विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् ।

आगामी चैतमा एसईई परीक्षा तयारी गरिरहेका करिब साढे ५ लाख विद्यार्थीले गत वर्ष नै भरेको फाराम पनि स्वीकृत गरिएको छैन । रजिस्ट्रेसन फाराम स्वीकृत भएपछि मात्रै परीक्षा आवेदन फाराम भर्न पाइन्छ । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको व्यवस्थापन र तयारीको काम गर्दै आएको थियो ।


Yamaha

कार्यालय खारेज गरेर बोर्डले परीक्षाको जिम्मेवारी पाएपछि मन्त्रालयसँग विवाद बढेको हो । मन्त्रालयले व्यावहारिक रूपमा कार्यालय हस्तान्तरण नगरेको भन्दै बोर्डले काम अघि नबढाउँदा कक्षा ९ र १० का विद्यार्थीले फाराम भर्न पाएका छैनन् ।


मन्त्रालय र बोर्डले एक–अर्कालाई आरोप–प्रत्यारोप गरेका छन् । बोर्डले मन्त्रालयका गतिविधिप्रति असहमति जनाउँदै विद्यार्थीलाई फाराम भराउन सक्रियता देखाएको छैन । मन्त्रालयले भने बोर्डले संक्रमणकालीन अवस्थामा सैद्धान्तिक विवाद झिकेर ढिलाइ गरेको आरोप लगाएको छ ।


परीक्षा नियन्त्रण कार्यालय पूर्ण रूपमा खारेज नभएका कारण एसईई परीक्षा तयारी अघि बढाउन असहज भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । ‘कानुनले परीक्षा नियन्त्रण कार्यालय बोर्ड मातहत आयो तर मन्त्रालयले कार्यालयलाई व्यावहारिक रूपमा बोर्डलाई हस्तान्तरण गरेको छैन,’ उनले भने । त्यही कारण देखाउँदै कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको फाराम संकलन गर्न नसकिएको पौडेलले बताए । ऐनअनुसार परीक्षाको सम्पूर्ण जिम्मेवारी पाउनुपर्ने बोर्डसम्बद्ध पदाधिकारीहरूको अडान छ ।


विद्यार्थीले फारामसँगै शुल्क पनि बुझाउने गर्छन् । उक्त शुल्कसमेत बोर्डको खातामा जम्मा हुनुपर्ने पौडेलले बताए । उनले भने, ‘अधिकार हस्तान्तरण भएको छैन, प्रस्ट नभई काम गर्न सकिँदैन ।’ सरकारको राजस्व खाताभन्दा पनि विद्यार्थीले बुझाएको शुल्क सिधै बोर्डको खातामा ल्याउने प्रबन्ध मिलाउन उनले माग गरे । ‘सरकारको राजस्व खातामा शुल्क जम्मा गरिएको छ,’ उनले भने, ‘ऐनअनुसार कक्षा ११ र १२ को जस्तै बोर्डको राजस्व खातामा रकम जम्मा गरिनुपर्छ, समानान्तर तरिकाले परीक्षा नियन्त्रण कार्यालय कायम राखे काम गर्न सकिँदैन ।’


मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले एसईई परीक्षा सञ्चालनको सम्पूर्ण तयारी गर्ने जिम्मा बोर्डलाई हस्तान्तरण भइसकेको दाबी गरे । ‘मन्त्रालयदेखि शिक्षाको समग्र संरचना मिलाउने क्रममै छौं,’ उनले भने, ‘यसैलाई बहाना बनाएर फाराम भर्न रोक्न मिल्दैन ।’ गत वर्षको पूरक परीक्षा सञ्चालनकै चरणमा रहेकाले परीक्षा नियन्त्रण कार्यालय कायमै रहेको उनले बताए । ‘अन्तत: परीक्षा बोर्डको जिम्मेवारी हो, स्वायत: भएर काम गर्नुपर्छ,’ उनले भने, ‘राजस्व पाएनौं भनेर काम रोक्नु हुँदैन ।’


परीक्षा सञ्चालन गर्नका लागि आवश्यक बजेट सरकारले बेहोर्ने उनले प्रस्ट पारे । एसईई परीक्षा चलाउन अर्थ मन्त्रालयले ५३ करोड बजेट छुट्याइसकेको छ । प्रवक्ता अर्यालका अनुसार अपुग भए थप रकम दिने सैद्धान्तिक सहमति पनि भएको छ । आगामी वर्षदेखि बोर्डकै खातामा राजस्व जम्मा गर्न पनि अर्थ मन्त्रालयसँग सहमति मागिएको छ । ‘काम गर्दैछौं, झिनामसिना कारण देखाएर ढिलाइ गर्नुहुन्न,’ उनले भने ।


एसईई परीक्षा केन्द्रीय बोर्डले वा केन्द्र सरकारले सञ्चालन गर्ने भन्नेमा पनि प्रस्ट भइसकेको छैन । फाराम भर्न केही ढिलाइ भए पनि परीक्षा प्रभावित नहुने परीक्षा नियन्त्रक रामप्रसाद सापकोटाले दाबी गरे । ‘अलिअलि ढिला भएको हो, फाराम भरेर तयारी गर्न प्रशस्त समय छ,’ उनले कान्तिपुरसँग भने ।

Esewa Pasal

प्रकाशित : भाद्र २८, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती

शिव पुरी

रौतहट — बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेशसभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ । पीडितलाई प्रहरीकहाँ आउन नदिई घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो ।


