नेकपा सचिवालय बैठक- एकीकरणका थप मापदण्ड बनाइने

काठमाडौँ — पूर्वएमाले र पूर्वमाओवादीका तल्ला कमिटी एकीकरण टुंग्याउन गठित कार्यदलले पेस गरेका प्रतिवेदन विवादित भएपछि नेकपाले थप मापदण्ड बनाउने भएको छ । सचिवालयको बुधबारबाट सुरु बैठकमा मापदण्ड तय गर्ने विषयमा छलफल भएको छ । 

नेकपा सचिवालय बैठक- एकीकरणका थप मापदण्ड बनाइने

दुवै पार्टीका तर्फबाट वरिष्ठता र क्षमताका आधारमा पार्टी कमिटीलाई नेतृत्व दिनुपर्ने प्रस्ताव महासचिव विष्णु पौडलले सचिवालयले बैठकमा पेस गरेका छन् ।


सबै जिल्ला र प्रदेशबाट आएका प्रतिवेदनको ठेली लिएर उनी बैठकमा पुगेका थिए । बैठकमा नेताहरूले एकीकरण प्रक्रियामा ढिलाइ भएकाले छिटो सहमति गर्नुपर्ने धारणा राखे । प्रवक्ता नारायणकाजी श्रेष्ठले मापदण्ड तय गरी छिटो एकता प्रक्रिया टुंग्याउन छलफल अघि बढेको बताए । गत जेठ ३ मा केन्द्रमा पार्टी एकीकरण भए पनि तल्ला कमिटी एकीकरण भएका छैनन् ।


सबै तहको एकीकरण पूरा गर्न प्रदेश र जिल्लास्तरका कार्यदल बनाइएको थियो । तर नेतृत्वका आकांक्षी धेरै हुनुका साथै दुई पक्षले कुन जिल्ला र प्रदेशमा कुन पद लिने भन्ने विवाद देखिएपछि कार्यदलले सहमतिसहितको प्रतिवेदन बुझाउन सकेनन् । तीनै प्रतिवेदनमा केन्द्रित रहेर सचिवालयमा छलफल सुरु भएको छ । बिहीबार पुन: बस्ने सचिवालयको बैठकले ठोस मापदण्ड र दुई पक्षले लिने पद एवं स्थान टुंगो लगाउने सम्भावना छ ।


तल्लो तहसम्मको एकता प्रक्रिया पूरा नहुँदा नेकपाका पार्टी गतिविधि सुस्ताएका छन् । त्यसैले छिटो प्रक्रिया पूरा गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । बुधबारको बैठकमा बिमस्टेक सम्मेलन, चीनसँग पारवहन प्रोटोकलमा सहमति, अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणलगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित : भाद्र २७, २०७५ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?