कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

वृद्धाश्रमका आमाहरूको तीज: माइती न घर, दिनहुँ खाए दर

जितेन्द्र साह

विराटनगर — ‘तीजमा निकै रमाइलो भयो,’ ७४ वर्षीया चन्द्रमाया कार्कीले भनिन्, ‘दिनदिनै दर खुवाउनेको लर्कोले बिहानदेखि साँझसम्म एकक्षण फुर्सद भएन ।’ उनी चार वर्षदेखि विराटनगर महानगरको अशोकचोक बलुवाहीस्थित विराटेश्वर वृद्धाश्रममा छिन् ।

वृद्धाश्रमका आमाहरूको तीज: माइती न घर, दिनहुँ खाए दर

उनीसहित आश्रमका आमाहरू बुधबार बिहान यसपालिको तीजको अनुभव सुनाउँदै थिए । ‘दाताले चतुर्थीदेखि मिठोमिठो खुवाउन थाले, बल्लतल्ल मंगलबार बिहानदेखि पेटले आराम पाएको छ,’ कार्कीले मुस्कुराउँदै भनिन् ।


स्वदेश एवं विदेशका नेपालीको सहयोगले सञ्चालित यो आश्रममा चतुर्थीका दिन ९ भदौदेखि २५ भदौ, प्रतिपदासम्म विभिन्न संघसंस्था र व्यक्तिले दर खुवाउने कार्यक्रम राखेका थिए । पनिर, परवल, मटर र आलुको तरकारी, अचार, ढकने खिर, दही, सर्बत, लालमोहन, रसवरी र फलफूल धीत मरुन्जेल खाएको आमाहरूले सुनाए ।


उपहारमा उनीहरूले थाल र कचौरा पनि पाएका छन् । कुनै बेला मोरङकै केराबारीमा माइती र विराटनगर २० दरैयामा घर भएकी उनलाई अहिले सहारा दिने कोही नभएपछि आश्रम आएकी हुन् । ४० वर्षअघि बिहे भएकी उनी नि:सन्तान छिन् ।


एउटा बैंकमा कार्यालय सहायक पदमा कार्यरत श्रीमान् शिवबहादुर कार्कीको छ वर्षअघि निधन भयो । त्ससपछि उनी एक्लिइन् । उनले दुई वर्ष निकै कष्टसाथ काटेको अनुभव सुनाइन् । ‘एक गिलास पानी दिने पनि कोही भएन,’ कार्कीले भनिन्, ‘एक दयालु बहिनीले यो आश्रममा पुर्‍याइदिइन् ।’


उनी यहाँ भने निकै खुसी छिन् । हरितालिका तीजका दिन बिहानको चियापछि आराम गरिरहेका अन्य आमा पनि निकै प्रफुल्ल देखिए । ‘तीजमा माइतभन्दा यहीं बढी रमाइलो भयो,’ ७० वर्षीया गायत्री श्रेष्ठले भनिन् । महानगरमै माइती र घर भएकी उनी घरायसी किचलोपछि आश्रमको शरण लिएकी हुन् । श्रेष्ठले भनिन्, ‘तीजको दुई साताअघि नै दर खुवाउने आए ।’


कतिपय आमाले तीजकै मौका पारेर कपाल पनि कालो पारेका रहेछन् । बुझ्दै जाँदा आश्रममा तीज मनाउन आएका सौन्दर्य व्यवसायी दिदीबहिनीले इच्छुक आमाहरूको कपाल रंगाइदिएका हुन् । ‘मुखमा पनि के के पोतेर चहकिलो बनाइदिने भन्दै थिए, लाज लागेर हुन्न भनिदिएँ,’ ६५ वर्षीया लक्ष्मी नेपालले भनिन्, ‘म त कहिलेकाहीँ कपालमात्र कालो पार्छु ।’


आश्रमका ५२ जनामा २८ वृद्धा छन् । यीमध्ये ११ वृद्धाको माइत र घर छैन । १३ जना एकल, नि:सन्तान र अविवाहित छन् । ४ जनाको घर र माइत पनि छ । यहाँ मारवाडी समुदायका दुई पुरुष र एक महिलाले पनि शरण लिएका छन् । शाकाहारी मेनुमात्र लागू गरेको आश्रमले बाआमालाई दिनहुँ चियाखाजा, दाल, भात, तरकारी, अचार, पनिर र दूध दही खुवाउँछ । ‘तर, बाहिरकाले यहाँ आएर खुवाउँदा माइतबाट आफन्त आएजस्तै लाग्छ,’ नेपालले भनिन्, ‘एकै दिन चार टोलीले दर खुवाए, नाचगानको कार्यक्रम गरे ।’ दिनदिनै खाँदै र नाच्दै गरेकाले थकाइ मेट्नै अब दुई दिन लाग्ने उनले बताइन् । भोजपुरकी नेपाल ७ वर्षदेखि यही आश्रमको शरणमा छिन् ।


बोल्न नसके पनि ८० वर्षीया भीमकुमारी राईले हातको इसाराले तीजमा आनन्द लागेको बताइन् । उनी ११ वर्षदेखि उक्त आश्रममा बस्दै आएकी छन् । सानैमा पहाडबाट काम गर्न मधेस झरेकी उनले शरीर चलुन्जेल घरेलु श्रमिकका रूपमा काम गरिन् । अशक्त भएपछि यहाँ आइपुगिन् ।


अशक्त भएर आठ महिनाअघि आएकी अर्की एकल महिला ५५ वर्षीया मीनु सापकोटाले हरितालिका तीजमा माइतभन्दा यहाँ मजा लागेको बताइन् । ७ वर्षदेखि माइत र घर नभएकी उनले पनि तीजको उपहारमा खण्डे ताल, कचौरा र गिलास पाएकी छन् ।


विभिन्न संघसंस्था, समाजसेवी, दाता र दयालु व्यक्तिले ९ भदौको बिहानदेखि यहाँ दर कार्यक्रम गर्न थालेको आश्रमका संस्थापक अध्यक्ष जगतप्रसाद अज्र्यालले जानकारी दिए । ‘दैनिकजसो यहाँ तीजमा भोजन र संगीतको कार्यक्रम भयो,’ उनले भने, ‘आमाहरूले माइत र घरभन्दा बढी माया पाए ।’


तीज, दसैं, तिहार, बाबुआमाको मुख हेर्ने दिन, माघेसंक्रान्ति र अन्य महत्त्वपूर्ण चाडबाडमा समेत बाआमालाई खुवाउने यहाँ आइपुग्छन् । बाबुको मुख हेर्ने दिनमा यहाँ झन्डै १५ वटा संस्थाले बिहान ५ देखि साँझ ६ बजेसम्म भोजन गराएको अज्र्यालले बताए ।


यस्ता अवसरमा उपहार दिनेको पनि कमी हुँदैन । ‘बाआमाको आवश्यकताअनुरूप पहिला नै सोधेर कपडा र खाना ल्याइदिन्छन्,’ अज्र्यालले भने, ‘नाप लिएर गई सिलाएर ल्याइदिन्छन्, कसैकसैले तयारी ल्याएर दिन्छन् ।’ योबाहेक चिकित्सक, सौन्दर्य व्यवसायी र योगगुरुहरूले पनि विभिन्न अवसरमा वर्षभरि कार्यक्रम गरिरहेको उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?