कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रोटोकल मिच्दै राजदूत

घनश्याम खड्का

काठमाडौँ — भारतीय राजदूत मञ्जिवसिंह पुरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद बहालीको भोलिपल्टै सोमबार सैनिक मुख्यालय पुगेर शिष्टाचार भेट गरे । नेपालले भारतमा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको यो भेटघाटबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ ।

प्रोटोकल मिच्दै राजदूत

‘विदेशी राजदूत या पदाधिकारीले सरकारको कुनै निकायका अधिकारी भेटदा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने प्रोटोकल छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर प्रधानसेनापतिलाई राजदूत पुरीले गरेको भेटघाटबारे हामीलाई कुनै जानकारी छैन ।’


विज्ञहरूले प्रोटोकल मिचेर गरिएको भ्रमणलाई नेपालको कूटनीतिको अपमान भन्दै सरकारले यस्तो प्रवृत्ति रोक्न नसकेको टिप्पणी गरेका छन् ।


‘विदेशी राजदूतले सरकारका कुनै पनि अंगका अधिकारी भेटदा परराष्ट्रलाई बाइपास गर्न मिल्दैन,’ पूर्वराजदूत दिनेश भट्टराई भन्छन्, ‘परराष्ट्रमार्फत भेटघाट गरे पनि उनीहरूबीच के कुराकानी भयो भन्ने जानकारी सरकारलाई दिनुपर्छ । यसरी आफूखुसी भेट्न र भेटघाटमा उठाइएका कुरा गोप्य राख्न पाइन्न ।’ प्रोटोकल पालना नहुँदा कूटनीतिक तहमा ठूलो कमजोरी रहने गरेको उनले बताए ।


नेपाली सेनाका प्रमुखलाई राजदूतहरूले आफूखुसी भेट्नु राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यमान्यताका दृष्टिले पनि अनुचित हुने अर्का पूर्वराजदूतको विश्लेषण छ ।


‘सेना देशको सुरक्षासँग जोडिएको संवेदनशील अनि मुख्य निकाय हो जो पूरै सरकारको मातहतमा रहनुपर्छ,’ उनले भने, ‘तर सरकारको समानान्तर निकाय भएजसरी सेनासँग सिधै कूटनीतिक भेटघाट भइरहेको छ । यसबारे सरकार केही नबोल्नु लज्जास्पद विषय हो ।’ उनका अनुसार संयुक्त अभ्यासमा समेत परराष्ट्रलाई थाहै नदिई सिधै सेनालाई निम्ता गएपछि चर्काे आलोचना भएको थियो । त्यसैलाई ध्यानमा राखेर सरकारले भाग नलिने निर्णय गरेको उनको बुझाइ छ ।


‘यस्ता शिष्टाचार भेटघाट पहिले पनि हुन्थे । राजदूत पुरीसँगको भेट पनि त्यस्तै हो,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘तर परराष्ट्रमार्फत जानकारी वा अनुमति लिएर भेटघाट भए/नभएको हामीलाई थाहा हुँदैन ।’ अवकाश प्राप्त रथी बालानन्द शर्माको अनुभवमा पनि विदेशी राजदूतसँग नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिले भेटेको यो पहिलो घटना होइन ।


‘सेनापतिसँग भेट्न राजदूतहरूको होड नै लाग्छ,’ उनले भने, ‘तर यो कुनै आपत्तिजनक विषय होजस्तो मलाई लाग्दैन । किनभने यो शिष्टाचारपूर्वक भएको भेटघाटमात्र हो । यसमा लेनदेनको कुनै क्रियाकलाप नै नहुने भएकाले भेटदा केही फरक पर्दैन ।’ परराष्ट्र मन्त्रालयको प्रोटोकल भने सेनालाई थाहा नहुने शर्माको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?