रौतहटको गम्हरियाकी १२ वर्षीयालाई बलात्कार आरोपमा प्रहरीले स्थानीय ५० वर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइएको छ । भदौ २० गते घरमा कोही नभएका बेला अन्सारीले बालिकालाई बलात्कार गरेका थिए । ‘घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु) ले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे,’ बालिकाकी आमाले भनिन्, ‘हामीसित पनि बयान लिने काम भयो । पछि सुनें, पैसा दिने निर्णय भएछ । अस्वीकार गरेर प्रहरीसमक्ष न्यायका लागि आयौं ।’


पञ्चायतीमा घटना ढाकछोप गर्न अन्सारीलाई १ लाख २० हजार क्षतिपूर्ति तिराउने निर्णय भएको पीडितको भनाइ छ । पीडितका भिनाजु अजुल मियाँले विधायक अब्दुललगायत गाउँका केही व्यक्तिले मिलाउन खोजेको जनाए । ‘छलफलका क्रममा प्रहरीले जस्तै एक/एक गरी पीडितसित सोधियो,’ उनले भने, ‘१ लाख ७० हजार पीडितलाई दिने भन्ने सुनेको हुँ ।’ पीडितका आमा पैसा नलिने बताउँदै मलाहीस्थित प्रहरी कार्यालय गएकी थिइन् । सांसद अब्दुलले बलात्कारको घटनामा ढाकछोप गर्ने कुनै काम नगरेको बताए ।


‘घटनामा संलग्नलाई छुटाउने मेरो मनसाय होइन,’ उनले भने, ‘गाउँकै ग्यासुद्धिनलगायत केहीले उल्टै केही महिलामाथि दुव्र्यवहार गरेकाले जाहेरी दिन जाने क्रममा प्रहरीले दमन गरेको हो ।’ उनले पीडितहरू पञ्चायती गरिदिनुस् भनेर आफूकहाँ आएको स्विकारेका छन् । ‘घटनाबारे कसैलाई जानकारी नगराएको र कुनै निष्कर्षमा पुग्न नसकेपछि पीडितहरू विपक्षीको शरणमा गएका हुन्,’ उनले भने, ‘बलात्कारमा संलग्नलाई कारबाही नगर्नुस् भन्ने होइन । तर त्यही समूहका मानिसले अन्य महिलालाई पनि दुव्र्यवहार गरेको छ । त्यसको पनि न्याय हुनुपर्‍यो ।’ उनले पैसा तिराउने कुनै निर्णय नभएको सुनाए । उनी क्षेत्र नं ४ बाट प्रदेशसभा सदस्य पदमा स्वतन्त्रबाट विजयी भएका थिए । पछि संघीय समाजवादी फोरम प्रवेश गरेका छन् ।


पीडितको बयान र घटनाको मुचुल्का आधारमा घटनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले जघन्य प्रकृतिका अपराधमा संलग्न जोकोहीलाई नछाड्ने बताए । उनले बालिका बलात्कार घटना ढाकछोप गर्न पीडितलाई गाउँमै अल्झाउने काम भएको सुन्नमा आएको र त्यो अत्यन्तै दु:खद भएको बताए । मुद्दा दर्तापछि पीडक पक्षबाट विभिन्न खाले धम्की आउन थालेको पीडितकी आमाले प्रहरीसमक्ष गुनासो गरिन् ।


प्रहरी कार्यालय घेराउ
पक्राउ परेका अन्सारी निर्दोष भएको दाबी गर्दै मंगलबार एक समूह प्रहरी कार्यालय घेराउ गर्न पुग्यो । उनीहरूले इलाका प्रहरी अगाडि ढुंगामुढा गरेपछि झडप भएको थियो । गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले केही मानिस गेटमा आएर ढुंगामुढा गर्न थालेपछि सामान्य बल प्रयोग गर्नुपरेको बताए ।


छिमेकीबाटै बलात्कृत
पर्सा– वीरगन्जमा १५ वर्षीय किशोरले १२ वर्षीयालाई बलात्कार गरेका छन् । वीरगन्ज महानगर–१२ का किशोरले छिमेकी बालिकालाई आइतबार आफ्नै घरमा बोलाएर बलात्कार गरेका हुन् । दुवैको उमेर नपुगेकाले प्रहरीले नाम र ठेगाना गोप्य राखेको छ । जिल्ला प्रहरीका प्रवक्ता सत्यनारायण थापाका अनुसार किशोरलाई जिल्ला अदालत पेस गरी ५ दिन म्याद थप गरिएको छ ।


किशोरीलाई स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । प्रहरीले किशोरलाई अन्य थुनुवासरह नभई छुट्टै राखेर कानुनी कारबाही अघि बढाएको छ । ‘उनी पनि नाबालक रहेकाले वयस्क थुनुवासँग नराखिएको हो,’ थापाले भने, ‘अनुसन्धान पूर्ण भएपछि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा बुझाउनेछौं ।’


१० वर्षीया बलात्कृत
कञ्चनपुर (कास)– १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी डेढ महिनाभन्दा बढी समयसम्म पत्ता नलागेको अवस्थामा अर्की बालिका १० वर्षीया बालिका फेरि बलात्कृत भएकी छन् । स्थानीय महाकाली नगरपालिका ४ सुर्खेती टोलमा मंगलबार साँझ ती बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ । बलात्कार आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आइते सुनारलाई नियन्त्रणमा लिएको छ ।


प्रहरीका अनुसार साँझको समय बालबालिकासँग खेलिरहेकी उनलाई आइतेले हात तानेर धानबारीमा लगेर बलात्कार गरेको हो । बलात्कार अवस्थामै स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो । इलाका प्रहरी दोधाराका निरीक्षक नरेन्द्रबहादुर चन्दले बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाएको बताए । पक्राउ परेका आइतेमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गर्ने तयारी भएको उनले जनाए ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT