किशोरी हत्या प्रकरण: तीजको दिन कालो पहिरन लगाएर महिलाहरु विरोधमा
कञ्चनपुर — तीजको दिन नेपाली महिलाहरु रातो पहिरन, चुरा र पोतेमा सजिन्छन् । हिन्दु नारीहरु धुमधामका साथ रमाइलो गरेर तीज मनाइरहेका छन् । तर कञ्चनपुरका महिलाहरु भने कालो पहिरनका साथ विरोधमा उत्रेका छन् ।
झण्डै डेढ महिनाअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्याय दिनुपर्ने माग गर्दै उनीहरु कालो पहिरनमा उत्रेका हुन् ।
बुधबार बिहान कालो पहिरनमा महिला तथा केही पुरुषहरुले मदन चोकमा केहिबेर धर्ना दिएपछि बजारतिर लागे । ‘आज रातो पहिरनमा सजिएर तीज बनाउनुपर्ने हो’ आन्दोलनका क्रममा घाइते भएकी मञ्जु गिरीले भनिन्, ‘यस्तो अत्याचार भएका बेला तीज कसरी मनाउने ।’ उनले निर्मलाका हत्यारा सार्वजनिक गरिनुपर्ने माग गर्दै कालो पहिरनमा विरोध जनाएको बताइन् ।
उनीहरुलाई निर्मलालाई न्याय भन्ने अभियान अन्तरगत विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । यसअघि सार्वजनिक गरिएका दिलिप विष्टलाई प्रहरीले छाडेपछि अबको अनुसन्धानका विषयमा धेरैले चासो दिएका छन् ।
उनीहरुले अब पनि अनुसन्धानमा लापरबाही हुन नहुने भन्दै सचेत पनि गराएका छन् । विष्टको डीएनए रिपोर्ट मेल नभएपछि उनलाई सरकारी वकिलको राय अनुसार छाडिएको हो । उनीसँगै बम दिदी बहिनी रोशनी र बवितालाई पनि प्रहरीले सरकारी वकिलको राय अनुसार छाडेको छ ।
प्रकाशित : भाद्र २७, २०७५ १५:४४