कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् ।

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

आगामी चैतमा एसईई परीक्षा तयारी गरिरहेका करिब साढे ५ लाख विद्यार्थीले गत वर्ष नै भरेको फाराम पनि स्वीकृत गरिएको छैन । रजिस्ट्रेसन फाराम स्वीकृत भएपछि मात्रै परीक्षा आवेदन फाराम भर्न पाइन्छ । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको व्यवस्थापन र तयारीको काम गर्दै आएको थियो ।


कार्यालय खारेज गरेर बोर्डले परीक्षाको जिम्मेवारी पाएपछि मन्त्रालयसँग विवाद बढेको हो । मन्त्रालयले व्यावहारिक रूपमा कार्यालय हस्तान्तरण नगरेको भन्दै बोर्डले काम अघि नबढाउँदा कक्षा ९ र १० का विद्यार्थीले फाराम भर्न पाएका छैनन् ।


मन्त्रालय र बोर्डले एक–अर्कालाई आरोप–प्रत्यारोप गरेका छन् । बोर्डले मन्त्रालयका गतिविधिप्रति असहमति जनाउँदै विद्यार्थीलाई फाराम भराउन सक्रियता देखाएको छैन । मन्त्रालयले भने बोर्डले संक्रमणकालीन अवस्थामा सैद्धान्तिक विवाद झिकेर ढिलाइ गरेको आरोप लगाएको छ ।


परीक्षा नियन्त्रण कार्यालय पूर्ण रूपमा खारेज नभएका कारण एसईई परीक्षा तयारी अघि बढाउन असहज भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । ‘कानुनले परीक्षा नियन्त्रण कार्यालय बोर्ड मातहत आयो तर मन्त्रालयले कार्यालयलाई व्यावहारिक रूपमा बोर्डलाई हस्तान्तरण गरेको छैन,’ उनले भने । त्यही कारण देखाउँदै कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको फाराम संकलन गर्न नसकिएको पौडेलले बताए । ऐनअनुसार परीक्षाको सम्पूर्ण जिम्मेवारी पाउनुपर्ने बोर्डसम्बद्ध पदाधिकारीहरूको अडान छ ।


विद्यार्थीले फारामसँगै शुल्क पनि बुझाउने गर्छन् । उक्त शुल्कसमेत बोर्डको खातामा जम्मा हुनुपर्ने पौडेलले बताए । उनले भने, ‘अधिकार हस्तान्तरण भएको छैन, प्रस्ट नभई काम गर्न सकिँदैन ।’ सरकारको राजस्व खाताभन्दा पनि विद्यार्थीले बुझाएको शुल्क सिधै बोर्डको खातामा ल्याउने प्रबन्ध मिलाउन उनले माग गरे । ‘सरकारको राजस्व खातामा शुल्क जम्मा गरिएको छ,’ उनले भने, ‘ऐनअनुसार कक्षा ११ र १२ को जस्तै बोर्डको राजस्व खातामा रकम जम्मा गरिनुपर्छ, समानान्तर तरिकाले परीक्षा नियन्त्रण कार्यालय कायम राखे काम गर्न सकिँदैन ।’


मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले एसईई परीक्षा सञ्चालनको सम्पूर्ण तयारी गर्ने जिम्मा बोर्डलाई हस्तान्तरण भइसकेको दाबी गरे । ‘मन्त्रालयदेखि शिक्षाको समग्र संरचना मिलाउने क्रममै छौं,’ उनले भने, ‘यसैलाई बहाना बनाएर फाराम भर्न रोक्न मिल्दैन ।’ गत वर्षको पूरक परीक्षा सञ्चालनकै चरणमा रहेकाले परीक्षा नियन्त्रण कार्यालय कायमै रहेको उनले बताए । ‘अन्तत: परीक्षा बोर्डको जिम्मेवारी हो, स्वायत: भएर काम गर्नुपर्छ,’ उनले भने, ‘राजस्व पाएनौं भनेर काम रोक्नु हुँदैन ।’


परीक्षा सञ्चालन गर्नका लागि आवश्यक बजेट सरकारले बेहोर्ने उनले प्रस्ट पारे । एसईई परीक्षा चलाउन अर्थ मन्त्रालयले ५३ करोड बजेट छुट्याइसकेको छ । प्रवक्ता अर्यालका अनुसार अपुग भए थप रकम दिने सैद्धान्तिक सहमति पनि भएको छ । आगामी वर्षदेखि बोर्डकै खातामा राजस्व जम्मा गर्न पनि अर्थ मन्त्रालयसँग सहमति मागिएको छ । ‘काम गर्दैछौं, झिनामसिना कारण देखाएर ढिलाइ गर्नुहुन्न,’ उनले भने ।


एसईई परीक्षा केन्द्रीय बोर्डले वा केन्द्र सरकारले सञ्चालन गर्ने भन्नेमा पनि प्रस्ट भइसकेको छैन । फाराम भर्न केही ढिलाइ भए पनि परीक्षा प्रभावित नहुने परीक्षा नियन्त्रक रामप्रसाद सापकोटाले दाबी गरे । ‘अलिअलि ढिला भएको हो, फाराम भरेर तयारी गर्न प्रशस्त समय छ,’ उनले कान्तिपुरसँग भने ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?