लमजुङमा बाढीपहिरोमा, ३ को मृत्यु, ४ बेपत्ता (अपडेट)

आश गुरुङ

लमजुङ — बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनीहरुलाई उपचारको लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको डीएसपी यादव ढकालले बताए ।

Yamaha


बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरकी अन्दाजी ४० वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको स्थानीय पूर्णबहादुर गुरुङले बताए ।

प्रहरीका अनुसार मर्स्याङ्दीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवकलाई मर्स्याङ्दीले बगाएको छ । ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालिमार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारुलाई मर्स्याङ्दीले बगाएको प्रहरीले बताएको छ । बाढीले निर्माणाधिन जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्‍याएको प्रवद्र्धक कम्पनीहरुले बताएको छ ।

यस्तै, बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म पहिरोले अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् । मर्स्याङ्दी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षको ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय जगत गुरुङले बताए ।

उनका अनुसार लामा बाटोमा हिँडिरहेका थिए । उनका अनुसार उक्त ठाउँमा ४ घर रहेकोमा पहिरोले ३ घर बगाएको छ । आमा ७० वर्षीय फूलमाया गुरुङको पहिरोमा परेर खुट्टा भाँचिएको जगतले बताए । बुवा बलराम गुरुङ पनि घाइते छन् । मर्स्याङ्दी गाउँपालिका–४ का वडाअध्यक्ष सुमन गुरुङका अनुसार भारी वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको छ । बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेको छ ।

स्याँगेस्थित खुसीराम परियारको १५ वटा बाख्रा बगाएको छ । रामबजारमा २ घर बगाएको छ । एउटा ट्रयाक्टर र ३ वटा मोटरसाइकल बगाएको छ । मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा स्थानीयका ४ घर बगाएको प्रहरीले जनाएको छ । अर्खलेबेंसीदेखि स्याँगेसम्म ३ वटा जीप पहिरोमा पुरिएको स्थानीयले बताएका छन् । च्याम्चे नजिकै पहिरो चलेपछि बेंसीसहर आउँदै गरेका मनाङका समानुपातिक संघीय सांसद कर्म घले रोकिएका छन् ।

बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको अवस्थामा बाढी र पहिरोले अलपत्र परेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार ठाउँठाउँमा बाढी र पहिरोले चक्रीय पदमार्ग घुम्न गएका पर्यटक समेत बाढी र पहिरोले अलपत्र परेका छन् । दायाँबायाँ बाढी र पहिरो चलेपछि उनीहरु बीचमै रोकिएका छन् ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मर्स्याङ्दीमा अस्वभाविक रुपमा पानीको बहाव बढेको छ । ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले ड्यामको ३ वटै ढोका खोलेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक्कासी आएको बर्षापछिको बाढीपहिरोले लमजुङको विभिन्न ठाउँमा बाढी पहिरो भएको र धनजनको क्षति भएको खबर आएको बताए ।

‘हामी स्थानीयको उद्धारमा खटिएका छौं,’ उनले भने । ठाउँठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १७:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाउँपालिका कार्यालय गाविसमै

नयाँ संरचनाअनुसार स्थानीय तहका कार्यालय सञ्चालन भइरहे पनि जग्गाधनी पुर्जामा अझै गाविसकै नाम
आश गुरुङ

लमजुङ — पुरानो व्यवस्थाको स्थानीय निकाय हुँदा निर्माण गरिएका र प्रयोगमा रहेका कतिपय भौतिक संरचना संघीयता कार्यान्वयनपछि व्यवहारमा स्थानीय तहमा हस्तान्तरण भएका छन् । यहाँ कार्यालयहरू कानुनी रूपमा भने अझै पनि स्थानीय तहको नाउँमा गएका छैनन् ।

लमजुङको साबिक गौंडा गाविसको कार्यालयमा सञ्चालन गरिएको दूधपोखरी गाउँपालिकाको कार्यालय । तस्बिर : आश

बेंसीसहरमा रहेका कार्यालयका शाखा, उपशाखा तथा सम्पर्क कार्यालय गत आर्थिक वर्षभित्रै स्थानीय तहमा हस्तान्तरण गरिएका थिए । तर, ती पुरानै कार्यालयका नाममा छन् । हाल स्थानीय तहमा रहेका सबै गाउँपालिकाका कार्यालय साबिकका गाविसको भवनमा छन् । झन्डै १६ महिनायता स्थानीय तह बसेर कार्य सञ्चालन भइरहेको भए पनि धनीपुर्जामा नाम फेरिएका छैनन् ।


