कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सप्तरीमा स्वाइन र ह‌‌‌ङकङ फ्लु देखियो

३ बालकसहित चारको मृत्यु -१७ सय बिरामी -विशेषज्ञ चिकित्सक र औषधिको अभाव

राजविराज/काठमाडौं — सप्तरीमा मौसमी रूघाखोकीले देखिने हङकङ फ्लु र स्वाइन फ्लुको प्रकोप देखिएको छ । कञ्चनरूप नगरपालिका र हनुमाननगरमा देखिए पनि प्रकोप बढ्दै जाने सम्भावना विज्ञहरूले आैंल्याएका छन् ।

सप्तरीमा स्वाइन र ह‌‌‌ङकङ फ्लु देखियो

हालसम्म तीन बालकसहित चार जनाको मृत्यु यही प्रकोपले भएको छ भने १७ सयभन्दा बढी बिरामी छन् । विशेषज्ञ चिकित्सक र औषधिको अभावमा उपचार सेवा प्रभावित भएको छ । एन नाइन्टी फाइव मास्कको अभावले गर्दा उपचारमा संलग्न स्थानीय स्वास्थ्यकर्मी समेत आफूहरू जोखिममा परेको बताएका छन् ।


१५ दिनभित्र कञ्चनरूप नगरपालिकामा तीन बालकको मृत्यु भएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. प्रकास साह सहितको टोली आएर कञ्चनरूप र हनुमानगरको शंकास्पद बिरामीहरूको र्‍याल परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला काडमाडौं पठाएको थियो ।


प्रयोगशालामा कञ्चनरूपको १० वटा र हनुमाननगरको ६ वटा नमुना परीक्षण गर्दा कञ्चनरूपमा ५ वटा नमुनामा एच३ (हङकङ फ्लु) र १ वटामा एच१एन१ (स्वाइन फ्लु) देखिएको थियो । यस्तै हनुमाननगरको नमुनामध्ये ५ वटा मा एच ३ (हङकङ फ्लु) देखिएको डा.साहले बताए । उनको अनुसार यो क्षेत्रमा मौसमी रूघाखोकीका बिरामी बिस्तारै बढ्दै गएको छ ।


विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० देखि स्वाइन फ्लु (ए एच१एन१ पिडिएम ०९) लाई मौसमी रूघाखोकीकै श्रेणी मा राखेपछि नेपाल सरकारले समेत यसलाई मौसमी रूघाखोकी भन्ने गरेको छ । यस्तै हङकङफलुलाई समेत मौसमी रूघाखोकीमै राखिएको छ । कञ्चनरूप नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सिअहेब डम्बरप्रसाद गुप्ताका अनुसार पछिल्लोपटक बुधबार साँझ कञ्चनरूप नगरपालिका ४ का ६० वर्षीय भल्सरदेवी सरदारको मृत्यु भएको छ ।


तीन दिनदेखि ज्वरो र खोकीवाट पीडित उनलाई गत बुधबार सिकिस्त भएपछि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । प्रतिष्ठानमा भेन्टिलेटर नपाइए पछि उनलाई विराटनगर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको गुप्ताले जनाए ।


यसअघि १५ दिनभित्र ज्वरो आउने रूघाखोकी लाग्ने र शरीर शिथिल भएर कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवस बस्नेत, वडा नम्बर ३ का १४ वर्षीय किसोर राम र वडा नम्बर ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो । कञ्चनपुर क्षेत्रमा भारतको बाबाधामवाट फर्केकाहरूवाट स्वाइन फलु/हङकङफलु सरेको औल्याउँदै डा.साह वाबाधामवाट फर्केकाहरूको नमुनामा स्वाइनफलु देखिएको बताए ।


भारतको झारखण्ड राज्यको देवघरस्थित बाबाधाममा रहेको शिवलिङमा साउन र भदौ महिनामा जल चढाउने जानेको संख्या जिल्लामा अत्यधिक छ । साउन र भदौको हालसम्म गरी सप्तरीबाट २५ हजारभन्दा बढी व्यक्ति बाबाधाम तीर्थयात्रा गएका थिए । कञ्चनरूप नगरपालिकामा मात्र अहिले ज्वरो आउने,खोकी लाग्ने,छाती दुख्ने लक्षण भएका एक हजार पाँच सयभन्दा बढी बिरामी रहेको गुप्ताले बताए ।

उनका अनुसार बिरामीको संख्या दैनिक रूपमा बढ्दै गएको छ । ‘बाबाधामबाट फर्किएकामध्ये कञ्चनरूप नगरपालिकाका सबैमा सोही लक्षणको बिरामी देखिएको औल्याउँदै गुप्ताले विशेषज्ञ चिकित्सक र औषधिको अभाव खटकिएको जानकारी दिए । नगरपालिकाले पाँच लाख रुपैयाँभन्दा बढीको औषधि खरिद गरिसकेको जनाउँदै सिअहेब गुप्ताले बिरामीको संख्या दैनिक बढदै गएकाले औषधिको अभाव देखिन थालेको समेत जनाए ।


