विष्ट सधैं विवादित

प्रदेश ब्युरो

धनगढी — ‘नालायक नेतृत्वले लज्जित बनाएको छ,’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए– ‘दोषी नै मानेर एसपीलाई निलम्बन गरिएको हो, यो घटनाले गम्भीर पाठ सिकाएको छ ।’

विष्ट सधैं विवादित

प्रहरी प्रमुख खनालले भनेझैं निर्मला प्रकरण अनुसन्धानका क्रममा प्रहरीको तत्कालीन जिल्ला नेतृत्वले प्रमाणहरू ढाकछोप गर्न खोजेको पुष्टि हुँदै छ । प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे ।


कञ्चनपुर आउनुअघि नै विवादमा
यसअघि असार मध्यतिर भीमदत्त नगरपालिका ११ भुजेलामा मृत अवस्थामा भेटिएका नैनराम सार्कीको घटनाका अनुसन्धानमा पनि विवाद देखिएको थियो । मृतकका आफन्तले एसपी विष्ट र डीएसपी ज्ञानबहादुर सेटीले आर्थिक चलखेल गरेर टिपरले च्यापिएको देखाएको आरोप लगाएका छन् । सार्कीको शव महाकाली नदी किनारको तटबन्धमा टाउको मात्रै थिचिएको अवस्थामा भेटिएको थियो ।


दार्चुलाबाट बसाइँ सरी कञ्चनपुरका स्थायी बासिन्दा भएका एसपी विष्टको कञ्चनपुर पोस्टिङ तेस्रोपटक हो । उनी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएपछि पुसमा काज सरुवा मिलाएर सुर्खेतबाट कञ्चनपुर आएका हुन् । उनी कञ्चनपुर आउनुअघि नै विवाद भएको थियो ।


स्थानीय तहको चुनावअघि पनि उनले काज मिलाएर आउन खोजेका थिए । तत्कालीन एसपी प्रकाश चन्दले कानुनविपरीत सरुवा गरिएको भन्दै मुद्दा हालेपछि उनको काज सरुवा रोकिएको हो । पुसमा चन्दले अवकाश पाएपछि विष्ट यहाँ आएका हुन् ।


यसअघि प्रहरी निरीक्षक हुँदा उनी महाकाली नगरपालिकाको इलाका प्रहरी कार्यालय दोधारा र बेलौरी नगरपालिकाको इलाका प्रहरी कार्यालय बेलौरीमा इन्चार्ज भएर बसिसकेका छन् ।


इप्रका बेलौरीमा उनको दरबन्दी ०६१ वैशाख ३० देखि ०६२ मंसिर २० सम्म रहे पनि उनी यहाँ बसेनन् । ०६२/०६३ जनआन्दोलनमा उनी महेन्द्रनगरमै थिए । त्यतिबेला भने उनले आन्दोलनकारीलाई सघाएको स्थानीय बताउँछन् ।


तर एसपी भएर पहिलोपटक गृह जिल्लामा आएका उनले यस क्षेत्रका बासिन्दासँग समन्वय र सहकार्य गर्न चासो दिएका थिएनन् ।


जोगबुढामा विवादित
बिष्ट जुन–जुन ठाउँमा प्रहरी प्रमुख भएर बसे, ती सबै ठाउँमा महिलाका विषयमा विवादित मात्र भएनन्, राजनीतिक शक्तिका आडमा उनी कारबाहीबाट जोगिए । ‘पटकपटक विवादित भएर जोगिने उनी भाग्यमानी प्रहरी अधिकृत हुन्,’ एकजना बहालवाला प्रहरी निरीक्षक भन्छन्, ‘प्रहरी निरीक्षकमा भर्ना भएयता उनी विवादित भएका दुई दर्जन बढी घटना प्रहरीभित्र बेलाबेला चर्चामा आउने गरेका छन् । उच्च प्रहरी अधिकारीहरूका माझ नरुचाइने उनी शक्तिकै आडमा प्रहरीमा भर्ना भए । शक्तिकै आडमा प्रहरी उपरीक्षकसम्म पुगे ।’ डडेल्धुराको जोगबुढाका एक स्थानीय समाजसेवी भन्छन्, ‘जोगबुढाको कटालमा भएको उनको गाडी दुर्घटनासमेत एक महिलाका चक्करमा भएको थियो ।’ एसपी विष्ट ०५५–०५६ मा इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख थिए । त्यहाँ एकजना जनजाति युवतीसँगको सम्बन्धका कारण उनी विवादमा तानिए । ०५६ को आम निर्वाचनमा राजनीतिक रूपमा समेत उनी विवादित भए ।


