कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किशोरी बलात्कार र हत्या प्रकरण : निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परिक्षण

काठमाडौँ — कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन अनुसन्धानमा संग्लन उच्च प्रहरी अधिकारीतर्फ नै सोझिएको छ । प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण : निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परिक्षण

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका फोरेन्सिक विशेषज्ञ प्रा.डा.हरिहर वस्तीले बिहीबार नमूना संकलन गरेर प्रहरीलाई बुझाएका हुन् । ‘मैले आज बिहान डीएनए परीक्षणका लागि निलम्बित एसपी विष्टबाट नमूना संकलन गरेर प्रहरीलाई बुझाएको छु’, डा. वस्तीले भने ।


प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले निलम्बित एसपी विष्ट, उनका छोरा किरण र कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको रगतको नमुना संकलन गरिएको जानकारी दिए । यसरी संकलित नमुना डीएनए प्रोफाइलिङ गर्नका निम्ति प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकिएको छ । प्रवक्ता थापाले जनस्तरबाट शंका गरिएका व्यक्तिको पनि डीएनए टेस्ट गर्न थालिएको बताए । उनले भने, ‘हामीले शंका लागेका सबैमाथि निगरानी र अनुसन्धान गरिरहेका छौं ।’


प्रहरी प्रधान कार्यालयले निर्मला प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीको भूमिकामाथि छानबिन गर्न एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छुट्टै पाँच सदस्यीय समितिसमेत गठन गरेको छ । थापाले यस्तो टोली केही दिनअघि नै बनाइएको बताए । स्रोतका अनुसार मानसिक सन्तुलन ठिक नभएका दिलीपसिंह विष्ट अभियुक्त नभएको पुष्टि डीएनए परीक्षणबाट भएपछि एसएसपी सुवेदी नेतृत्वको समितिले नयाँ ढंगले अनुसन्धान अगाडि बढाएको छ ।


प्रवक्ता थापाका अनुसार यो समितिले काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्लास्थित प्रहरी कार्यालयका अनुसन्धान अधिकारीको काम–कारवाहीबारे छानबिन गर्नेछ । अनुसन्धानमा प्रहरीको भूमिका त्रूटिपूर्ण रहेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले टोली गठन गरेको हो । समितिले अनुसन्धानमा खटिएका प्रहरीसँग छुट्टाछुट्टै बयान लिइरहेको छ ।


निर्मला हत्या घटना अनुसन्धानका लागि गठन गरिएको यो दोस्रो छानबिन टोली हो । गृह मन्त्रालयले बनाएको छुट्टै छानबिन टोलीले अहिलेसम्म अनुसन्धान प्रतिवेदन बुझाइसकेको छैन । स्रोतका अनुसार गृहले बनाएको र प्रहरी प्रधान कार्यालयले बनाएका दुवै समितिले समानान्तर रूपमा काम गरिरहेका छन् ।


दबाबमा प्रहरी

संसद र सडक दुवैतिरबाट दोषी पत्ता लगाउन दबाब बढिरहँदा प्रहरी रक्षात्मक बन्दै गएको छ । स्रोतका अनुसार अनुसन्धानमा गृह मन्त्रालयका अधिकारीहरूको संग्लनतालाई प्रहरीका उच्च अधिकारीले त्यति रुचाइरहेका छैनन् । नाटकीय रूपमा राजीनामा फिर्ता लिएका छानबिन समितिका उपसचिव वीरेन्द्र केसीको भूमिकालाई पनि प्रहरीका उच्च अधिकारीले छानबिन समितिको असफलताका रूपमा अथ्र्याएका छन् । प्रहरीको आन्तरिक छानबिनको परम्परागत प्रणालीलाई पन्छाएर गृह अघि सरेको र छानबिन समितिले १५ दिन बितिसक्दा पनि प्रतिवेदन नदिएकाले घटना थप गिजोलिन पुगेको उनीहरूको बुझाइ छ ।


‘अपराध अनुसन्धानका बारेमा ज्ञान नभएका प्रशासनिक अधिकारीलाई अनुसन्धान जिम्मा दिनु नै गलत थियो’, एक प्रहरी अधिकारीले भने । ती अधिकारीका अनुसार घटनालाई होल्ड गर्न र गल्ती सच्याउन तत्काल कदम चाल्न प्रहरी महानिरीक्षक चुकेका कारण प्रहरीको चौतर्फी आलोचना भइरहेको छ ।


त्यसो त कञ्चनपुर घटनालगत्तै जिल्ला प्रहरी कार्यालयले दिएको सूचनाको आधारमा गृहमन्त्री थापाले नामै किटेर दुई जना अभियुक्त पक्राउ परेको सूचना संसदलाई दिएका थिए । तर, ती दुवै जना केही दिनमै निर्दोष ठहरिए । प्रहरीको गलत सूचनाका कारण आफू गुमराहमा परेको निष्कर्षमा पुगेका गृहमन्त्रीले त्यसको केही दिनमै गृह मन्त्रालयकै नेतृत्वमा छानबिन कमिटी गठन गरेका थिए ।


अबको अनुसन्धान ?

घटनालगत्तै स्थानीयले शंकाको घेरामा राखेका बम दिदी–बहिनी छुटिसकेका छन् । प्रहरीले दुईजनामध्ये दिदी बबिताको पोलिग्राफ टेस्ट गरेको थियो । जसबाट उनीहरूमाथिको शंका प्रमाणित हुन सकेन । १६ वर्षभन्दा कम उमेरका कारण रोशनीको भने पोलिग्राफ टेस्ट गरिएन । प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्ट पनि निर्दोष ठहरिए । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटनाबारे अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन ।


स्थानीय बासिन्दाले शंकाको घेरामा राखेका निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षणका लागि नमूना संकलन भइसकेको छ । उनीहरूको रिपोर्ट आएपछि निर्मलाको भेजाइनल स्वाबमा भेटिएको बीर्यको नमूनाबाट निकालिएको डीएनएसँग म्याच गरिनेछ । प्रहरीले बलात्कार र हत्या घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा आफ्नो डीएनए टेस्ट गर्न स्याम्पल लिएको स्वीकार गर्दै निलम्बित एसपी विष्टले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन् । ‘निर्मलाको हत्यारा पत्ता लगाउन राज्यले गर्ने कुनै पनि अनुसन्धानमा सहयोग गर्न म तयार छु’, उनले भने, ‘मेरो र परिवारको डीएनए परीक्षणका लागिसमेत तयार छु ।’


घटनास्थल मुचुल्का उठाउने बेलादेखि नै भएका त्रुटिको निरन्तरताका कारण घटनासँग सम्बन्धित धेरै प्रमाण नस्ट भइसकेको गृहको छानबिन समितिको प्रारम्भिक अनुसन्धानले देखाएको छ । निर्मलाको अन्तरवस्त्र र अन्य वस्त्र पनि जलाइसकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको भोलिपल्टै निर्मलाको शव जलाइएको थियो । शव जलाउने क्रममा घटनास्थलबाट भेटिएका कपडा पनि जलाइएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीका अनुसार सीआईबी टोलीले यो कुरा शव जलाएपछि मात्रै थाहा पाएको थियो ।


प्रहरीको अनुसन्धान अधिकारीका अनुसार उक्त कपडा नजलाइएको भए त्यसमा रौं, वीर्य वा रगतको कुनै न कुनै प्रमाण भेटिनसक्ने सम्भावना रहन्थ्यो । बम दिदी–बहिनीको घरबाट निस्केपछि निर्मला कहाँ गइन् भन्नेमा प्रहरीले पछिल्लो अनुसन्धान केन्द्रित गरे पनि त्यसबारे अनेकन अपुष्ट सूचनाबाहेक प्रहरीले ठोस कारण पत्ता लगाइसकेको छैन ।


केन्द्रिय अनुसन्धान ब्युरोको नयां टोलीले सुरु चरणबाट अनुसन्धान थालेपछि उक्त टोलीले केही नयां तथ्य फेला पारिसकेको छैन । त्यसो त प्रहरी महानिरिक्षक खनाल कंचनपुर पुगेका बेला स्थानिय अधिकारकर्मी महिलाले घटनाबारे केही नयां तथ्य सुनाएका थिए । तर उक्त तथ्यको पनि प्रहरीले पुष्टी गरिसकेको छैन् । अनुसन्धानका एकपछि अर्को काममा प्रहरी चुकिरहेको र स्थानियको आक्रोश बढिरहेकाले प्रहरीले घटनासंग जोडिने यथेष्ट प्रमाण बिना कसैलाई नियन्त्रणमा लिने वा बयान लिने सक्ने अवस्थामा देखिन्न । ति प्रहरी अधिकारीले भने, ‘चौतर्फी दबाबमा रहेकाले र घटना सम्बद्ध धेरै प्रमाण नष्ट भएकाले प्रहरीले अनुसन्धानलाई संयमका साथ अघि बढाईरहेको छ ।’



प्रकाशित : भाद्र २८, २०७५ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?