१२ वर्षमा बिहे, २५ वर्षमै ४ सन्तान

शाहीमान राई

जनकपुर — महोत्तरीको भंगाहा नगरपालिका ३ हात्तीसर्वाकी रीतादेवी सदाको १२ वर्षकै उमेरमा बिहे भयो । आफूभन्दा ५ वर्ष जेठो नारद सदासँग विवाह बन्धनमा बाधिएकी रीताले एक वर्ष नबित्दै पहिलो सन्तान जन्माइन् ।

१२ वर्षमा बिहे, २५ वर्षमै ४ सन्तान

उनी १३ वर्षमा आमा बनिन् । अहिले २५ वर्षकी भइन् र ४ सन्तानलाई लालनपालन गर्दैछिन् ।


आफ्ना छिमेकी अदालतका एक कर्मचारीले नखाएको ऋण तिर्न धम्की र दबाब दिएपछि पत्रकारसित हारगुहार गर्न ६ महिने बालक च्यापेर जनकपुर आएकी रीतादेवीले छोराछोरीको पालनपोषण, लत्ताकपडा र पढाइ खर्च जुटाउनै गाह्रो भएको सुनाइन् ।


एक धुर ओइलानी जग्गामा बनाएको छाप्रोमा बस्ने उनले चार सन्तानसहित जीवनयापन गर्न कठिन भएको बताइन् । निरक्षर सदा परिवारलाई पालनपोषण गर्न रीताका पति ३० वर्षीय नारद रोजगारीका लागि विदेशमा श्रम गर्दैछन् । सानैमा आमा गुमाएकी उनलाई पढ्ने वातावरण मिलेन । बरु बिहेको बाटो रोजियो । उनको पहिलो छोरी खुश्वु ८ वर्षकी, दोस्रो मौसम ६ वर्ष, कान्छी कनिका २ वर्षकी र छोरा ६ महिनाको अनिकेश छन् ।


शिक्षित बन्न र रोजगारी पाउन छोराछोरीलाई पढ्नैपर्ने भएकाले छोरीहरूलाई स्कुल पठाउन थालेको उनले बताइन् । पढ्नुपर्छ भन्ने चेतना भए पनि आर्थिक अभावले पढाउन सक्दैनौं,’ उनले भनिन्, ‘शुल्क तिर्न नपरे पनि कापीकलम, खाजानास्ताका लागि रकम जुटाउन मुस्किल छ ।’


धनुषाको कमला नगरपालिका ७ हठमुण्डाकी २५ वर्षीया रामप्यारी सदाले ५ सन्तान जन्माइसकेकी छन् । उनको पनि १२ वर्षमै बिहे भएको थियो । बर्सेनि जन्मिएका र उस्ताउस्तै देखिने उनको ९ वर्षीय जेठो र ८ वर्षीय माइलो छोरा नजिकैको कमला नदी किनाराको ससाना खोला, दह, पोखरीमा माछा मार्न जान्छन् । अरू साथैमा ३ सन्तानसहित भेटिएकी रामप्यारीले छोराछोरीलाई स्कुल पठाउन नसकेको बताइन् ।


उनका पति किसनले बनिबुतो गरेर मुस्किलले दालभात जुटाइरहेको बताइन् । महोत्तरी भंगाहाकी रीतादेवी र धनुषा हठमुण्डाकी रामप्यारी गरिब तथा दलित मुसहर समुदायको पात्रमात्र हुन् । गरिबी, अशिक्षाको चपेटामा परेका उनीहरू वर्षौंदेखि घरवारविहीन छन् । उनीहरूको नाममा एक टुक्रा पनि जमिन छैन । उनीहरू जस्तै तराईमा बसोबास गर्ने अधिकांश गरिब, दलित मुसहर, डोम, चमार र मेस्तर समुदाय चरम गरिबी र अशिक्षाले कष्टपूर्ण जीवन बिताइरहेका छन् ।


चेतना अभावले उनीहरू गर्भवती जाँच गर्न स्वास्थ्य संस्थासम्म जाँदैनन् । ‘बिरामी पर्दा या सुत्केरी गराउन उनीहरू अस्पताल जाँदैनन्,’ जनकपुरकी सामाजिक अभियन्ता जमुना भुजेल भन्छिन्, ‘बच्चा जन्माइसकेपछि खोपसम्म लगाउँदैनन् ।’


उनीहरू जस्तै दलित परिवारमा ७, ९, ११ जनासम्म सन्तान जन्माउने धेरै महिला छन् । कमजोर आर्थिक अवस्थाका कारण औषधि, गाडी भाडा, अस्पतालमा शुल्क र खाने, बस्ने खर्च व्यवस्था गर्न नसक्ने भएकाले सुत्केरी हुन अस्पताल नगएको रीतादेवीले सुनाइन् ।


उनले स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले ५ सय रुपैयाँ यातायात खर्च दिने गरेकोसमेत थाहा नपाएको बताइन् । कम उमेरमा बच्चा जन्माउँदा आइपर्ने स्वास्थ्य तथा शारीरिक समस्या, प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान नहुँदा घरमै सुत्केरी हुन बाध्य छन् ।


तराईमा अशिक्षित र हेपिएका दलित डोम, मुसहर र चमार समुदायका धेरै महिला प्रजनन स्वास्थ्य, जन्मान्तर, परिवार नियोजन, अस्थायी साधन प्रयोग, गर्भावस्था परीक्षण, आइरन चक्की, खोप, सुरक्षित मातृत्वलगायत आधारभूत स्वास्थ्यबारे चेतना नभएको बताउँछन् ।

प्रकाशित : भाद्र २९, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?