सम्बन्धविच्छेदविरुद्ध श्रीमतीद्वारा मुद्दा

आफूलाई थाहै नदिई श्रीमान्ले सम्बन्धविच्छेद गरेको आरोप
प्रतीक्षा काफ्ले

स्याङ्जा — श्रीमान्–श्रीमतीबीच सहमतिमा गरिएको सम्बन्धविच्छेदलाई समाजले पनि सामान्य रूपमा लिन्छ । यहाँकी एक महिलाले भने श्रीमान्ले सम्बन्धविच्छेदको जानकारी आफूलाई नदिएको भन्दै मुद्दा हालेकी छन् ।

सम्बन्धविच्छेदविरुद्ध श्रीमतीद्वारा मुद्दा

झुटा विवरण बनाई श्रीमान्ले एक्लै सम्बन्धविच्छेद गरेको भीरकोट नगरपालिका ३ की ५० वर्षीया मीनाकुमारी क्षेत्रीले बताएकी छन् । सम्बन्धविच्छेद गर्न श्रीमान्/श्रीमती दुवैको सहमति हुनुपर्नेमा आफूलाई थाहै नदिई जालसाजी गरेर श्रीमान् मोहनकुमार क्षेत्रीले सम्बन्धविच्छेद गराएको भन्दै उनले जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।


फैसला हक कायम गरिपाउँm, जालसाजी र लिखित गाली बेइज्जती गरी उनले अदालतमा गत सोमबार तीनवटा मुद्दा दर्ता गराएकी हुन् । ‘०४६ माघ १६ गते हाम्रो मागीविवाह भएको हो,’ उनले भनिन्, ‘मलाई थाहै नदिई श्रीमान्ले गलत नियतले सम्बन्धविच्छेद गरेकाले मुद्दा हाल्न बाध्य भएँ ।’ श्रीमान्ले खान, लाउन नदिने र कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुई छोरीलाई पढाउँदै आएको उनले बताइन् । ०५७ माघ २९ मा जेठी छोरीको विवाहपछि मीना र कान्छी छोरी बस्दै आएका थिए ।


गत असार ११ मा जिल्ला अदालतमा कान्छी छोरी कृष्टिका नामबाट बाबुविरुद्ध माना चामल र अंशको मागसहित मुद्दा दर्ता गर्न आउँदामात्रै आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद भइसकेको थाहा पाएको उनले बताइन् । ‘मलाई थाहै नदिई कसरी हुन्छ सम्बन्धविच्छेद ?,’ उनले भनिन्, ‘अदालतमा आएपछि मात्रै थाहा पाएँ, अनि वकिलसँग सल्लाह गरेर मुद्दा हालेँ ।’ मीनाले आफू र कान्छी छोरीले नाता कायम गरी अंश पाउनुपर्ने बताइन् ।


मीनाको बिरुवाअर्चले–६ का राजेन्द्र अधिकारीसँग ०५५ फागुन १३ मा अर्को विवाह गरेको प्रमाण खुल्ने कागजातसहित मोहनले पेस गरेपछि अदालतले सम्बन्धविच्छेदको फैसला गरेको जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले बताए । १८ वर्षपछि मोहनले ०७३ साल भदौ १६ मा स्वत: सम्बन्धविच्छेदको फिरादपत्र दायर गरेको अभिलेख अदालतमा छ ।


मीनाले अर्को विवाह गरेर गएको फिरादपत्रमा देखिएपछि अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा ठेगानामा उनलाई नभेटिएपछि सूचना पीपलको रूखमा टाँगिएको बताउँदै न्यायाधीश अधिकारीले अदालतबाट दोस्रोपटक ०७३ पुुस १५ मा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिक पत्रिकामा म्याद जारीको सूचना गरेको बताए । ‘जिल्ला प्रशासनबाट ल्याएको पत्र पनि छ,’ उनले भने, ‘हामीले प्रशासनका पत्रलाई अविश्वास गर्ने कुरा भएन ।’ साक्षी बुझिएको, प्रतिउत्तर नआएको र आवश्यक कागजात पुगेकाले अदालतले नियमानुसार फैसला गरेको उनले बताए ।


प्रक्रिया पुर्‍याएर ०७४ वैशाख ६ मा अदालतले सम्बन्धविच्छेदको फैसला गरेको जनाए पनि ती सबै नक्कली भएको भन्दै मीनाले नक्कली कागजात बनाउन सहयोग गर्ने सबैलाई कारबाही गर्नुपर्ने माग गरिन् । ‘मेरो दोस्रो बिहे भएकै छैन,’ उनले भनिन्, ‘बरु मोहनले नै कान्छी ल्याएका छन् । उनले सन्तान पनि जन्माएकी छन् ।’

प्रकाशित : भाद्र २९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?