१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मन्दिरको चापाकलमा पानी पिउँदा दलितलाई कुटपिट, एकको अवस्था गम्भीर

भूषण यादव

वीरगन्ज — त्रिभुवन राजमार्गसँगै जोडिएको बाराको परवानीपुर गाउँपालिकामा गत आइतबार मन्दिर परिसरमा रहेको चापाकलमा एक दलित बालकले पानी खाएको विषयमा कुटपिट गरिएको छ ।घाइतेको वीरगन्ज महानगरपालिका–१४ स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।  

मन्दिरको चापाकलमा पानी पिउँदा दलितलाई कुटपिट, एकको अवस्था गम्भीर

घाइते मध्येका ३५ वर्षीय सुमन रामको मेरुदण्डमा चोट लागेकाले उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।


अन्य दुईजनाको उपचार चलिरहेको छ । परवानीपुर गाउँपालिका–३ का वडाअध्यक्ष अनिल रामका अनुसार आइतबार साँझ १० वर्षीय बालक राकेश राम श्रीराधा कृष्ण मन्दिर परिसरमा खेल्ने क्रममा त्यही रहेको चापाकलमा पानी पिएका थिए । मन्दिरका पुजारीले दलितको छोरा भएर किन पानी खाएको भन्दै २/३ थप्पड हिर्काउँदै धपाए । राकेशले आफ्नो आमालाई उक्त घटना बताएपछि उनीहरु पुजारीकोमा पुगेका थिए ।


वडाअध्यक्षका अनुसार बच्चाले पानी खाँदैमा किन पिटेको भनि आमाले आक्रोश पोखिन् । ‘त्यसबखत मन्दिरमा उपस्थित वडाका केही भद्रभलादमीहरुले दुवै पक्षलाई सम्झाई बुझाई फर्काएका थिए,’ बुधबार अस्पतालमा भेटिएका वडाअध्यक्ष रामले भने, ‘त्यसपछि केही बेरमै एक्कासी झडपको अवस्था आयो, दुबै पक्षलाई सम्झाउने क्रममा ढुंगा प्रहारले म आफैं घाइते भएँ ।’


घाइते भएका उमेद रामले मुलुकबाट छुवाछुत प्रथा कानुनीरुपले हटिसके पनि पानी खाएकै विषयमा मरणासन्न हुने गरी पिटाई खाएको गुनासो गरे । ‘मन्दिरको चापाकलमा पानी खाएकै विषयमा किन कुटपिट गरेको भन्दै हामी बुझ्न मन्दिर पुगेका थियौँ,’ अस्पतालमा उपचार गराइरहेका रामले भने, ‘त्यहाँ रहेका प्रहरीले हामीलाई फर्काए ।’


उनका अनुसार घर फर्किने क्रममा बाटोमै वडाअध्यक्ष अनिल भेटिए । ‘घटना बारे छलफल गर्दै थियौं अचानक पछाडिबाट केही व्यक्ति आएर आक्रमण गरे,’ उनले भने, ‘मेरो छोरा र माहिलो भाईलाई पनि कुटे ।’


चार दिन अगाडिको उक्त घटना सम्झिँदै उनी बारम्बार भक्कानिएका थिए । उमेद उपचार गराइरहेका शैय्याकै छेउमा उनका १७ वर्षीय छोरा आकाश रामको पनि उपचार भइरहेको छ । बाँसको भाटाको प्रहारले उनको टाउको फुटेको छ । बायाँ आँखामा र शरिर भरि डाम छ । टाउकोमा तीनवटा टाँका लागेको छ ।


‘सरकारले छुवाछुत हटाएको भनेपनि आज यस्तो अवस्था भोग्नुपर्‍यो,’ गम्भीर बन्दै उमेदले प्रश्न गरे, ‘के दलितको घरमा जन्मिनु अपराध हो ।’ सोही अस्पतालको आईसीयू कक्षमा उनका महिलो भाई सुमनको उपचार भइरहेको छ ।


‘व्यायाम गर्ने रडले भाइलाई पिठ्यँुमा हिर्काएका थिए,’ उनले भने, ‘भाइको शरिरको बाँया भाग सुन्निएको छ, हात र खुट्टा चलेका छैनन् ।’


आकाशका अनुसार मन्दिरका पुजारीले बच्चा पिटे तर, अर्को पक्षले ‘तिमीहरुले किन बाबालाई पिटिस्’ भन्दै हामीमाथि आक्रमण गरे, सम्झाउन गएका सुमन काका भुइमा लडेपछि रडले हिर्काए । उनका अनुसार घर अगाडि नै त्यो समूहले पिटेको थियो ।


‘परवानीपुर चौकीका प्रहरी त्यहाँ उपस्थित भएपनि उनीहरुले हामीलाई मात्र रोकिरहेका थिए,’ आकाशले भने । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवाश हमालले गाउँमा केही दिन अगाडि लागेको मेलाबाट संकलन भएको रकमको विषयमा दुई पक्षबीच झडप भएको बताए ।


‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘तर, दलित र गैरदलितबीच कुटाकुट भएको हैन ।’ स्थानीय तिवारी यादवका अनुसार मन्दिरका पुजारीलाई स्थानीय केही युवाहरुले विगतदेखि नै विभिन्न बहानामा जिस्काउने गरेका थिए ।


‘त्यसदिन पनि चापाकल वरिपरि राकेश राम साइकल चलाउँदै पुजारीलाई जिस्काइरहेका थिए,’ उनले भने, ‘साँझ पुजा गर्ने बेलामा चापाकलमा पुजाका सामग्री सफाई गर्नुपर्ने हुनाले बाबाले राकेशलाई त्यहाँबाट हट्न भनेका थिए । नमानेपछि एक थप्पड हिर्काए ।’


राकेशको आमासहित आएका महिला र युवाहरुले पुजारीलाई दुव्र्यवहार गरेपछि अर्को पक्षले कुटपिट गरेको यादवको दाबी छ । दोहोरो झडपको क्रममा अर्को पक्षबाट कृष्ण सर्राफ, भुलन यादव, दिपक यादव र दिपेश यादव घाइते भएको उनले जनाए । वडाअध्यक्ष अनिल रामले सामाजिक दण्डबाटै समस्या निराकरण गरिने बताए । ‘सबै जातजातिका अगुवालाई भेला गराई निकाश निकाल्छौँ,’ उनले भने ।


प्रकाशित : भाद्र २७, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?