कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गोली लागेका दुई अझै गम्भीर

कञ्चनपुर/काठमाडौं — निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ । दोषी पत्ता लगाउन माग गर्दा भदौ ७ र ८ मा प्रहरीको गोली लागेर घाइते भएका उनीहरू काठमाडौंमा उपचाररत छन् ।

गोली लागेका दुई अझै गम्भीर

भदौ ७ गते जिल्ला प्रशासन कार्यालय अगाडि गोली लागेर घाइते भएका भीमदत्त–४ का अर्जुन भण्डारीको अझै होस आएको छैन । गोली लागेदेखि नै बेहोस भएका उनको उपचारक्रममा काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा दायाँ खुट्टा काटिएको छ । ‘घटनाकै दिनदेखि भाइ अचेत छ,’ अर्जुनका दाइ योगेन्द्रले भने, ‘मनमोहनबाट बुधबार त्रिवि शिक्षण अस्पताल सारेका छौं ।’ उनका अनुसार औषधि र उपचार खर्च सरकारले बेहोरे पनि बाहिरी खर्चमा समस्या भइरहेको छ । डाक्टरले सुधार हुने भने पनि खासै प्रगति नदेखिएको उनले बताए ।


दाहिने खुट्टामा गोली लागेर घाइते हुनासाथ उनलाई महाकाली अञ्चल अस्पताल लगिए पनि त्यहाँ उपचार हुन सकेन । महाकालीबाट सेती अञ्चल अस्पतालमा रेफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि ७ गते नै हवाईजहाजबाट काठमाडौं ल्याइयो । २० दिन मनमोहन अस्पतालमा राखेपछि बुधबार साँझ उनलाई त्रिवि शिक्षणको आईसीयू वार्डमा भर्ना गरिएको छ ।

भदौ ८ गते कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि नै गोली लागेर घाइते भएका भीमदत्त–१, भासीका उमेश देउवाको अवस्था पनि उस्तै छ । उनी होसमा भए पनि प्यारालाइसिसले हात र खुट्टा चल्न नसकेको अर्जुनका दाइ योगेन्द्रले बताए । उमेशको कोखा र खुट्टामा गोली लागेको हो । ‘खान र बोल्न मात्रै सकिरहेको छ,’ योगेन्द्रले भने, ‘दायाँ खुट्टा र हात चल्दैन ।’ उनको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । भदौ ७ र ८ गते गोली लागेर ६ जना घाइते भएका थिए । तीमध्ये चार जना उपचार गराएर घर फर्किसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।


उनका अनुसार चेतन भट्ट, तीर्थ पनेंरु, मञ्जु गिरीलगायत उपचार गरेर फर्केका हुन् । उनीहरू फलोअपमा भने जाने गरेको उनले जानकारी दिए । भदौ ४ गते प्रहरीले भीमदत्त–१९, बागफाँटाका दिलीप विष्टलाई मुख्य अपराधीका रूपमा सार्वजनिक गरेपछि आन्दोलन चर्केको हो । उग्र बनेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा अवस्था बिग्रेको थियो ।

अवस्था सहज बनाउन स्थानीय प्रशासनले चार दिनसम्म कफ्र्यु लगाएको थियो । उक्त घटनामा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था नरहेको उच्चस्तरीय छानबिन समितिले जनाएको छ । महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी बल प्रयोग गर्नुपर्ने आवश्यक नदेखिएको समितिका संयोजक हरिप्रसाद मैनालीले बताएका थिए । दुवै दिन आदेशबिनै प्रहरीले गोली चलाएको भन्ने विषयमा भने उनले केही खोलेनन् । ‘अवस्था हेर्दा बल प्रयोग गर्नुपर्ने आवश्यकता देखिएन,’ मैनालीले भने, ‘यसबारे हामीले छानबिन गरेका छौं ।’

प्रकाशित : भाद्र २८, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?