३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लमजुङमा बाढीपहिरोमा, ३ को मृत्यु, ४ बेपत्ता (अपडेट)

आश गुरुङ

लमजुङ — बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।

लमजुङमा बाढीपहिरोमा, ३ को मृत्यु, ४ बेपत्ता (अपडेट)

मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनीहरुलाई उपचारको लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको डीएसपी यादव ढकालले बताए ।


बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरकी अन्दाजी ४० वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको स्थानीय पूर्णबहादुर गुरुङले बताए ।


प्रहरीका अनुसार मर्स्याङ्दीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवकलाई मर्स्याङ्दीले बगाएको छ । ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालिमार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारुलाई मर्स्याङ्दीले बगाएको प्रहरीले बताएको छ । बाढीले निर्माणाधिन जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्‍याएको प्रवद्र्धक कम्पनीहरुले बताएको छ ।


यस्तै, बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म पहिरोले अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् । मर्स्याङ्दी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षको ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय जगत गुरुङले बताए ।


उनका अनुसार लामा बाटोमा हिँडिरहेका थिए । उनका अनुसार उक्त ठाउँमा ४ घर रहेकोमा पहिरोले ३ घर बगाएको छ । आमा ७० वर्षीय फूलमाया गुरुङको पहिरोमा परेर खुट्टा भाँचिएको जगतले बताए । बुवा बलराम गुरुङ पनि घाइते छन् । मर्स्याङ्दी गाउँपालिका–४ का वडाअध्यक्ष सुमन गुरुङका अनुसार भारी वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको छ । बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेको छ ।


स्याँगेस्थित खुसीराम परियारको १५ वटा बाख्रा बगाएको छ । रामबजारमा २ घर बगाएको छ । एउटा ट्रयाक्टर र ३ वटा मोटरसाइकल बगाएको छ । मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा स्थानीयका ४ घर बगाएको प्रहरीले जनाएको छ । अर्खलेबेंसीदेखि स्याँगेसम्म ३ वटा जीप पहिरोमा पुरिएको स्थानीयले बताएका छन् । च्याम्चे नजिकै पहिरो चलेपछि बेंसीसहर आउँदै गरेका मनाङका समानुपातिक संघीय सांसद कर्म घले रोकिएका छन् ।


बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको अवस्थामा बाढी र पहिरोले अलपत्र परेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार ठाउँठाउँमा बाढी र पहिरोले चक्रीय पदमार्ग घुम्न गएका पर्यटक समेत बाढी र पहिरोले अलपत्र परेका छन् । दायाँबायाँ बाढी र पहिरो चलेपछि उनीहरु बीचमै रोकिएका छन् ।


मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मर्स्याङ्दीमा अस्वभाविक रुपमा पानीको बहाव बढेको छ । ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले ड्यामको ३ वटै ढोका खोलेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक्कासी आएको बर्षापछिको बाढीपहिरोले लमजुङको विभिन्न ठाउँमा बाढी पहिरो भएको र धनजनको क्षति भएको खबर आएको बताए ।


‘हामी स्थानीयको उद्धारमा खटिएका छौं,’ उनले भने । ठाउँठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ ।


प्रकाशित : भाद्र २७, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?