सुनियोजित थियो । योजनासाथ उक्त घटना घटाइएको हो ।’


महिलालाई प्रदान गरिएको कानुनी अधिकार दुरुपयोग गरेको आरोपमा अहिले श्रुति प्रहरी हिरासतमा छिन् । उनलाई सहयोग गर्ने संघीय प्रहरी एकाइ कार्यालयका जवान ओमप्रसाद आचार्य र दंगा नियन्त्रण प्रहरी गणका जवान जगदीश बोहरा पनि पक्राउ परेका छन् । कोहलपुर प्रहरीले तीनै जनाविरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दा दर्ता गरेको छ । घटना अनुसन्धान गर्ने भन्दै प्रहरीले गुपचुप राखेको थियो । तर, अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा ल्याएपछि सार्वजनिक भयो । प्रहरीले घटना संवेदनशील मान्दै अनुसन्धान थालेको जनायो । प्रेमीलाई प्रलोभनमा पारेर भेट्न बोलाउने र प्रहरी लगाएर पक्राउ गरी बलात्कार मुद्दा लगाउने धम्की दिँदै पैसा असुलेको घटना जिल्लामा पहिलो हो ।


यसले कानुनको दुरुपयोग गरी जोकोहीलाई फसाउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । ‘छिटो पैसा कमाउन उक्त घटना रचिएको रहेछ । प्रहरीको पनि दुरुपयोग गरियो,’ डीएसपी सिंहले भने, ‘त्यसैले यो घटना संवेदनशील छ । हामी अनुसन्धान गर्दै छौं ।’ महिलामाथि हुने यौन दुव्र्यवहार, जबर्जस्ती करणी प्रयास र बलात्कारलाई कानुनले गम्भीर अपराधका रूपमा लिएको छ ।

बलात्कार गर्नेलाई जन्मकैदसम्मको सजाय छ । तर, कतिपय अवस्थामा त्यही कानुनको दुरुपयोग गरिएको पाइएको छ । ठूला सहरमा ‘हनी ट्रयाप’ प्रवृत्ति बढेका बेला नेपालगन्जमा पनि त्यस्तै घटना भएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?