बन्दरगाहको नाका खुल्यो, बाटो छैन

आनन्द गौतम

ताप्लेजुङ — चीनले ओलाङचुङगोलालाई समुद्री बन्दरगाहसम्म पुग्ने नाकाको रूपमा खुलाए पनि त्यहाँसम्म पुग्ने सडक अव्यवस्थित छ । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि चीनको तिब्बतसँग सिमाना जोड्ने सडक निर्माणको काम १२ वर्षमा बल्ल ४४ किलोमिटर हुँदै छ ।

बन्दरगाहको नाका खुल्यो, बाटो छैन

सुकेटार विमानस्थलबाट सुरु भएको ट्रयाक खोल्ने काम फक्तालुङ गाउँपालिका ६ लेलेप पुगेको छ । अब ३० किलोमिटर ट्रयाक खोल्न बाँकी छ । बनाइएको स्थानमा सडक निकै साँघुरो छ ।

सुकेटारदेखि रानीपुलसम्मको ४० किलोमिटर सडक यसअघि नै निर्माण भएको हो । यो वर्षदेखि कामको जिम्मा काठमाडौंको एलाइट निर्माण कम्पनीलाई दिइएको छ । उसले ३९ करोड ७६ लाखमा कामको जिम्मेवारी पाएको हो ।


यो रकमले ओलाङचुङगोला पुग्नेमा ठेकदार कम्पनी नै विश्वस्त छैन । निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछाने बाटोमा पर्ने चट्टानमा भरपर्ने बताउँछन् । ‘खन्दै जाँदा कस्तो चट्टान निस्कन्छ त्यसमा भरपर्छ,’ उनले फोनमा भने, ‘सामान्य खाले चट्टान निस्कियो भने ओलाङचुङगोलाको बस्तीसम्म पुग्न पनि सक्छ, कडा निस्कियो भने यसै भन्न सकिन्न ।’


कम्पनीले जिम्मेवारी पाएपछि रानीपुलदेखि साढे ४ किलोमिटर ट्रयाक खोलेको छ । चट्टान नभएको यो सडक निर्माणमा दुई करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । अब निर्माण हुने सडकको चौडाइ १० मिटर बनाउन प्राविधिकले अनुमति दिएका छन् । पहिला खनिएका सडकको चौडाइ भने ठूला सवारी चल्ने अवस्थाको छैन ।


यो खण्डमा सबैभन्दा बढी चट्टान लुङथुङदेखि छ । टँसीगाउँ र लुङथुङको बस्तीपछि धेरै चट्टान रहेको राजीव बताउँछन् । यहाँ भने ब्लास्टिङ हानेरै फुटाउनुपर्ने भएकाले धेरै खर्च हुनसक्ने कम्पनीको अनुमान छ । ओलाङचुङगोलाका बासिन्दाले भने गोलाको बस्तिबाट पनि ट्रयाक खोल्न अनुरोध गरेका छन् ।


मेसिन नेपालबाट लैजान सक्ने भए पनि डिजेल ल्याउन समस्या हुने भएकाले कम्पनीले मेसिन लगेको छैन । स्थानीयले उपभोक्तालाई जिम्मा दिएर काम गराउन अनुरोध गरिरहेका छन् ।

नेपाल र चीनको सिमाना टिप्ताला भन्ज्याङदेखि गोलाको बस्तीसम्म यसअघिनै स्थानीयले ट्रयाक खोलेर सडक जोडेका छन् । ओलाङचुङगोलामा जन्मेर देशविदेशमा बसेकाहरूले रकम संकलन गरेर २४ किलोमिटर सडक निर्माण गरेका हुन् । तर बीचमा पुल र मर्मत नहुँदा अहिले नै सडक नचल्ने अवस्थामा पुगिसकेको छ ।


सडकको मर्मत तथा पुल निर्माणमा सरकारले बेवास्ता गरेको छ । अहिले खोलिएको ट्रयाकमा फक्तालुङ गाउँपालिका ५ र ६ नम्बर वडाको लेलेप र तापेथोक जोड्ने तमोर नदीमाथि ठूलो पुल बनाउनुपर्छ । सिसेवा, तावा, थिवा, सिस्नेखोला, हाङदेवा, फुरुम्बु खोलामा पुल बनाउनु अनिवार्य छ । अहिलेसम्म फुरुम्बु खोलामा मात्रै पुल बनाइएको छ । ट्रयाक खोल्दा तीनदेखि छ मिटरसम्मको मात्रै भएकाले माथिबाट ढुंगा झरे पनि सडक अवरुद्ध हुने गरेको छ ।


आयोजना रातो किताबबाटै हट्यो

उत्तर दक्षिण लोकमार्ग आयोजनालाई सरकारले ‘रातो किताब’ बाटै हटाइदिएको छ । वर्तमान अर्थमन्त्रीको वजेट वक्तव्यमा प्राथमिकतामा नपरेको सडकका लागि यो वर्ष वजेट नछुट्याइएको हो । यही सडकको नाममा १२ वर्षअघि खोलिएको उत्तर दक्षिण लोकमार्ग आयोजनाको कार्यालय पनि बस्ने कि उठ्ने अन्योल छ ।


पूर्व सांसद डम्बरध्वज तुम्बाहाम्फे बजेट नदिएर सरकारले कार्यालय उठाउन खोजेको आशंका व्यक्त गर्छन् । रातो कितावबाट आयोजना हटाएर अन्याय गरेको पनि तुम्बाहाम्फेको गुनासो छ । उनले यो विषयमा आफूले प्रतिनिधिसभा सदस्य र मन्त्रालयमा समेत ध्यानाकर्षण गराएको बताए ।


प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सडकलाई रकम अभाव हुन नदिन पहल गर्ने बताउँछन् । यो सडक निर्माण भए संखुवासभाको किमाथांकाभन्दा सय मिटर दूरी छोटो हुन्छ । अझ तमोर नदीको किनारै किनार निर्माण भइरहेको तमोर करिडोरबाट २ सय ५१ किलोमिटरमा टिप्ताला भन्ज्याङवाट विराटनगरको रानी भन्सार जोडिन्छ ।


प्रकाशित : भाद्र २७, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?