१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

स्याउ बगैंंचामा रम्छन् पर्यटक

जयबहादुर रोकाया

हुम्ला — मानसरोवर कैलाश दर्शन गरेर फर्केका एक हुल भारतीय तीर्थयात्री आफू बसेको होटलपछाडि स्याउका बोट देखेपछि रमाउँदै बगैंचा पसे । स्याउ बगैंचामा पसेर उनीहरूले झन्डै एक घण्टा फोटो खिचे र आवश्यकताअनुसार स्याउ किनेर लगे ।

स्याउ बगैंंचामा रम्छन् पर्यटक

भारतको मुम्बईबाट तीर्थाटनका लागि आएका उनीहरूले बजारमा स्याउका दाना देखे पनि रूख अहिलेसम्म नदेखेको बताए । लटरम्मै फलेका बोटसँगै फोटो खिच्दै मुम्बईकी संगीता रायले जिन्दगीमा पहिलोपटक स्याउको बोट छुन पाएको बताइन् । ‘सिमकोट अत्यन्तै रमणीय स्थल रहेछ, स्याउका रूखले झनै शोभा बढाएको छ,’ उनले भनिन्, ‘ताजा र अर्गानिक स्याउले मनै लोभ्यायो, अनि निकै स्वादिलो रहेछ ।’ उनले स्याउ बगैंचामा रमाएको खुसीमा किसानलाई ५० रुपैयाँ टिप्ससमेत दिइन् ।


हवाईजहाजको प्रतीक्षा गर्दै होटलमै आराम गरेका तीर्थयात्रीले समूह–समूहमा किसानको अनुमतिमा बगैंचामा घण्टौं रमाइलो गर्ने गरेका छन् । भारतीयले बगैंचाभित्रै व्यक्तिगत र सामूहिक फोटो खिचेका छन् । भारतीय युवादेखि ८५ वर्षकी वृद्धासम्म बगैंचामा रमाए ।


वर्षाका कारण हवाई उडानमा समस्या भएपछि अहिले भारतीय तीर्थयात्री यहाँका स्याउ बगैंचामा रमाउन पाएका छन् । मानसरोवर–कैलाश दर्शनका लागि चीन सरकारले केरुङ र हुम्लाको हिल्सामात्र खुला गरेको छ । केरुङ नाका यो वर्षमात्र खुलाएको हो । केरुङ खुलेसँगै हिल्सा नाका भएर जाने भारतीयको संख्या घटेको भारतीय दूतावासका हुम्ला प्रतिनिधि जनकबहादुर शाहीले बताए । पर्यटन व्यवसायी रिन्जनी लामाका अनुसार अघिल्लो वर्ष १२ हजार ९ सय भारतीय तीर्थयात्री यहाँबाट कैलाश–मानसरोवर गएका थिए ।


भारतीय यात्रीका अनुसार केरुङ नाकाभन्दा हिल्सा सहज र छिटो छ । हिल्सा नाका महँगो भए पनि सजिलो भएको मुम्बई घाटकोयाका कैलाश पटेलले बताए । उनले भारतीयका ट्राभल एजेन्सीमार्फत नेपालका ट्राभल एजेन्सी हुँदै तिब्बतका मार्फत यात्रा गर्नुपरेकाले महँगोमा परेको बताए ।


उनका अनुसार यात्रा अवधिभर २ लाख खर्च गर्ने सम्झौतासहित उनी मानसरोवर–कैलाश आएका हुन् । यात्रा अवधिमा नेपालभन्दा तिब्बतमा सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ । पटेलका अनुसार तिब्बतमा अक्सिजनका कारण श्वासप्रश्वासमा समस्या हुन्छ । ‘कैलाश परिक्रमा गर्न साउन पूर्णिमाका अवस्थामा घोडा पाइँदैन,’ उनले भने, ‘कसैसँग दलाई लामाको फोटो फेला परे फर्काइदिन्छ ।’


हुम्लामा सामान्यतया प्रतिगोटा ५ रुपैयाँमा स्याउ बिक्री भइरहेको छ । भारतीय तीर्थयात्रीलाई बगैंचा अवलोकन गराउन र यहाँको स्याउको महत्त्व बुझाउन सके किसान लाभान्वित हुने पर्यटन व्यवसायी बताउँछन् । यहाँ आएका अधिकांश तीर्थयात्रीले स्याउ किनेर लाने गरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?