उनले कञ्चनपुरमा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका डाक्टरहरू एमबीबीएस मात्र रहेकाले विशेशज्ञ चिकित्सकको अभावका कारण उपचार सेवा प्रभावित भइरहेको जनाए । एन नाइन्टी फाइभ मास्क स्थानीय स्तरमा उपलब्ध नभएको र स्वास्थ्य सेवा विभागवाट आइनसकेका कारण मास्कको अभावमा जोखिम मोलेर स्वास्थ्यकर्मीहरू उपचारमा संलग्न भइरहेको गुप्ताले जनाए ।


सप्तकोसीको बाढीबाट विस्थापनमा परेका हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १२ का बाढीपीडितहरूमा समेत स्वाइन फलु देखिएको छ ।


हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिअहेब रामदेव यादवका अनुसार वडा नम्बर १२ मा मात्र १ सय ३७ जना बिरामी छन् । तर उनले स्थिति नियन्त्रणमा रहेको र उपचारमा औषधि सहितको स्वास्थ्यकर्मीको टोली परिचालित रहेको बताए ।


के हो मौसमी रूघाखोकी
विश्व स्वास्थ्य संगठन (डव्लूएचओ) का अनुसार मौसमी रूघाखोकीको भाइरस ए, बी र सी गरी तीन प्रकारको हुन्छ । ‘ए’ भाइरसको विभिन्न उपप्रकारमध्ये हाल ‘एच१एन१’ र ‘एच३एन२’ मनुष्यमा फैलिरहेको छ । ‘सि’ प्रकारको इन्फुएन्जा भाइरस ‘ए’ र ‘बी’ को दाजो मा धेरै कम फैलिरहेको हुन्छ । डब्लूएचओ को अनुसार मौसमी रूघाखोकी कडा भाइरल संक्रमण हो,जो एक व्यक्तिबाट अर्कोमा सजिलै फैलिन्छ । यो मौसमी रूधाखोकीको भाइरस विश्वथापी रूपमा फैलिरहेको हुन्छ र जुनसुकै उमेर समूहलाई प्रभावित गर्छ । मौसमी रूघाखोकी को उच्च जोखिम युक्त जनसंख्यामा यसको कडा संक्रमण हुनुदेखि लिएर मृत्यु समेत हुन सक्छ ।


डब्लूएचओले सन् २०१० देखि स्वाइन फ्लु (ए एच१एन१ पिडिएम ०९) लाई मौसमी रूघाखोकीकै श्रेणी मा राखेको छ । यस्तै हङकङ फ्लुलाई समेत मौसमी रूघाखोकीमै राखिएको हो । मुलुकमा वर्षेनी १५ देखि ३० लाख व्यक्ति मौसमी रूघाखोकीले प्रभावित हुने गरेको अनुमान गरिन्छ । मुलुकमा खासै अध्ययन नभए पनि अन्य मुलुकको दरलाई दृष्टिगत गर्दा वार्षिक रूघाखोकी हुने दर वयस्कमा करिव ५ देखि १० प्रतिशत र बालबालिकामा २०देखि ३० प्रतिशत रहेको आकलन विशेषज्ञहरूको छ ।


जोखिम समूह
चिकित्सकहरूका अनुसार दम, श्वास रोगको समस्या भएकाहरूलाई स्वाइन फ्लु, मौसमी रूघाखोकीको संक्रमण हुने बढी खतरा हुन्छ । यस्तै मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएकाहरू समेत संक्रमित हुने उच्च जोखिममा रहन्छन् । गर्भवती महिला, बुढापाका र पाँच वर्षमुनिका बालबालिकामा यो संक्रमणको खतरा अन्यको दाजोमा बढी हुन्छ ।

क्यान्सरका उपचार गराइरहेकाहरू, अंग प्रत्यारोपण गराएकाहरू, मोटापनाको समस्या भएकाहरू एचआईभी/एडस वा अन्य कारणले रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू पनि स्वाइनको उच्च जोखिममा हुन्छन् । मदिरा पान गर्नेहरूलाई पनि जोखिम समूहमा पर्छन् ।


कसरी फैलिन्छ
मौसमी रूघाखोकीबाट संक्रमित व्यक्तिले खोक्दा, हाच्छियुँ गर्दा मुख, नाकबाट निस्केको पानीको ससाना थोपाहरू हावामा वा भुइँमा पर्दा त्यहा यो भाइरस पुग्छ । उक्त भाइरस हावाले वा अन्य व्यक्तिले छुदा स्वस्थ व्यक्तिको श्वासका माध्यमले शरीरमा प्रवेश गर्छ । यस्तै संक्रमित व्यक्तिले उपायोग गरेको फोन, कम्प्युटरको किबोर्ड लगायतका सरसामान र छोएको ढोकाको ह्यान्डल, बसमा भएको समात्ने पाइप आदिलाई स्वस्थ व्यक्तिले छुँदा यो भाइरस सर्छ ।


वचाउ
स्वाइन फ्लु/हङकङफलु लगायत मौसमी रूघाखोकी मुखबाट निस्किने पानीका कणहरूवाट एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले संक्रमित व्यक्ति संग एक मिटरको दूरी कायम राख्नु उपयुक्त हुन्छ । रूघाखोकी लागेको व्यक्तिसँग लसपस गर्नु हँुदैन । यस्तै संक्रमण हुन नदिन व्यक्तिगत स्वच्छता, सावुन पानीले हात धुनु लगायतका सरसफाइ कायम राख्नुपर्छ ।

प्रकाशित : भाद्र २८, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?