स्थानीय तहमा स्थानीय निकायको संरचना कानुनी रूपमा ल्याउन ऐन बन्नै बाँकी रहेको जनप्रतिनिधि बताउँछन् । गाविस कार्यालय हुँदा गाविस सचिव, सहायक, गाविसको स्रेस्ता र स्टोरलगायतका लागि बनाइएका भवनमा हाल गाउँपालिकाका कार्यालय छन् ।


दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङका अनुसार गाउँपालिकाको कार्यालय साबिक गौंडा गाविसको कार्यालयबाट सञ्चालन हुँदै आएको छ । हाल दूधपोखरी गाउँपालिका ६ गौंडामा रहेको कार्यालयलाई वडा ३ र ४ को सीमाक्षेत्र इलमपोखरी लेपारचोकमा सार्ने निर्णय भएको छ । तर, जोर्नेबाट उक्त ठाउँसम्म सडकको ट्रयाकसमेत खुलेको छैन । ‘लेपारचोकमा अब प्राविधिक पठाउँछौं । अनि मात्रै कार्यालयका भवन बनाउने कुरा अघि बढ्छ,’ उनले भनिन् । गाउँपालिकाको छुट्टै कार्यालय नभएको र विभिन्न उपशाखाहरू भाडाको घरमा बस्न बाध्य भएको उनले बताइन् ।


क्व्होलासोंथर गाउँपालिकाको कार्यालय साबिक मालिङ गाविसको कार्यालयमा छ । द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीले भत्काएको उक्त कार्यालय पुनर्निर्माण गरिएको छ । हाल क्व्होलासोंथर २ मा पर्ने उक्त भवनमा क्व्होलासोंथर गाउँपालिकाको कार्यालय छ । गाउँपालिका अध्यक्ष प्रेम घलेका अनुसार साबिक गाविस भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यालय छ । अन्य शाखाहरू शारदा माविको छात्रावास भवनमा राखिएको छ । ‘गाउँलेले जग्गा दान गर्नेबारे कुरा अघि बढेको छ । जग्गा व्यवस्थापनपछि हामी भवन बनाउँछौं । त्यसपछि सहज हुन्छ,’ उनले भने ।


दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार गाउँपालिका कार्यालय साबिक कृषि सेवा केन्द्रको भवनमा छ । तत्कालीन विद्रोही माओवादीले द्वन्द्वकालमा आगो लगाइदिएपछि ध्वस्त संरचना शान्ति स्थापनापछि कृषि सेवा केन्द्र पुन:स्थापना गरिएको थियो । उक्त भवन गाउँपालिकाले मर्मत गरी कार्यालय सञ्चालन गरेको अध्यक्ष गुरुङले बताए । ‘हामीले भवनको मर्मत गरेर कार्यालय चलाएका छौं । छानो चुहिने भएको छ,’ उनले भने, ‘यही जग्गामा नयाँ भवन बनाउने सोच बनाएका छौं ।’ उनका अनुसार कृषि सेवा केन्द्र गाउँपालिकाको नाममा आए पनि जग्गा नामसारी भने अझै भइसकेको छैन ।


मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिका कार्यालय साबिक भुलभुले गाविसको कार्यालयमा सञ्चालन गरिएको बताए । उक्त कार्यालय हाल मस्र्याङदी गाउँपालिका ८ मा पर्छ । कृषि र पशुको शाखा खुदीमा छ । उनीहरू यसअघि स्थानीय निकाय हुँदा निर्माण भएका कार्यालयमै बसेका छन् ।


शिक्षा, स्वास्थ्य लगायत शाखालाई पञ्चविचार प्राविको भवनमा राखिएको छ । ‘गाउँपालिकाको नाममा जग्गा छैन । यसअघिको गाविस भवनको नामको जग्गा गाउँपालिकाको नाममा ल्याइएको छैन । कार्यालय निर्माणका लागि जग्गाको अभाव छ’ उनले भने । उनका अनुसार साँघुरो संरचनामा जसोतसो काम गर्दै आइएको छ । ‘हिजोको स्थानीय निकायको नामका संरचना स्थानीय तहमा आइसकेको छ । तर, स्थानीय तह हाम्रो मातहातमा आएको पुर्जा भने बनेको छैन,’ उनले भने ।


जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले हिजोका सबै संरचना स्थानीय तहमा हस्तान्तरण भइसकेको बताए । ‘सबै सम्पत्ति स्थानीय तहमा गइसकेको छ । यो स्थानीय तहको सम्पत्ति हो,’ उनले भने, ‘स्वत: गइसकेको सम्पत्ति यत्तिकै राख्ने वा नामसारी गर्ने त्यो स्थानीय तहको काम हो । सायद विस्तारै गर्लान् ।’

प्रकाशित : भाद्र २७, २०७५ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT