मन्दिरको चापाकलमा पानी पिउँदा दलितलाई कुटपिट, एकको अवस्था गम्भीर

भूषण यादव

वीरगन्ज — त्रिभुवन राजमार्गसँगै जोडिएको बाराको परवानीपुर गाउँपालिकामा गत आइतबार मन्दिर परिसरमा रहेको चापाकलमा एक दलित बालकले पानी खाएको विषयमा कुटपिट गरिएको छ ।घाइतेको वीरगन्ज महानगरपालिका–१४ स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।  


घाइते मध्येका ३५ वर्षीय सुमन रामको मेरुदण्डमा चोट लागेकाले उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

Yamaha


अन्य दुईजनाको उपचार चलिरहेको छ। परवानीपुर गाउँपालिका–३ का वडाअध्यक्ष अनिल रामका अनुसार आइतबार साँझ १० वर्षीय बालक राकेश राम श्रीराधा कृष्ण मन्दिर परिसरमा खेल्ने क्रममा त्यही रहेको चापाकलमा पानी पिएका थिए। मन्दिरका पुजारीले दलितको छोरा भएर किन पानी खाएको भन्दै २/३ थप्पड हिर्काउँदै धपाए। राकेशले आफ्नो आमालाई उक्त घटना बताएपछि उनीहरु पुजारीकोमा पुगेका थिए।

वडाअध्यक्षका अनुसार बच्चाले पानी खाँदैमा किन पिटेको भनि आमाले आक्रोश पोखिन्। ‘त्यसबखत मन्दिरमा उपस्थित वडाका केही भद्रभलादमीहरुले दुवै पक्षलाई सम्झाई बुझाई फर्काएका थिए,’ बुधबार अस्पतालमा भेटिएका वडाअध्यक्ष रामले भने, ‘त्यसपछि केही बेरमै एक्कासी झडपको अवस्था आयो, दुबै पक्षलाई सम्झाउने क्रममा ढुंगा प्रहारले म आफैं घाइते भएँ।’

घाइते भएका उमेद रामले मुलुकबाट छुवाछुत प्रथा कानुनीरुपले हटिसके पनि पानी खाएकै विषयमा मरणासन्न हुने गरी पिटाई खाएको गुनासो गरे। ‘मन्दिरको चापाकलमा पानी खाएकै विषयमा किन कुटपिट गरेको भन्दै हामी बुझ्न मन्दिर पुगेका थियौँ,’ अस्पतालमा उपचार गराइरहेका रामले भने, ‘त्यहाँ रहेका प्रहरीले हामीलाई फर्काए।’

उनका अनुसार घर फर्किने क्रममा बाटोमै वडाअध्यक्ष अनिल भेटिए। ‘घटना बारे छलफल गर्दै थियौं अचानक पछाडिबाट केही व्यक्ति आएर आक्रमण गरे,’ उनले भने, ‘मेरो छोरा र माहिलो भाईलाई पनि कुटे।’

चार दिन अगाडिको उक्त घटना सम्झिँदै उनी बारम्बार भक्कानिएका थिए। उमेद उपचार गराइरहेका शैय्याकै छेउमा उनका १७ वर्षीय छोरा आकाश रामको पनि उपचार भइरहेको छ। बाँसको भाटाको प्रहारले उनको टाउको फुटेको छ। बायाँ आँखामा र शरिर भरि डाम छ। टाउकोमा तीनवटा टाँका लागेको छ।

‘सरकारले छुवाछुत हटाएको भनेपनि आज यस्तो अवस्था भोग्नुपर्‍यो,’ गम्भीर बन्दै उमेदले प्रश्न गरे, ‘के दलितको घरमा जन्मिनु अपराध हो।’ सोही अस्पतालको आईसीयू कक्षमा उनका महिलो भाई सुमनको उपचार भइरहेको छ।

‘व्यायाम गर्ने रडले भाइलाई पिठ्यँुमा हिर्काएका थिए,’ उनले भने, ‘भाइको शरिरको बाँया भाग सुन्निएको छ, हात र खुट्टा चलेका छैनन्।’

आकाशका अनुसार मन्दिरका पुजारीले बच्चा पिटे तर, अर्को पक्षले ‘तिमीहरुले किन बाबालाई पिटिस्’ भन्दै हामीमाथि आक्रमण गरे, सम्झाउन गएका सुमन काका भुइमा लडेपछि रडले हिर्काए। उनका अनुसार घर अगाडि नै त्यो समूहले पिटेको थियो।

‘परवानीपुर चौकीका प्रहरी त्यहाँ उपस्थित भएपनि उनीहरुले हामीलाई मात्र रोकिरहेका थिए,’ आकाशले भने। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवाश हमालले गाउँमा केही दिन अगाडि लागेको मेलाबाट संकलन भएको रकमको विषयमा दुई पक्षबीच झडप भएको बताए।

‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘तर, दलित र गैरदलितबीच कुटाकुट भएको हैन।’ स्थानीय तिवारी यादवका अनुसार मन्दिरका पुजारीलाई स्थानीय केही युवाहरुले विगतदेखि नै विभिन्न बहानामा जिस्काउने गरेका थिए।

‘त्यसदिन पनि चापाकल वरिपरि राकेश राम साइकल चलाउँदै पुजारीलाई जिस्काइरहेका थिए,’ उनले भने, ‘साँझ पुजा गर्ने बेलामा चापाकलमा पुजाका सामग्री सफाई गर्नुपर्ने हुनाले बाबाले राकेशलाई त्यहाँबाट हट्न भनेका थिए। नमानेपछि एक थप्पड हिर्काए।’

राकेशको आमासहित आएका महिला र युवाहरुले पुजारीलाई दुव्र्यवहार गरेपछि अर्को पक्षले कुटपिट गरेको यादवको दाबी छ। दोहोरो झडपको क्रममा अर्को पक्षबाट कृष्ण सर्राफ, भुलन यादव, दिपक यादव र दिपेश यादव घाइते भएको उनले जनाए। वडाअध्यक्ष अनिल रामले सामाजिक दण्डबाटै समस्या निराकरण गरिने बताए। ‘सबै जातजातिका अगुवालाई भेला गराई निकाश निकाल्छौँ,’ उनले भने।

प्रकाशित : भाद्र २७, २०७५ १८:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ग्यास बुलेट रक्सौलमा अलपत्र

भूषण यादव

रक्सौल(भारत) — सीमावर्ती भारतीय प्रहरीको ज्यादतीले नेपालका लागि खाना पकाउने एलपीजी ग्यास बोकेर आउने एक सय ७५ बुलेट गाडी तीन दिन देखि अलपत्र परेका छन् ।

रक्सौलभन्दा करिब ११ किलोमिटर दक्षिण गम्हरियामा एलपीजी ग्यास भारतको राष्ट्रिय राजमार्गको दाँया बाँया रोकिएका छन् ।

गत बुधबार रक्सौल थानाका प्रहरीले आइसीपी जाने क्रममा सुरुमा १६ वटा एलपीजी बुलेटका चालकसँग कागजपत्र खोसेको थियो । त्यसपछि अन्य चालकपनि आइसीपीतर्फ आउन मानेका छैनन् । चालकका अनुसार ओभरटेक गरेको आरोपमा प्रहरीले कागजपत्र लिएर थानामा सम्पर्क गर्न भनेको थियो ।

सडकमा गाडी पार्क गरी लगातार तीन दिनसम्म थाना धाउँदा पनि प्रहरीले कागजपत्र नदिएको चालकले गुनासो गरेका छन् । बुधबारपछि आएका एलपीजी बुलेटका गाडीहरु उतै रोकिएका छन् । प्रज्वलनशील पदार्थ बोकेका गाडी ठाउँ पाउने बित्तिकै ओभेरटेक गरेर अगाडि बढने यसअघि सहमति भएको चालक दाबी गर्छन् ।

