अपराध कबुल गराउन यातना

भवानी भट्ट

कञ्चनपुर — ‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दाेष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो ।

अपराध कबुल गराउन यातना

अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दाेषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो ।


प्रहरीले गरिब र सोझालाई छानी–छानी नियन्त्रणमा लिई चरम यातना दिएर अपराध कबुल गराउन खोजेको पीडित बताउँछन् । डर, धम्की र त्रास देखाएर पटक–पटक बलात्कार र हत्या कबुल गर्न दबाब दिएको उनीहरूको भनाइ छ ।


भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९, बाग्फाँटाका दिलीप विष्टको मानसिक अवस्था पहिले पनि ठीक थिएन । २४ दिनपछि हिरासतमुक्त हुँदा उनको अवस्था झन् बिग्रेको छ । हिरासतमा रहँदा प्रहरीले दिएको यातनाका कारण उनी घरपरिवारका सदस्य देख्दै डराउन थालेका छन् । ‘उसको जीवन त खत्तम पारिदियो, त्यसै पनि दिमाग ठीक थिएन, अब त झन् सम्हालिसाध्य छैन,’ बुबा कमलसिंहले भने, ‘डराएर मान्छे नजिक आउनै मान्दैन, प्रहरीले निकै यातना दियो भन्छ ।’ दिलीपलाई भदौ ३ गते पक्राउ गरेको प्रहरीले दाबी गरेको छ तर कमल भने २ गते नै लगेको बताउँछन् ।


दिलीपलाई प्रहरीले मंगलबार मुद्दा चलाउन यथेष्ट प्रमाण नभेटिएको भन्दै छाडेको छ । उनको डीएनए रिपोर्ट पनि निर्मलाको शरीरबाट लिइएको नमुनासँग मिलेन । मानसिक अवस्था र यौन उत्तेजनाबारे पनि उनको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त परीक्षणबाट केही खुल्न नसकेको प्रहरीले जनाएको छ । निर्दाेष व्यक्तिलाई बलात्कारी भनिएको र चरम यातना दिइएकाले मानहानि तथा क्षतिपूर्तिका लागि मुद्दा दायर गर्न लागेको उनले बताए । ‘तर मुद्दा दिन डर लागिरहेको छ, हामी सोझो मान्छे, फेरि फसाउने हुन् कि ?’


उनले भने, ‘जे भए पनि बदनाम त गराइहाले, छोराले अनावश्यक दु:ख पायो, क्षतिपूर्ति त माग्नैपर्ला ।’


‘गोली ठोक्ने धम्की दिए’
हिरासतमा यातना पाउने अर्का व्यक्ति हुन् भीमदत्त नगरपालिका–२, उल्टाखामकै २१ वर्षीय चक्रदेव बडु । निर्मलाको शव भेटिएको उखुबारीछेउमै घर भएका बडुलाई प्रहरीले साउन २१ गते सोधपुछका लागि पक्राउ गरेको हो । उक्त दिन उनीसँगै घरका अन्य सदस्यलाई पनि प्रहरी कार्यालय ल्याइएको थियो । अरूलाई साँझ छाडियो तर चक्रलाई छाडिएन । ‘पक्राउ गरेकै दिनदेखि डर देखाउने, धम्क्याउने र यातना दिन सुरु भयो,’ चक्रले भने, ‘दिनमा तीनपटक फरक–फरक टोली आउँथे, उनीहरू कसरी हत्या गरिस्, अरू को–को छन्, यो घटना मैले गरेको हँ‘ भन् भन्दै धम्क्याउँथे ।’ अपराध कबुल नगरे गोली ठोक्ने, घरपरिवारका सबैलाई जेल हाल्ने धम्की दिएको उनले बताए ।


चक्र भारतको मुम्बईमा होटलमा काम गर्थे । वैशाखमा घर फर्किएपछि विवाह गरेका हुन् । फेरि जाने तयारीमा रहेका बेला प्रहरीले पक्राउ गरेर यातना दिएपछि उनी मानसिक बिरामी बनेका छन् । ‘राति पनि आइहाल्यो, समातिहाल्यो भनेर कराउँछ,’ बुबा रामदत्त भन्छन्, ‘प्रहरीले पक्रेकै बेलादेखि उसको अवस्था ठीक छैन ।’


बलात्कार र हत्यासम्बन्धी घटना अनुसन्धान सिलसिलामा पक्राउ गरिएका उनलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा लगाएको थियो । उनी ११ औं दिन ५ हजार धरौटीमा छुटेका हुन् । चक्रलाई हिरासतमा लिएका बेला प्रहरीहरू घरमा पुगेर बुबाआमा र अन्यलाई पनि डर देखाउने, धम्क्याउने गरेको रामदत्त बताउँछन् । ‘यो प्रशासनले मलाई त दिनुसम्म दु:ख दियो,’ उनले भने, ‘यस्ताबाट हामीले के आशा राख्ने ?’ उनले अब पनि क्षतिपूर्ति र न्यायका लागि कतै निवेदन नदिने बताए ।


साथीको नाम मिल्दा यातना
भीमदत्त नगरपालिका–२, उल्टाखामकी १८ वर्षीया हेमन्ती भट्टले पनि प्रहरीबाट चरम यातना पाइन् । स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा आईएड दोस्रो वर्षमा अध्ययनरत उनले साथीको नाम निर्मलासँग मिलेका कारण यातना पाएकी हुन् ।


डडेलधुराको परशुराम नगरपालिकाकी निर्मला धामी हेमन्तीसँगै पढछन् । उनीसँग मोबाइल छैन । हेमन्तीकै मोबाइलबाट निर्मला आफ्ना साथी र आफन्तलाई फोन गर्थिन् । कहिलेकाहीँ हेमन्ती घरमा भएका बेला पनि निर्मलालाई खोज्दै फोन आउँथ्यो । हेमन्ती आफू घरमा भएको र दोस्रो दिन क्याम्पसमा कुरा गराइदिने भन्दै फोन राख्थिन् । यही कुरालाई लिएर प्रहरीले उनीमाथि निगरानी बढाई दिनहँ‘ जिल्ला प्रहरी कार्यालयमा बोलाएर यातना दिएको हो ।


‘तैंलै ककसलाई मिलाएर हत्या गरिस्, भन्, को–को छन् भन्दै धेरै डराए,’ हेमन्ती भन्छिन्, ‘तैंले नै हत्या गरेकी होस्, यो नस्विकारे तेरो जिन्दगी बर्बाद गरिदिन्छौं भन्थे ।’ उनलाई साउन १८ गते घरमा खाना पकाइरहेका बेला १२ बजेतिर प्रहरीले सोधपुछ गर्न‘पर्ने भन्दै लगेको थियो । त्यस दिन ६ घण्टा नियन्त्रणमा राखेर दोस्रो दिन हाजिर हुने गरी छाडियो । दोस्रो दिन १२ बजे जिप्रका जाँदै गर्दा बाटाबाटै प्रहरीले लग्यो । उक्त दिन पनि त्यसरी नै डराउने, धम्क्याउने काम भयो ।


हेमन्तीलाई ६ दिन लगातार प्रहरीले नियन्त्रणमा लियो । एक दिन त क्याम्पसमा पढिरहेकै बेला अपराधीजस्तै व्यवहार गरेर लग्यो । ती दिनको यातना उनले अझै बिर्सन सकेकी छैनन् । ‘तैंले कबुल गरे केही हुँदैन, नत्र तेरो जीवन तहसनहस पारिदिन्छु भन्थे,’ उनले भनिन्, ‘एक दिन त खुट्टा माथि र टाउको तल गरेर कुटपिट गरे ।’ उनका बुबा गोकलेश्वर भट्ट जनप्रतिनिधिसहित प्रहरी कार्यालय गएपछि साउन २७ गते कागज बनाएर छाडियो । एसपी डिल्लीराज विष्टले कतै पनि उजुरी नगर्ने सहमति गरेर छाडेको उनले बताइन् । उनले पनि अब क्षतिपूर्तिका लागि कतै नधाउने बताएकी छन् ।


निर्मलाको शव भेटिएलगत्तै गृहमन्त्री रामबहादुर थापाले संसद्मा दुई जनालाई पक्राउ गरेको जानकारी गराएका थिए । मन्त्री थापाले संसद्मा निर्मला हत्या घटनामा पक्राउ परेकाबारे जानकारी दिएको भोलिपल्ट प्रहरीले दुवैलाई रिहा गरेको थियो । उनीहरू कैलाली, महोन्यालका जीवन घर्तीमगर र भीमदत्त १८, भगतपुरका दीपक नेगी हुन् । उनीहरूलाई पनि प्रहरीले अपराध कबुल गर्न यातना दिएको थियो । घर्तीमगर मानसिक अवस्था ठीक नभएका व्यक्ति हुन् भने नेगी बिरामी छन् ।

प्रकाशित : भाद्र २९, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?