लोकतन्त्र आएलगत्तै बैतडीमा प्रहरी प्रमुख डीएसपी भएर काम गर्दा महिला प्रहरीलाई यौन हिंसा गरेको उनीमाथि आरोपसमेत लाग्यो । राजनीतिक शक्तिको आडमा बैतडीमा महिला प्रहरीसँग भएको हिंसाको घटना सार्वजनिक हुन नसके पनि सदरमुकाम गोठालापानीमा उनको खुबै चर्चा भयो । स्थानीय एकजना सञ्चारकर्मीले भने, ‘रेकर्डमा कुनै घटना नआए पनि बैतडी हुँदा प्रहरीभित्रैबाट उनको चर्को विरोध भएपछि उनी तानिएका थिए ।’ बैतडीको पाटनमा रहेका कार्यालय पुन:स्थापनाको आन्दोलनका कारण उनी सरुवा भएको बताइए पनि भित्री कारण महिला प्रहरीलाई यौन हिंसा भएको ती सञ्चारकर्मीले बताए । प्रहरी निरीक्षकमा भर्ना हुँदा नेपाली कांग्रेसका नेताहरूको आशीर्वाद प्राप्त उनी पछिल्लो समय नेकपा नेताहरूको नजिकमा रहेर काम गरिरहेका थिए । प्रहरीमा भर्ना भएपछि अधिकांश समय सुदूरका जिल्लाहरूमा जिम्मेवारी सम्हालेका विष्टलाई कञ्चनपुर पठाउँदा नेकपाका सुदूरका एक शक्तिशाली नेताको दबाबका कारण हेडक्वार्टर बाध्य भएको प्रहरी स्रोतले बतायो ।


डोटीमा पनि चारित्रिक प्रश्न
०७२ सालमा प्रहरी नायब उपरीक्षकबाट बढुवा हुनेबित्तिकै डोटीमा प्रमुखका रूपमा आएका उनी विवादमा आइरहे । एसपी विष्टले म्यादी प्रहरीमा भर्ना हुन बड्डीकेदारबाट आएकी एक महिलालाई परीक्षामा आउने प्रश्न र उत्तरहरू फोनबाट लिक गरेका थिए । ३८ मिनेटसम्म राति फोन गरी प्रश्न लिक गरेको सञ्चारकर्मीहरूले थाहा पाएपछि उनले महिलालाई ज्यान मार्ने धम्की दिएका थिए ।


०६३ सालमा जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुखका रूपमा कार्यरत रहँदा पनि विष्टविरुद्ध क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा यौन दुव्र्यवहारको मुद्दा परेको थियो ।


महिला प्रहरीमाथि दुव्र्यवहार
निलम्बित एसपी विष्ट दुई वर्ष दार्चुलामा डीएसपीका रूपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । विष्ट ०६४ पुस ३० देखि ०६६ मंसिर २८ गतेसम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए ।


उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भएपछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् । विष्ट जिल्लामा प्रहरी प्रमुख भएका बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो । ‘महिलाको मामिलामा उनमा कमजोरी थियो,’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो, स्थानीय भएकाले पनि हुन सक्छ ।’

प्रकाशित : भाद्र २९, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?