गत चैतमा नेपालतर्फको आइसीपी सञ्चालनमा आएपछि एलपीजी बुलेट रक्सौल बजार नभई लक्ष्मीपुरबाट बाइपास सडक हुँदै आइसीपी पुग्ने गरेका छन् । यसअघि बजार क्षेत्र भएर जाँदा रक्सौल थानाले प्रति बुलेट तीन सय भारतीय रुपियाँ असुल्दै आएको थियो ।

चैतदेखि बाटो परिवर्तन भएपछि चालकहरुले अतिरिक्त रकम दिन छाडेका थिए । सम्वद्ध स्रोतका अनुसार प्रहरीले पुन: पैसा लिनका लागि अनावश्यक दु:ख दिएको हो । दैनिक करिब ३५ देखि ४० एलपीजी बुलेट जाँचपास हुने नाकामा विगत ३ दिनदेखि एउटा एलपीजी बुलेटपनि नआएको वीरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष बालकृष्ण बस्नेतले जनाए ।

नेपाल आयल निगमले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासलाई ध्यानाकषर्ण गराएपछि शुक्रबार अपरान्ह रक्सौल प्रहरी १६ वटा गाडीको कागजात लिएर आफै गम्हरीया पुगेको थियो । चालकहरु बसेका एक लाइन होटलमा प्रहरीले कागजात बुझेर गाडी लिएर जान भनेका थिए ।

चालहरुले आइन्दा दु:ख नदिने लिखित आश्वासन दिए मात्र गाडी अगाडि बढाउने जवाफ दिएका थिए । ‘आइसीपी पुगुन्जेल रक्सौल थाना, हरैया थाना र एसएसबी चेक प्वाइन्ट पर्छ,’ एक चालकले भने, ‘एकजनालाई पैसा दिए तीन ठाउँमै दिनुपर्छ । गत चैत अगाडि रक्सौल बजार भएर गाडीहरु भन्सार पुग्दा प्रहरीले धकेडिया (प्रहरीको पैसा संकलनकर्ता) मार्फत पैसा उठाउने गरेका थिए ।’

नेपाल आयल निगम वीरगन्जका प्रमुख जगदीश यादवले बुधबार रक्सौल प्रहरीले कागजात लिएदेखि बुलेट गाडी नआएको बताए । ‘ओभरटेकको आरोपमा कागजपत्र लिएका थिए,’ उनले भने, ‘अहिले कुरा मिलीसकेको जानकारी पाएका छौँ, बेलुका सम्म एलपीजी गाडी आउँछन् ।’

यसैगरी नेपाली तेल उद्योगका लागि हल्दियाबाट कच्चा तेल बोकेर आउने गाडी पनि कागजपत्र बिना अड्किएका छन् । तेल बोक्ने ५० वटा गाडी गत शनिबारदेखि अलपत्र परेका हुन् । ‘आइसीपी जाने क्रममा प्रहरीले ट्राफिक नियम उल्लघंन गरेको भन्दै कागजपत्र लियो,’ चालक निरन्जन सिंहले भने, ‘कागज पाउने आशमा सुरुमा दिनको चार सय ७२ भारतीय रुपियाँ तिरेर ४ दिन आइसीपीको पार्किङमा गाडी राख्यो, त्यसपछि चलानकै भरमा भन्सारमा गाडी जाँचपास गराई नेपालको उद्योगमा अनलोड गर्‍यो ।’

अनलोड गरेर आएको पनि ३ दिन बितिसक्यो तैपनि प्रहरीले कागजात दिन नमानेको उनले गुनासो गरे । ओभरटेक गरेबापत जरिवाना गरी छाड्नुपर्नेमा विगत एक सातादेखि कागजपत्र लिएर अलपत्र पारेको चालकहरुले गुनासो गरेका छन् । नेपालमा कच्चा तेल अनलोड गरी फर्किएका चालक दिनहुँ थाना धाइरहेका छन् । ‘थाना जाँदा यताबाट सवारी पाउँछ,’ नितेन्द्र सिंहले भने, ‘थानामा कुर्दा कुर्दै राति भइसक्छ, उताबाट पैदल फर्किन्छौँ ।’

प्रकाशित : भाद्र २२, २०७५ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT