कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किशोरी बलात्कार र हत्या प्रकरण : घाइते भन्छन्, ‘गोली हान्नेलाई कारबाही होस्’

फातिमा बानु

काठमाडौँ — निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेका उमेश देउवाको अवस्था गम्भीर छ । कञ्चनपुरको भीमदत्त १, भासीका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

किशोरी बलात्कार र हत्या प्रकरण : घाइते भन्छन्, ‘गोली हान्नेलाई कारबाही होस्’

भदौ ८ गते उनी घरमै बसिरहेका थिए । आन्दोलनका कारण स्कुल बिदा थियो । दिउँसो ४ बजे साथीहरू बोलाउन आए । बुबाले बिहानै भनेका थिए( बजारमा आन्दोलन चलिरहेको छ, बाहिर ननिस्किनू तर उनले साथीको कुरा काट्न सकेनन् । आन्दोलन हेर्न निस्किए । त्यसको एक घण्टापछि उनलाई गोली लाग्यो । प्रहरीले उनलाई महाकाली अञ्चल अस्पताल पुर्‍याए ।


बुबा यज्ञराजलाई फोन गरेर बोलाइयो । उनको देब्रे खुट्टामा गोली लागेको छ । देब्रेपट्टिको हातखुट्टै चल्दैनन् । हाड र नसामा गम्भीर चोट छ । खानेपिउने, दिसापिसाब सबै ओछ्यानमै गराइदिनुपर्ने अवस्था छ । ‘म अस्पताल पुग्दा छोराको शरीरभरि रगत थियो, तीनवटा अस्पताल पुर्‍याउँदा पनि उपचार हुन सकेन अनि हेलिकप्टरमा यहाँ ल्याएँ,’ यज्ञराजले भने ।


जिल्लाका डाक्टरले ‘ज्यान त बचाइदिउँला तर खुट्टाको ग्यारेन्टी लिन सक्दिनँ’ भनेपछि छोरालाई काठमाडौं ल्याएको उनले बताए । उमेश भदौ ९ गतेबाट शिक्षण अस्पतालमा छन् । उनी १६ वर्षका भए, आठ कक्षामा पढ्छन् । घाइते भएकाले परीक्षा छुटेकामा उनी चिन्तित छन् । भन्छन्, ‘म त आन्दोलन हेर्न मात्रै गएको थिएँ तैपनि गोली हानिदिए ।


मेरो छिमेकी निर्मलालाई मार्ने र मलाई गोली हान्ने दुवैलाई कडा कारबाही होस् ।’ यज्ञराज रङ लगाउने काम गर्छन् । दसैंका बेला माग बढी हुन्थ्यो । बिरामी छोरा कुरेर बस्नुपर्दा उनको कमाइ रोकिएको छ । उनी भन्छन्, ‘डाक्टरले छोरा ठीक हुन एक वर्ष पनि लाग्न सक्छ, ठीक नहुन पनि सक्छ भन्छन्, यसको त जिन्दगी नै बर्बाद हुने भयो ।’ उपचार खर्च सरकारले बेहोरे पनि खानबस्न उनीहरूलाई समस्या छ ।


अझै होस आएन

भीमदत्त नगरका अर्जुन भण्डारा भदौ ७ गते खाना खाएर घरमै बसिरहेका थिए । उनलाई पनि साथीहरू आएर आन्दोलनमा जान कर गर्न थाले । घरमा आमा शिवकला मात्रै थिइन् । कसैलाई नसोधी अर्जुन साथीहरूसँग हिँडे । केहीबेरमा दाजु योगेन्द्रलाई आमाको फोन आयो, ‘बाबु, भाइ गोली लागेर अस्पताल ल्याको छ, छिट्टै आइज ।’


आफूले काम गर्ने मोबाइल मर्मत केन्द्रबाट योगेन्द्र तुरुन्तै महाकाली अञ्चल अस्पताल पुगे । उनी पुग्दा आमा बेहोस थिइन् । योगेन्द्रले त्यो दिन सम्झिए, ‘भाइ होसमै थियो, दाहिने खुट्टाबाट रगतका धारा बगिरहेका थिए ।’ आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको थियो अर्जुनलाई ।

महाकालीमा उपचार नभएपछि योगेन्द्रले भाइलाई धनगढीको सेती अञ्चल अस्पताल पुर्‍याए । त्यहाँ पनि उपचार सम्भव नभएपछि तत्काल एम्बुलेन्समा हालेर काठमाडौं ल्याइयो । बिहीबार त्रिवि शिक्षण अस्पतालमा भेटिएका योगेन्द्र भन्छन्, ‘मेरो भाइ आन्दोलन हेर्न मात्रै गएको थियो, उसले के बिराएको थियो र गोली चलाएको होला ?’


अर्जुन अहिलेसम्म होसमा आएका छैनन् । उनलाई आईसीयूमा राखिएको छ । २० वर्षीय अर्जुन १२ कक्षा पास गरेर इन्जिनियरिङ पढ्ने तयारीमा थिए । संक्रमण बढेपछि अस्पताल भर्ना भएको ६ दिनमा उनको खुट्टै काटियो, घुँडाभन्दा तल ।


ल्याउनासाथ मनमोहन अस्पताल पुर्‍याइएका उनलाई बुधबार साँझ त्रिवि शिक्षण अस्पताल सारिएको हो । अर्जुनको दिमागमा असर पुगेकाले होस खुल्न नसकेको चिकित्सकले बताएका छन् ।


धेरै दिन भेन्टिलेटरमा राखिएका उनी अहिले आफैं सास फेर्न सक्ने भएका छन् । थोरै आँखा पनि चलाएजस्तो गर्छन् । योगेन्द्र भन्छन्, ‘भाइको ज्यान बचेको छ, त्यसैमा खुसी छौं ।’ उपचार खर्च सरकारले बेहोरे पनि उनीहरूलाई यहाँ खान, बस्न समस्या छ । योगेन्द्र थप्छन्, ‘घरमा कमाउने मै हुँ, बुबा १४ वर्षअघि बितिसक्नुभयो, खर्च जुटाउन गाह्रो छ ।’ काम गर्ने ठाउँको साहुबाट ऋण लिएर काम चलाइरहेको उनले बताए ।


प्रकाशित : भाद्र २८, २०७५ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?