कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

किशोरी बलात्कार र हत्या प्रकरण- प्रमाण लुकाउनेमाथि नै अनुसन्धान हुनुपर्छ : कानुनविद्

लापरबाही गर्ने जोसुकै होस्, कारबाही हुन्छ : डीआईजी

महेन्द्रनगर — निर्मला पन्त हत्यापछि प्रमाण नष्ट गर्न संलग्न हुनेहरूमाथि नै अबको अनुसन्धान केन्द्रित हुनुपर्ने कानुनविद्हरूले बताएका छन् । 

किशोरी बलात्कार र हत्या प्रकरण- प्रमाण लुकाउनेमाथि नै अनुसन्धान हुनुपर्छ : कानुनविद्

‘अनुसन्धानमा समस्या नै छैन, घामजत्तिकै छर्लंग छ,’ वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टले कान्तिपुरसँग भने, ‘जसले अनुसन्धान गरिराखेको थियो, जसमाथि औंला सोझिएको छ, उनीहरूले जवाफ दिनुपर्‍यो । प्रमाण तिनीहरू आफैं हुन् ।’ उनले घटनाको प्रमाण नष्ट गरेर निर्दाेषलाई फसाउन खोज्ने कारण के हो र कसलाई जोगाउन प्रमाण ढाकछोप गर्न खोजियो भन्ने जवाफ उनीहरूले दिनुपर्ने बताए ।


‘अनुसन्धानमा संलग्न भएकाहरूले नै प्रमाण नष्ट गर्नुपर्ने र दोषीका रूपमा डमी खडा गर्नुपर्ने अवस्था किन आयो ?’ उनले भने, ‘नयाँ फौजदारी मुलुकी संहितामा समेत प्रमाण नष्ट गर्नेलाई कैद, जरिवाना र क्षतिपूर्तिको व्यवस्था भएकाले लापरबाही गर्ने र प्रमाण नष्ट गर्नेहरू उम्किन पाउनुहुन्न ।’


प्रहरीको जिम्मेवारी नै घटना अनुसन्धान र शान्तिसुरक्षा भए पनि त्यस्तो हुन नसकेको उनले बताए । थ्रेट आएको भन्दै राजीनामा दिने उच्चस्तरीय छानबिन समितिका सदस्यलाई थ्रेट दिने व्यक्तिको पहिचान गर्नुपर्ने उनको भनाइ छ । ‘प्रत्यक्ष प्रमाण र परिस्थितिजन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढ्नुपर्छ,’ उनले भने, ‘शक्तिशाली अपराधी भनिएको छ, अहिले राज्यभन्दा शक्तिशाली को छ ?’ उनले घटनास्थलमा प्रहरीबाटै प्रमाण नष्ट गर्ने काम भएकाले यस्तो काम कसका लागि भएको हो, छानबिन हुनुपर्ने बताए ।


स्थानीयले पनि विष्ट र बम दिदीबहिनीलाई छाडेपछि अनुसन्धान नयाँ ढंगले अघि बढाउनुपर्ने माग गरेका छन् । ‘प्रहरीले अहिलेसम्म दिलीपलाई नै अपराधी हो भनिरहेको थियो,’ नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले भनिन्, ‘अब वास्तविक अपराधी सार्वजनिक गरिनुपर्छ ।’ उनी न्याय माग्दै निर्मलाका बुवा यज्ञराज, आमा दुर्गादेवी र महिला अधिकारकर्मीसँगै काठमाडौं पुगेकी छन् ।


लापरबाही गर्ने जोसुकै होस्, कारबाही हुन्छ : डीआईजी

प्रदेश ७ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी सुरज केसीले प्रारम्भिक अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकृतमाथि कारबाही हुने बताए ।


‘घटनालगत्तै अनुसन्धानमा संलग्न भएकाहरूमध्ये जो, जसबाट गल्ती भएको छ, उनीहरूलाई हदैसम्म कारबाही हुनेछ,’ केसीले भने, ‘सरुवा भएर अन्यत्र गएका अधिकृतहरूलाई झिकाएर नयाँ चरणको अनुसन्धान सुरु हुन लागेको छ ।’ अनुसन्धानमा समय लागे पनि दोषीलाई उम्कन नदिने दाबी उनले गरे । ‘प्रहरीले घटनाका दोषीलाई पत्ता लगाएरै छाड्छ,’ उनले भने, ‘शंकास्पद रूपमा नाम उल्लेख भएका व्यक्तिहरूको पनि डीएनए परीक्षण गरिनेछ ।’


अनुसन्धानमा संलग्न प्रहरीले भने अनुसन्धान साँघुरिँदै गएको दाबी गरेका छन् । ‘अब फराकिलो ठाउँबाट अनुसन्धान साँघुरिँदै गएको छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं घटनाका अनुसन्धान अधिकृतसमेत तोकिएका कृष्णराज ओझाले भने, ‘एकातिर डीएनए डेभलप भएको छ, अर्कातिर हामीले पनि एउटा बाटो पहिल्याएका छौं, अब छिट्टै अपराधी पत्ता लाग्छ ।’


दिलीपको डीएनए निर्मलाको शरीरबाट लिइएको नमुनासँग नमिलेपछि उनलाई मंगलबार छाडिएको थियो । ‘अब धेरै गाह्रो छ्रैन, शंकास्पदको डीएनए परीक्षण गर्नेबित्तिकै मेल भए ठोस प्रमाणसहित अपराधी सार्वजनिक हुन्छ,’ उनले भने, ‘हामीले केही शंकास्पदको डीएनए परीक्षणका लागि पठाउने तयारी पनि गरिरहेका छौं ।’



प्रकाशित : भाद्र २७, २०७५ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?